काठमाडौं: नेपाल क्रिकेट संघ (क्यानको) आज चितवनमा बसेको बोर्ड बैठकले राष्ट्रिय टिमका १९ जना महिला र १८ जना पुरुष खेलाडीको सेन्ट्रल कन्ट्राक्ट गर्नेलगायतका ९ वटा निर्णय गरेको छ।
सेन्ट्रल कन्ट्राक्टमा रहने पुरुष खेलाडीको ए ग्रेडको ५० हजार, बी ग्रेडको ४० हजार, सी ग्रेडको तीस हजार प्राप्त गर्नेछन् भने ए, बी र सी ग्रेडमा रहने खेलाडीहरुले क्रमश १५, १२ र १० हजार प्राप्त गर्नेछन्।
बैठकले असोज २८ गते साधारणसभा गर्ने पनि निर्णय गरेको छ। त्यस्तै आर्थिक वर्ष २०७१/७२ देखि ७५/७६ सम्मको अडिट रिपोर्ट पनि बैठकले पास गरेको छ।
अघिल्लो हप्ता दुर्घटनामा परेका क्रिकेटर ललितसिंह भण्डारीको उपचारका लागि समन्वय गरेर सहयोग गर्ने र राष्ट्रिय क्रिकेटर र क्यानका कर्मचारीको दुर्घटना बीमा गर्नका लागि संघका कोषाध्यक्ष रोशनकुमार सिंहको संयोजकत्वमा समिति पनि बनाएको छ। दुर्गाराज पाठक र छुम्बीलामा सदस्य रहेको उक्त समितिले एक हप्ताभित्र प्रतिवेदन बुझाउने छ।
त्यस्तै खेलकुद परिषदसँगको समन्वयमा महिला र पुरुष राष्ट्रिय प्रतियोगितासमेत आयोजना गराउने निर्णय बोर्ड बैठकले गरेको छ। त्यस्तै डिसेम्बर महिनामा आईसीसीसँगको समन्वयमा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय सिरिज सञ्चालन गर्न आवश्यक तयारी अघि बढाउने समेत क्यानको निर्णय छ। त्यस्तै क्रिकेटरहरुको अभ्यासका लागि तयारी अघि बढाउने समेत निर्णय बैठकले गरेको छ।
बैठकले कर्णाली प्रदेशको संयोजकको जिम्मेवारी पदम खड्कालाई दिएको छ।
