PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

किट नहुँदा वीरगंजस्थित नारायणी अस्पतालमा रोकियो पीसीआर परीक्षण



राधेश्याम पटेल

किट नहुँदा वीरगंजस्थित नारायणी अस्पतालमा रोकियो पीसीआर परीक्षण

वीरगंज : वीरगंज महानगरपालिकाले पठाएको किट काम नलाग्ने भएपछि वीरगंजमा पीसीआर परीक्षण रोकिएको छ। नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा भएका अन्य रिएजेन्ट किट सकिएकोले पीसीआर परीक्षण रोकिएको अस्पताल श्रोतले जनाएको छ।

‘वीरगंज महानगरपालिकाले पठाएको किट काम नलाग्ने भएको छ। त्यसैले गर्दा पीसीआर परीक्षण कार्य नै अवरुद्ध हुन पुगेको छ,’ नारायणी अस्पतालका प्रवक्ता वरिष्ठ चर्मरोग विषेशज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले भने।

इमर्जेन्सीमा प्रयोग गर्न बाहेक रिएजेन्ट किट नभएको र लिनका लागि काठमाडौं पठाइएको डा चौरसियाले जानकारी दिए। पीसीआर परीक्षण नहुने भएपछि नारायणी अस्पतालले पर्सा, बारा, रौतहटका स्वास्थ्य कार्यालय, वीरगंज महानगरपालिकालाई स्वाब नमुना संकलन नगर्नु पत्राचार गरेकोे छ।

प्रयोगशाला प्रमुख कन्सल्टेन्ट प्याथोलोजिस्ट डाक्टर निरा पाठकले विभिन्न प्राविधिक कारणले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि स्वाब संकलन बन्द गरिएको जानकारी सहित पत्राचार गरेकी हुन्। विगतमा मन्त्रालयले नै रिएजेन्ट किट लगायत आवश्यक केमिकल खरिद गरेर पठाउने गरेको थियो। पछिल्ला दिनमा ल्याबमा आवश्यक केमिकलको बन्दोबस्ती स्वयं अस्पताललाई गर्न भनिएको छ।

तर, अस्पतालले आवश्यक मात्रामा रिएजेन्ट किट लगायतका सामग्री बन्दोबस्त गर्न नसकेको श्रोतले जनाएको छ। अस्पतालमा स्वाब नमुना परीक्षणका लागि चाप बढेकोले किटहरु खरिद गरेर धान्न नसक्ने अवस्थामा पुगेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सञ्जय ठाकुरले बताए। महानगरपालिकाले पठाएको २ सय थान किट काम नलागी त्यसै थन्किएको ठाकुरले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell