PahiloPost

Nov 18, 2024 | ३ मंसिर २०८१

घरमा इन्टरनेट नहुनेलाई स्कुलको कक्षा कोठामै अनलाइन पढाई!



सहयोग रञ्जित

घरमा इन्टरनेट नहुनेलाई स्कुलको कक्षा कोठामै अनलाइन पढाई!

ललितपुर : समयले शैली फेरिदियो। जीवनशैलीमा वाध्यात्मक बनेर जोडिए मास्क, स्यानिटाइजर, भौतिक दुरी, वर्क फ्रम होम लगायतका विषय। न्यु नर्मलमा यी सबै कुरा एकाएक सामान्य झै भइसके। र, यसरी फेरिएको समयसँगै हिँड्न प्रयत्नशील छन् मानिसहरु।

न्यू नर्मल पछ्याउने भिडमा छन् मनिष दाहाल। उनी कक्षा ७ मा पढ्छन् ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालयमा। कोरोना संक्रमणका कारण करिब ६ महिना उनको विद्यालय बन्द रह्यो। लकडाउन खुकुलो भएपछि बीचमा केही समय संचालनमा आएको विद्यालय संक्रमण बढेसँगै फेरि बन्द भयो। सँगै बन्द भयो उनको पढाई।

लकडाउनको अवधिमा खोकनाको सिकालीस्थित कोठामै बसे उनी। घरमा इन्टरनेट थिएन। त्यसैले मिलेको समयमा नजिकका साथीभाइसँग भेट्नु र खेल्दै समय कटाउँदै बित्यो दिनहरु।

कोरोना संक्रमणका कारण उपत्यकाका अधिकांश विद्यालय बन्द छन्। निजी विद्यालयले अनलाइन कक्षा संचालन गरेको धेरै दिन भइसक्यो। तर, उपत्यकाकै सरकारी र सामुदायिक विद्यालयलाई भने अनलाइन कक्षा संचालन गर्न पनि धौधौ परेको छ।

 

महामारीको यस्तो अवस्थाबीच मनिष पढ्ने रुद्रायणी माविले भने केही नौलो प्रयास थाल्यो, अनलाइन कक्षा संचालन गरेर।

त्यही अनलाइन कक्षाको फाइदा उठाउन मनिष अहिले दैनिक रुपमा विद्यालय पुगिरहेका छन्, उनकी दिदी मन्दिराका साथ। मनिषकी दिदी भने सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत छिन्।

कोरोना कहरले विद्यालयको वातावरण नै परिवर्तन गरिदिएको छ। ११ बजे सुरु हुने कक्षाका लागि मनिष विद्यालय पुगिसक्छन्। तर न घण्टी बज्छ न बिहानको एसेम्ब्ली नै हुन्छ। न त पहिला जस्तै साथीभाइको भिड।

सुनिन्छ त दुई चारजना शिक्षकको एकोहोरो बोली जो अघिल्तिर ल्यापटप राखेर अनलाइन कक्षा लिइरहेका हुन्छन्। विद्यालयमा खोकना वरिपरिका केही विद्यार्थी हुन्छन् जसको घरमा इन्टरनेट छैन र पढाई रोकिएको छ।

विद्यालयले अनलाइन कक्षा सुरु गरे पनि सबैजनासँग इन्टरनेटको पहुँच छैन। त्यसैले घरमा इन्टरनेट सुविधा नभएका केही विद्यार्थीहरु पढ्न विद्यलय नै पुग्ने गरेका हुन्।

‘हाम्रोमा इन्टरनेट छैन। त्यसैले स्कुलमा नै आएर पढेको,’ जुमबाट कक्षा सुरु हुन लागेको भन्दै मनिषले भने, ‘एक हप्ता भयो हामी पढ्न आएको। यसरी पढ्न अलि गाह्रो हुने रहेछ। तर, प्रयास गर्दैछौं।’

हामी रुद्रयाणी मावि पुग्दा कक्षा ७ बाट मनिष र अर्को एकजना विद्यार्थी कक्षाकोठामा नै आएर अनलाइन कक्षा लिँदै थिए। बाँकी विद्यार्थीहरु भने घरबाट नै सहभागी भएका थिए।

‘बाँकी’ मा सबै विद्यार्थी पर्दैनन्। इन्टरनेट र इन्टेरनेट चल्ने मोबाइल नभएकै कारण धेरै विद्यार्थी कक्षा लिनबाट बञ्चित भएका छन्। कोभिड १९ को डरले न उनीहरु मनिषजस्तै विद्यालय नै आउन सकेका छन्। न त घरमा नै पढ्न सकेका छन्।

