इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गतको अबुधाबीस्थित शेख जायेद स्टेडियममा भएको आजको खेलमा मुम्बई इण्डियन्सले कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ। मुम्बईले कोलकातालाई ४९ रनले हराएको हो।
१९६ रनको विजय लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४६ रन मात्रै बनाउन सक्यो। कोलकाताविरुद्ध मुम्बईका बलरहरु हाबी हुँदा कोलकाताले लक्ष्य भेट्टाउन सकेन।
मुम्बईका ट्रेन्ट बोल्टले पहिलो ओभर नै मेडेन फाल्दै कोलकातासामु दबाब सिर्जना गरे। तेस्रो ओभर गर्न आएका बोल्टले शुबमन गिलको महत्वपूर्ण विकेट लिए। ११ बल खेलेका गिल ७ रन बनाउँदै पेबिलियन फर्किए।
त्यस्तै, जेम्स प्याटिनसनले पाँचौ ओभरमा सुनिल नराइनलाई आउट गरे। १० बलमा ९ रन बनाएको अवस्थामा उनी क्याच आउट हुन पुगे। २३ बलमा ३० रन बनाएका दिनेश कार्तिक राहुल चहरको बलमा एलबीडब्लुको शिकार हुन पुगे भने १८ बलमा २४ रन जोडेका नितिश राना १२ औँ ओभरमा किरोन पोलार्डको बलमा क्याच आउट भए।
त्यसपछि आएका इयोन मोर्गनले १६, आन्द्रे रसेलले ११ र प्याट कमिन्सले ३३ रन जोडे।
मुम्बईका लागि बोल्ट, प्याटिन्सन, जसप्रित बुमराह र राहुल चहरले २/२ तथा पोलार्डले १ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९५ रन बनाएको थियो।
मुम्बईको लागि रोहित शर्माले महत्वपूर्ण ८० रनको पारी खेले। उनले ५४ बल खेल्दै ६ छक्का र ३ चौका प्रहार गरे।
दोस्रो ओभरमै सिभम माभीले क्विन्टन डिककलाई एक रनमा आउट गर्दै मुम्बईलाई दबाबमा राखेका थिए। तर, रोहित शर्मा र सूर्यकुमार यादवको पार्टनसिपले मुम्बईको रन उकास्यो। रोहित र सूर्यकुमारले ५८ बलमा ९० रनको साझेदारी गरे। २८ बलमा ६ चौका र १ छक्काको मद्दतले ४७ रन बनाएका सूर्यकुमार ११ औँ ओभरको चौथो बलमा रन आउन हुन पुगे।
त्यसपछि आएका सौरभ तिवारी १३ बलमा २१ रन बनाउँदै १६औँ ओभरमा आउट भए। सुनिल नराइनको बलमा उनी क्याच आउट हुन पुगे। रोहित ८० रन बनाउँदा १८ औँ ओभरमा सुभम माभीको बलमा क्याच आउट भए।
त्यस्तै हार्दिक पान्ड्या १३ बलमा १८ रन बनाएको अवस्थामा आफ्नै ब्याटले स्टेममा लाग्दा आउट भए। आन्द्रे रसेलको ओभरमा उनी हिट विकेटमा आउट हुन पुगेका हुन्। यसैगरी, किरोन पोलार्डले १३ र क्रुनाल पान्ड्याले १ रन जोडे।
कोलकाताका लागि सुभम माभीले उल्लेख्य बल गरे। उनले ३२ रन खर्चिदै २ महत्वपूर्ण विकेट लिए। प्याट कमिन्स भने महँगो सावित भए। ३ ओभर बल गरेका उनले बिना कुनै विकेट ३९ रन खर्चिए।
त्यस्तै, कुलदीप यादवले बिना कुनै विकेट ३९ रन खर्चिए भने सुनिल नराइनले २२ रन खर्चिँदै १ विकेट लिए।
