PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

वीरमा कैदीको मृत्युबारे कारागारले सार्वजनिक गर्‍यो सिसिटिभी भिडियो फुटेज्, भएको के थियो?



सविन ढकाल

वीरमा कैदीको मृत्युबारे कारागारले सार्वजनिक गर्‍यो सिसिटिभी भिडियो फुटेज्, भएको के थियो?

काठमाडौं : वीर अस्पतालमा उपचारका लागि लगेका ६३ वर्षीय कैदीको मृत्युबारे पत्रकार सम्मेलन गर्दै केन्द्रीय कारागारले सिसीटिभी फूटेज सार्वजनिक गरेको छ।

केन्द्रीय कारागार र वीर अस्पतालले गृह मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गर्दै रामलखन जयसवालको मृत्यु शंकास्पद नभएको स्पष्ट पारेको छ।

जयवालको मृत्यु शंकास्पद रूपमा भएको उनको परिवारले दाबी गरेका थिए।

कारागारमै रहँदा गम्भीर बिरामी परेपछि उनलाई भद्र गृहभित्रैको अस्पतालमा उपचारका लागि भर्ना गरिएको डा श्रीराम तिवारीले बताए।

'उहाँ बिरामी पर्नुभएपछि भद्र गृहभित्र रहेको अस्पतालमा उपचारका लागि भर्ना हुनुभयो। ७ मिनेटजति हेर्‍यौं। हामीले ब्लडप्रेसर अन्य अवस्था चेक गर्‍यौ। उपचार सम्भव देखिएन। त्यसैले वीरमा रेफर गर्‍यौ,' कारागारका डाक्टर तिवारीले भने।

९: ४५ बजे कारागारबाट अस्पताल लैजाँदा उनी हात हल्लाउँदै गएको भिडियोमा देख्न सकिन्छ। कारागारबाट ह्विलचेयरमा राखेर निस्केका उनको बाटोमा रोगले च्यापेर मृत्यु भएको हुन सक्ने तिवारीले बताए।

'उहाँ दीर्घा रोगी हुनुहुन्थ्यो। यस्तो बिरामीको मृत्यु जुनसुकै बेला हुनसक्छ,' डा तिवारीले भने।

अस्पताल आइपुग्दा १०:५५ मा मृत्यु भइसकेको वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले बताए। उनले भने, 'वीरमा आइपुग्दा पनि शरीरमा कुनै चोट थिएन। शंकास्पद थिएन।'

मृत्युपछि उनको कोभिड-१९ परीक्षण पोजेटिभ देखिएको थियो।

शरीरबाट आँखा झिकेकोको भनाईमा सत्यता नरहेको अस्पतालले दाबी गरेको छ।

'यो सबै गलत कुरा हो। अस्पतालले यस्तो गरेको छैन। हामीले आँखा किन झिक्नु,' प्रश्न गर्दै सेञ्चुरीले भने।

वीर अस्पतालका निर्देशक डा. सेञ्चुरीले मृत्युमा शंका गर्नुपर्ने कारण नभएको बताए। सेञ्चुरीले मृत्युपछि आवश्यक तापक्रम भएको कोठामा नराख्दा शरीर सडेको बताएका छन्।

'हामीले एकपटक फेरि पनि गएर हेर्‍यौँ। शरीरमा कुनै चोट छैन। मृत्यु भएको तीन दिनसम्म एउटा कोठामा रहेकाले आँखा बाहिर निस्किने, जिब्रो निस्किने, शरीर फुल्ने तथा शरीरमा विभिन्न निलो कालो दाग जस्तो देखिने हुन्छ। त्यही मात्र भएको हो,' निर्देशक सेन्चुरीले भने।

जयसवाल धेरै अघिबाटै बिरामी रहेको र उनको उपचारमा पाँच लाखभन्दा बढी खर्च भइसकेको जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताए। 'विभिन्न आठ अस्पतालमा उपचार गरिसकेका थिए। उनको उपचारमा पाँच लाखभन्दा बढी खर्च भइसकेको छ,' बाँस्कोटाले भने।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका घर भएका उनी ज्यान मार्ने मुद्दामा ८ वर्षदेखि केन्द्रीय कारागार सुन्धारामा कैद भुक्तान गर्दै थिए। असोज ३ गते राति ९ बजेर ४५ मिनेटमा स्वास्थ्यमा समस्या देखिएपछि जयसवाललाई अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउने बित्तिकै मृत्युको भएको घोषणा गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell