PahiloPost

Nov 27, 2024 | १२ मंसिर २०८१

मोरङका ४२ सहित प्रदेश १ मा थप ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि



फूलमाया पुरी

मोरङका ४२ सहित प्रदेश १ मा थप ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

विराटनगर : प्रदेश १ मा बुधवार थप ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमध्ये मोरङमा ४२, सुनसरीमा ३७, झापामा ४, पाँचथरमा २, ताप्लेजुङ र तेह्रथुममा १/१ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ११ महिला १३ पुरुष थपिएका छन्। त्यस्तै, पथरीशनिश्चरेमा ३ महिला र ३ पुरुष, जहदामा ३ महिला र ३ पुरुष, सुन्दरहरैचामा १ महिला र २ पुरुष, ग्रामथान, कटहरी र मिक्लाजुङमा १/१ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ।

त्यसैगरी, सुनसरीको इटहरीमा २४ महिला र ७ पुरुष, दुहवीमा २ महिला र २ पुरुष, स्थानीय तह नखुलेका २ पुरुषमा पनि बुधवार नै संक्रमण पुष्टि भएको छ।

झापाको गौरादहका १ पुरुष, स्थानीय तह नखुलेका ३ पुरुष, पाँचथरको फालेलुङमा २ पुरुष, ताप्लेजुङमा १ पुरुष, तेह्रथुमको छथरमा १ पुरुष र प्रदेश १ बाहिरका २ महिला र २ पुरुषको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ९ सय ५० पुगेको छ।

प्रदेश १ मा बुधवार २७ जना डिस्चार्ज भएका छन्। बुधवार मारवाडी सेवा सदन आइसोलेसन विराटनगरबाट १३, मेची अस्पताल, झापाबाट ७, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट ५, काली सदन आइसोलेसन विराटनगर र कोभिड १९ आइसोलेसन अस्पताल, गोठगाउँबाट १/१ जना डिस्चार्ज भएका छन्। प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय १९ पुगेको छ।

प्रदेश १ मा बुधवार ८ सय ८ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये ४६ महिला र ४५ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ। हालसम्म १ लाख १८ हजार ६ सय ९६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell