PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

इलाममा भौतिक दुरी कायम राख्दै स्कुल सञ्चालन: कतै जोरविजोर कक्षा, कतै वैकल्पिक

इलाममा भौतिक दुरी कायम राख्दै स्कुल सञ्चालन: कतै जोरविजोर कक्षा, कतै वैकल्पिक

मुकुन्द घिमिरे/पहिलोपोस्ट


काठमाडौं: इलाममा विद्यालयहरु सञ्चालनमा आउन थालेका छन्। जिल्लाको इलाम नगरपालिकाले कोरोना महामारीका कारण लामो समय बन्द रहेका स्कुलहरुलाई स्वस्थ्य सुरक्षा ध्यानमा राख्दै सञ्चालनमा ल्याउने निर्णय गरेको हो। सोही अनुसार विद्यालयहरु सञ्चालनमा आउन थालेका हुन्।

'अस्ति ४ गतेबाट स्कुल सञ्चालनमा ल्याउने व्यवस्था गरेका हौं। सबै स्कुलहरुलाई हामीले कार्ययोजना/विकल्प दिएर त्यो अनुसार गर्नुहोस् भनेर मापदण्ड बनाएर सञ्चालनका लागि भनेका हौं,' इलाम नगरपालिकाका मेयर महेश बस्नेतले भने।

इलाम नगरपालिकाले पत्र पठाएर विधान बनाएर पेश गर्नू भने बमोजिम मापदण्ड बनाएर विद्यालयहरु सञ्चालनमा आएका हुन्।

'हामीले हाम्रो क्षेत्रमा गर्नसक्ने जति विधि अपनाएका छौं। हाम्रोमा त विद्यार्थी पनि थोरै छन्। एउटा कक्षामा ८/१० जना छन्। लामो बेन्च छ, पाँच फुटे/छ फुटे। एउटा बेन्चमा मार्किङ गरेर दुई जना बच्चा राखेर पढाउन लागेका हौं,' बरबोटे इङग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक युवराज रिजालले भने, 'थर्मल गनले तापक्रम हेरेर मात्र विद्यार्थी भित्र राख्छौं। साबुन पानी र ठाउँठाउँमा धारा राखेको छ। साबुन पानी राखेको छ।'

त्यस्तै विद्यार्थीहरुलाई सिफ्ट गराएर पढाउने उनले बताए। 'सिफ्टमा जोरबिजोर लगाएका छौं। आइतवार, मंगलवार र बिहीवार बिजोर कक्षाहरु (१,३,५,७,९) र अरु दिन जोर कक्षाहरु सञ्चालन गरेका छौं,' रिजालले भने।

त्यस्तै इलाम नगरपालिका क्षेत्रका अधिकांश सामुदायिक विद्यालयहरु सञ्चालनमा आएको तर कतिपय निजी विद्यालयहरुले भने अझै भौतिक कक्षा सुरु नगरेको तर गर्ने तयारीमा रहेको बताइएको छ। ती विद्यालयहरुले पनि अन्य वैकल्पिक विधिबाट भने कक्षा सञ्चालन गरिरहेका बताइएको छ।

कसरी सुरु हुन थाले विद्यालय?

मन्त्रिपरिषद्को भदौ १९ गतेको बैठकले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका पारित गरेको थियो। उक्त कार्यविधिमा वैकल्पिक शिक्षालाई पनि मूलधारमा ल्याउने निर्णय गर्दै विद्यार्थीको पाँच भागमा वर्गीकरण गरेर सिकाइ अघि बढाउने उल्लेख छ।

निर्देशिका अनुसार इन्टरनेट तथा सूचना सञ्चारको पहुँचमा भएका विद्यार्थी, कम्प्युटर भएका तर इन्टरनेट नभएका विद्यार्थी, टेलिभिजनको पहुँचमा भएका विद्यार्थी, रेडियो एफएमको पहुँचमा भएका विद्यार्थी र सबै खालको प्रविधिमा पहुँच नभएका विद्यार्थी गरी वर्गीकरण गर्ने र सोही अनुसार सिकाइ सामाग्री उपलब्ध गराउने सरकारको योजना देखिन्छ।

तर सोही कार्यविधिको बुँदा ३३(२) मा कुनै क्षेत्र विशेषमा विद्यालय सञ्चालन गर्न सम्भव भए सञ्चालन गर्न सकिने उल्लेख छ। र, सोही बुँदालाई टेकेर केही स्थानीय तह विद्यालय सञ्चालन गर्न अग्रसर भएका थिए।

‘यस निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै क्षेत्र विशेषमा नियमित विद्यालय सञ्चालन हुनसक्ने अवस्था भएमा प्रत्यक्ष शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न बाधा पर्ने छैन,’ निर्देशिकाको ३३ बुँदामा भनिएको छ।

निर्देशिका आएसँगै विभिन्न स्थानीय तहहरुले मापदण्ड बनाउँदै विद्यालय सञ्चालन गर्न थालेका छन्। त्यसमा पनि विभिन्न पहाडी तथा हिमाली क्षेत्रका जिल्लाहरुमा विद्यालय सञ्चालन भइसकेको छ भने कतिपय सञ्चालनको तयारीमा छन्।



ट्रेन्डिङ पोस्ट

Ncell