+++

रुद्रयाणी एउटा सामुदायिक विद्यालय हो। यहाँ करिब ३ सयजना विद्यार्थी अध्ययनरत् छन्। अधिकांश विद्यार्थीहरु न्यून आय भएका परिवारबाट छन्। सरकारले भने झै रेडियो सुनेर, टीभी हेरेर पढ्न सक्ने अवस्था छैन उनीहरुसँग। वैकल्पिक शिक्षाको माध्यम इन्टरनेट बने पनि सबै विद्यार्थीहरुसम्म यसको पहुँच छैन। डिजिटल डिभाइडको हालत यतिखेर प्रस्ट देखिन्छ मुलुकभर।

रुद्रायणी माविका प्रधानाध्यापक कृष्णभगत महर्जन भन्छन्, ‘यहाँ हुनेखाने भन्दा हुँदा खाने परिवारबाट धेरै विद्यार्थीहरु छन्। ज्याला मजदूरी गर्नेहरुको छोराछोरी पढ्छन्। त्यसो भन्दैमा हामी हाम्रो दायित्वबाट पछि हट्न मिल्दैन। हाम्रो विद्यालयमा पढ्ने विद्यार्थी हाम्रो छोराछोरी नै हुन्। उनीहरुको बारेमा सोचेर नै हामीले अहिले अनलाइन कक्षा सुरु गरेका हौं।’

रुद्रयाणीमा कोरोना कहरपछि कक्षा संचालन भइरहेको भने होइन। सरकारले लकडाउन खुकुलो गरेपछि करिब ३ हप्ता विद्यार्थीहरुको भौतिक उपस्थितिमा नै कक्षा संचालन भएको थियो।

‘करिब ३० प्रतिशत विद्यार्थी उपत्यका बाहिर गइसकेका रहेछन्। बाँकी रहेकालाई पढाउँ भनेर हामीले समूह बनाएर लकडाउन खुकुलो भएपछि भौतिक दूरी कायम राख्दै विद्यार्थीहरुलाई विद्यालयमा नै बोलाएर पढायौं,’ महर्जनले भने, ‘भौतिक दुरी कायम राख्दै स्वास्थ्य मापदण्ड पालन गरेर कक्षा करिब ३ हप्ता संचालन भयो। तर फेरि संक्रमण बढेपछि हामीले फेरि पढाई बन्द गर्नुपर्‍यो।’

हाल कक्षा ६ देखि १० सम्म मात्रै अनलाइन कक्षा भइरहेको छ। जसमा कूल ७० जना विद्यार्थी मात्रै सहभागी भइरहेका छन्।

‘अभिभावकहरुलाई नि गाह्रो छ। सबै जनाले फोन र इन्टरनेटको प्रयोग गर्न सक्दैनन्। लकडाउनको समयमा खान नै गाह्रो भएको समयमा इन्टरनेट र मोबाइलको भार उनीहरुले उठाउन सक्ने कुरा नि हुँदैन,’ महर्जनले सुनाए।

विद्यालयले १ देखि ५ कक्षासम्मका विद्यार्थीहरुको लागि भने अनलाइन कक्षा संचालन गरेको छैन। यी कक्षाका विद्यार्थीहरुका लागि शिक्षकहरुले ‘वर्क सिट’ तयार गरेका छन्। केही विद्यार्थी र उनका अभिभावक विद्यालयमा नै आएर वर्क सिट लिएका जाने गर्छन् भने कतिपय विद्यार्थीहरुको घरमा नै ‘वर्क सिट’ पुर्‍याउन विद्यालयका कर्मचारीहरु पुग्ने गर्छन्।

‘वर्क सिट’मा प्रश्नउत्तर, चित्र, लगायत कक्षाको पाठ्यक्रम सँग सम्बन्धित प्रश्नहरु सोधिएका हुन्छन्।

‘हाम्रो उद्देश्य भनेर विद्यार्थीहरु घरमा बस्दा नि केही समय भएपनि पढाईमा संलग्न होस् भन्ने हो। यसलाई अभिभावकहरुले सकारात्मक रुपमा नै लिएका छन्,' प्रधानाध्यापक महर्जनले भने, ‘वर्क सिट सकाएर विद्यार्थीहरु आफै वा अभिभावकले पुर्‍याउन आउँछन्। हामी यसलाई थप व्यवस्थित गर्ने प्रयासमा छौं।’

