PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रहरीको मोबाइलमा सेभ भएको त्यो मुहार जसले आइसक्रिम खुवाउने भन्दै बालबालिकाको कानबाटै मुन्द्रा गायव बनाउथ्यो



सविन ढकाल

प्रहरीको मोबाइलमा सेभ भएको त्यो मुहार जसले आइसक्रिम खुवाउने भन्दै बालबालिकाको कानबाटै मुन्द्रा गायव बनाउथ्यो

काठमाडौं : मंगलवार दिउँसो गोकर्णेश्वर नगरपालिका वडा नम्वर ८ माकलवारीमा ड्युटीमा खटिएका एक प्रहरीले आफ्नो गोजीबाट मोबाइल झिके र म्यासेन्जरमा केही समयअघि आएको एउटा फोटो हेरे। सडकमा हिँडिरहेकी एक महिलाको अनुहार मिल्दो लाग्यो उनलाई। 

उनी झसङ्ग भए। सडकमा देखिएकी महिला तिनै थिइन् जुन उनको मोबाइलमा पहिलेदेखि नै सुरक्षित थियो। प्रहरीले ती महिलालाई तत्कालै नियन्त्रणमा लिए। त्यसपछि पुर्‍याए बौद्धस्थित महानगरीय प्रहरी वृत्त। 

महिला थिइन - स्थायी ठेगाना म्याग्दी र अहिले बालाजु डेरा गरी बस्ने ३२ वर्षीया संगीता क्षेत्री।

+++

करीब एक वर्षदेखि काठमाडौं प्रहरीलाई एउटा घटना टाउको दुखाईको विषय बनेको थियो। काठमाडौं उपत्यकाभित्र बालबालिकाको कानमा लगाएको सुनको गहना मुन्द्रा लुटिने गरेको सुचना आइरहेको थियो। तर, प्रहरीले लुटेरा पत्ता लगाउन सकेको थिएन। खोजीका लागि प्रहरी भने परिचालन गरिएको थियो।

काठमाडौंको महाँकाल, कपन, स्युचाटार, न्युरोडमा यसरी लुटिएको भन्दै पीडितहरु प्रहरीकहाँ पुग्ने गरेका थिए। तर, अनुसन्धानको प्रतिफल चाहिँ चाहिँ शून्य। प्रहरीले विभिन्न कोणबाट यस विषयमा अनुसन्धान गरिरहेको थियो। त्यसैबीच एउटा क्लु भने प्रहरीलाई हात परेको थियो। क्लु अर्थात् त्यही फोटो जुन मोबाइलमा सेभ गरेर राखिएको थियो। 

महानगरीय प्रहरी परिसर काठमाडौंले शंकास्पद व्यक्तिको फोटो सबै आफ्ना वृत्तका इन्चार्जलाई पठाइसकेको थियो। महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नविन कार्कीले पनि फोटो आफ्ना मतहतका सबै जवानसम्म पठाएका थिए। र, एउटा निर्देशन दिएका थिए- 'यो महिलालाई जसले देख्छ, समातेर ल्याउनु।'

मंगलवार प्रहरीले त्यही फोटोसँग म्याच भएसँगै संगीतालाई समातेर ल्याएको थियो। अभियोग उही थियो - बालबालिकाको मुन्द्रा लुट्ने। प्रहरीले नियन्त्रणमा लिएपछि केरकार गर्‍यो। संगीताबाट अपराध स्वाकार भयो। धेरै केरकार गर्नु नै परेन प्रहरीलाई। ।

'उनले सहजै आफूले एक वर्षदेखि काठमाडौं उपत्यकाभित्र बालबालिकाको मुन्द्रा लुटेर बेच्दै आएको बताएकी छिन्,' महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी कार्कीले भने।

संगीताले एक वर्षदेखि काठमाडौं उपत्यकाभित्र बालबालिकालाई टार्गेट बनाएर लुट्दै आएको बताएकी छिन्। उनले ललितपुर, भक्तपुर र काठमाडौंका विभिन्न स्थानमा पुगेर लुटेको स्वीकार गरेको डीएसपी कार्कीले बताए।

यसरी लुटेको मुन्द्रा उनले ललितपुर कनिवहालमा दर्ता नगरेको सुन पसलमा लगेर बेच्ने गरेकी थिइन्। प्रहरीले लुटेको सुन किनेको अभिगोमा सुन पसल संचालक काभ्रेपलाञ्चोकको रोसी नगरपालिका वडा नम्बर १२ घर भई हाल ललितपुर स्थित सौगलमा डेरा गरी बस्ने ३० वर्षीय मुरली विकलाई पनि पक्राउ गरेको छ।

'ललितपुरमा एउटा सानो सुन पसल छ। जहाँ उनले लुटेको दिन नै सुन पसलमा लगेर सस्तो मूल्यमा बिक्री गर्ने गरेको देखियो,' डीएसपी कार्कीले भने।

+++

म्याग्दीकी संगीताले कक्षा ९ सम्म पढेकी छिन्। विवाहित भए पनि उनी परिवारबाट अलगिएको प्रहरीमा जानकारी दिएकी छिन्। काठमाडौंमा एक वर्षदेखि यसरी नै लुटेर जीवन चलाइरहेको खुलासा भएको छ, उनको पक्राउसँगै। सुरुका दिनमा महिना दिनमा एकपट चोरी गर्ने संगीताले पछिल्लो समय सातामा दुई जनासम्मलाई लुट्न थालेको प्रहरीलाई बताएकी छिन्।

'पहिलो पटक लुट्दा कसैले थाहा नपाएपछि झन् हैसला बढेर अपराध कर्ममा होमिएको देखिन्छ। अहिले त उनको काम नै लुट्ने भइसकेको रहेछ। सातामा दुईवटासम्म लुटेको भेटियो,' डीएसपी कार्कीले भने।

संगीताले अहिलेसम्म २२ स्थानमा विभिन्न बालबालिकाको मुन्द्रा लुटेर फरार भएको अनुसन्धानमा खुलेको छ। यो प्रहरीकोमा आएको उजुरीको मात्र सङ्ख्या हो। कति उजुरी अब आउनसक्ने प्रहरीले अनुमान छ। उनले बालकालिकालाई चकलेट तथा आइसक्रिम दिइ आमाको  साथी भएको बताउँदै ललाई फकाई र प्रलोभनमा पारेर कानको मुन्द्रा लुटपाट गर्ने गरेको देखिएको छ।

'म तिम्रो ममीको साथी आन्टी हुँ। जाउँ आइसक्रम चकलेट खान भन्दै एकान्तमा लगेर लुटेर फरार हुने गर्थिन्,' डीएसपी कार्कीले सुनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell