काठमाडौं : अविरल वर्षासँगै स्याङ्जामा विभिन्न ठाउँमा पहिरो जाँदा मर्नेको संख्या ८ जना पुगेको छ।
प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार पहिरोबाट १० जनाको परिवार रहेको घर पुरिएको वालिङ १४ को तामादीमा थप चार जनाको शव फेला परेको छ। यसअघि यहाँ ३ जनाको शव फेला परेको थियो। वालिङमा मात्रै मर्नेको संख्या ७ पुगेको छ।
एक जनाको भने जिवितै उद्धार गरेर थप उपचारका लागि पोखरा पठाइएको छ। २ जना अझै वेपत्ता छन्। वेपत्ताहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजिरहेका छन्। प्रमुख जिल्ला अधिकारी क्षेत्री अहिले घटनास्थलमा छन्।
उनका अनुसार कालिगण्डकी ४ गौतम टोलका एक जनाको मृत्यु भएको छ।
कालीगण्डकीमा राती २ बजे घरमाथिबाट पहिरो खसेर गौतम टोलका १८ वर्षीय कृष्ण नेपालीको मृत्यु भएको वडा अध्यक्ष चक्रपाणी पाण्डेले बताए। यहाँ राती भागदौड समेत भएको थियो। तर अस्पताल जानुपर्नेगरी कोही घाइते छैनन्। उनका अनुसार स्थानीयवासी र विर्घा प्रहरी चौकीका प्रहरीको पहलमा पहिरोमा पुरिएका कृष्ण नेपालीको शव निकालिएको हो।