++‌+

रुद्रायणीमा अनलाइन कक्षा सुरु गर्नुअघि विद्यार्थीहरुमा सर्भेक्षण गरिएको थियो। सरकारले तोकेको मापदण्ड अनुसार रेडियो, टीभी, इन्टरनेट, मोबाइलको पहुँचको आधारमा विद्यार्थीहरुको वर्गीकरणका लागि गरिएको सर्भेक्षणमा सुविधा नहुने विद्यार्थीहरु निकै बढी देखिए। इन्टरनेटको पहुँचबाट धेरै विद्यार्थी टाढै थिए। सामुदायिक विद्यालय भएका कारण सबैलाई इन्टरनेटको सुविधा प्रदान गर्न विद्यालय असमर्थ रह्‍यो। तर, कक्षा त संचालन गर्नु नै थियो।

त्यसैले रुद्रयाणीले दुई तरिकाले अनलाइन कक्षा संचालन गर्ने निर्णय गर्‍यो। जसअनुरुप केही शिक्षकहरुले घरबाट नै अनलाइन कक्षा लिन्छन् भने केही शिक्षक अनलाइन कक्षा लिन विद्यालय नै पुग्छन्। अनलाइन कक्षामा सहभागी हुने विद्यार्थीहरुलाई फेसबुक अकाउन्ट खोल्न लगाएर मेसेन्जरको माध्यमबाट पढाइ हुने विषय र जुमको लिंक पठाउने गरिन्छ।

यसरी अनलाइन कक्षा संचालन गर्नका लागि ललितपुर महानगरपालिकाले केही समय अघि महानगरभित्रका विद्यालयका शिक्षकलाई प्रशिक्षण दिएको थियो। ६ दिन संचालन भएको तालिम अनलाइन कक्षा संचालनदेखि अन्य प्राविधिक कुराहरुका बारेमा सिकाइएको थियो। यही प्रशिक्षणलाई आधार मानेर विद्यालयले अनलाइन कक्षा त सुरु गर्‍यो तर इन्टरनेटको पहुँच नै नभएका विद्यार्थीको लागि भने विद्यालय र स्थानीय तहले केही गर्न नसकेको स्वीकार्छन् महर्जन।

विद्यालयमा नै अनलाइन पढाउन पुगेका शिक्षकहरुसँग पढ्न भने नजिकै घर भएका विद्यार्थीहरु पुग्ने गर्छन्। महर्जनका अनुसार विद्यार्थीहरुले मोबाइल सेयर गरेर समेत हाल अनलाइन कक्षामा सहभागी हुँदैछन्।

विद्यालयमा समेत केही विद्यार्थीहरु मोबाइल सेयर गरेर कक्षा लिइरहेका देखिए।

तर, अनलाइन कक्षा लिन नपाएका विद्यार्थीहरुका लागि चाहिँ के गर्ने त?

‘सबैलाई अध्ययन गराउनका लागि भौतिक उपस्थितिमा नै विद्यार्थीहरुलाई पढाउनुको विकल्प छैन। यदि अवस्था सामान्य भयो भने हामी उनीहरुका लागि एक्ट्रा कक्षाहरु संचालन गर्छौं,’ महर्जनले भने।

कोभिड महामारी कहिले अन्त्य हुन्छ थाहा छैन। उपत्यकामा संक्रमणको अवस्था बढ्दो छ। यही अवस्थामा अहिले नै विद्यालय खुल्ने र भौतिक उपस्थितिमा नै पढाइ हुने सम्भावना न्यून छ। सरकारले पठनपाठन संचालन गर्न विभिन्न मापदण्ड त बनाएको छ। तर, कागजी कुरा व्यवहारमा लागू गर्न सजिलो छैन। मापदण्ड मात्र बनाउने तर त्यसको कार्यान्वयन गर्न र विद्यार्थीहरुको समस्या बुझ्न भने सरकारले केही प्रयास गरेको देखिँदैन। तर, सरकारले गरेन भन्दैमा प्रयास भने गर्न छाड्नु हुँदैन।

‘प्रयास गर्नुपर्छ। हामीले पहिला समूहमा १०० जनालाई बोलाएर पढायौं। अहिले अनलाइन कक्षा सुरु गरेका छौं। अवस्था सामान्य भए फेरि हामी थौरै समूहमा विद्यार्थीहरुलाई बोलाएर पढाउने वातावरण बनाउँछौं,’ प्रधानाध्यापक महर्जनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell