काठमाडौं : स्याङ्जामा पहिरोमा परी चार जनाको मृत्यु भएको छ। अविरल वर्षासँगै जिल्लाका दुई ठाउँमा पहिरो जाँदा ४ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए।
उनका अनुसार कालिगण्डकी ४ गौतम टोलका एक जना र वालिङ १४ तमादीमा ३ जनाको मृत्यु भएको हो। तमादीमा ५ जना वेपत्ता छन्।
कालीगण्डकीमा राती २ बजे घरमाथिबाट पहिरो खसेर गौतम टोलका १८ वर्षीय कृष्ण नेपालीको मृत्यु भएको वडा अध्यक्ष चक्रपाणी पाण्डेले बताए। यहाँ राती भागदौड समेत भएको थियो। तर अस्पताल जानुपर्नेगरी कोही घाइते छैनन्। उनका अनुसार स्थानीय र विर्घा प्रहरी चौकीका प्रहरीको पहलमा पहिरोमा पुरिएका कृष्ण नेपालीको शव निकालिएको हो।
वालिङको तामादीमा भने १० जनाको परिवार बस्ने घरमा पहिरो खसेको थियो। ३ जनाको शव भेटिएको र एक जनालाई गम्भीर अवस्थामा अस्पताल पुर्याइएको सीडीओ क्षेत्रीले बताए। ‘५/६ पुरिएको भन्ने छ। सशस्त्र, नेपाल प्रहरी र स्थानीयले खोजिरहेका छन्। म पनि घटनास्थलमा पुग्दैछु,’ बाटोबाटै उनले टेलिफोनमा भने।


