इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको खेलमा राजस्थान रोयल्सले चेन्नइ सुपर किंग्समाथि सहज जित निकालेको छ। शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा राजस्थानले चेन्नइमाथि १६ रनको जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१६ रन बनाएको थियो। जुन आईपीएलको जारी सिजन यो सबैभन्दा ठूलो स्कोर हो।
राजस्थानका लागि सञ्जु सामसनले सर्वाधिक ७४ रन बनाउँदा कप्तान स्टिभ स्मीथले ६९ रन बनाए। त्यस्तै जोफ्रा आर्चरले आक्रमक ब्याटिङ गर्दै ८ बलमा २७ रन जोडे। उता चेन्नइका लागि साम करनले सर्वाधिक ३ विकेट लिँदा दीपक चहार, लुन्गी न्गिदी र पियुस चावलाले समान १/१ विकेट लिए।
२१७ रनको ठूलो लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०० रन बनायो।
चेन्नइका लागि फाफ डु प्लेसिसले सर्वाधिक ७२ रन बनाउँदा शेन वाट्सनले ३३ रन, केदार जादबले २२ रन तथा मुरली विजयले २१ रन बनाए। त्यस्तै कप्तान महेन्द्रसिहं धोनीले अभिजित रहँदै १७ बलमा २९ रन जोडे।
चेन्नइलाई लक्ष्यसम्म पुग्न नदिन राजस्थानका लागि राहुल तेवइताले सर्वाधिक ३ विकेट तथा जोफ्रा आर्चर, श्रेयस गोपाल र टम करनले १/१ विकेट लिए। पहिलो खेलमा मुम्बइलाई हराएको चेन्नइले दोस्रो खेलमा पराजय भोगेको हो भने राजस्थानले पहिलो खेलमै जित निकाल्दै सुखद सुरुवात गरेको हो।
