डडेल्धुरा : एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको गएराति डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो। केही दिनअघि भारतबाट आएका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल ल्याइएको थियो।
नवदुर्गा गाउँपालिकाको एम्बुलेन्समार्फत् डडेल्धुरा अस्पताल पुर्याइएका पुरुषलाई भारतमै कोरोना पुष्टि भएको र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पनि सङ्क्रमण पुष्टि भएको कोभिड १९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए। डडेल्धुरामा कोरोना सङ्क्रमणबाट यो पहिलो मृत्यु हो।
बिरामीलाई अस्पताल ल्याएर उपचार गर्ने क्रममा श्वास प्रस्वासको गति बन्द भइसकेको र स्वाब परीक्षण गर्दा कोरना पोजेटिभ आएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट जगदीश बिष्टले जानकारी दिए। शव व्यवस्थापनका लागि डडेल्धुरास्थित गरुड दह गण दह ब्यारेकमा सम्पर्क भइरहेको बिष्टले बताए। यससँगै सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित मृतकको सङ्ख्या १६ पुगेको छ।