PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

प्रदेश १ का ६ स्थानीय तहका ६ सय शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम दिइने



फूलमाया पुरी

प्रदेश १ का ६ स्थानीय तहका ६ सय शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम दिइने

विराटनगर : प्रदेश १ सरकारले पहिलो चरणमा ६ सय शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम दिने भएको छ। प्रदेश १ सामाजिक विकास मन्त्रालयले ६ वटा स्थानीय तहका एक/एक सय शिक्षकलाई पहिलो चरणको तालिम प्रदान गरिने कार्यक्रम अघि बढाएको हो।

प्रदेश सरकारको विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम सञ्चालन निर्देशिका अनुसार सूचना प्रविधि शिक्षामा आधारित भई शिक्षण सिकाई क्रियाकलाप र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्न लागेको छ। जुन विद्यालयमा अध्यापनरत शिक्षकहरुका लागि आधारभुत कम्प्युटर ज्ञान तथा सूचना प्रविधि शिक्षासम्बन्धी शिक्षकहरुमा क्षमता विकास तालिम सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले स्थानीय तहहरुसँगको साँझेदारीमा पहिलो चरणमा ६ वटा स्थानीय तहमा यसै साताभित्र तालिम सञ्चालन गर्ने योजना बनाएको छ। तालिम सञ्चालनका लागि मन्त्रालयले स्थानीय तहहरुसँग सम्झौता गरेको छ। बुधवार सामाजिक विकास मन्त्रालय र झापाको अर्जुनधारा नगरपालिका बीच सम्झौता भएको छ।

बुधवार सामाजिक विकास मन्त्री जीवन घिमिरे र अर्जुनधारा नगरपालिका प्रमख हरिकुमार रानामगरले सम्झौता आदान प्रदान गरेका हुन्। त्यसो त सम्झौता कार्यक्रममा मन्त्री घिमिरेले समय बद्लिएकाले शिक्षण सिकाई कक्षाकोठामा मात्र सीमित नराखी सूचना प्रविधिको उपयोग गरी शिक्षा दिन आवश्यक रहेकोमा जोड दिए।

मन्त्रालयले यसअघि इलामको सुर्योदय नगरपालिका, झापाको मेचीनगर नगरपालिका, मोरङको पथरीशनिश्चरे नगरपालिका, सुनसरीको इटहरी उपमहानगरपालिकासँग सम्झौता गरिसकेको छ भने बिहीवार उदयपुरको त्रियुगा नगरपालिकासँग सम्झौता भएको छ।

विद्यालयले स्थानीय सरकारसँग समन्वय र सहकार्य गरी अघि बढ्नुको विकल्प नरहेको बताउँछन् सामाजिक विकास मन्त्रालय शिक्षा महाशाखा प्रमुख कृष्ण पोखरेल। अहिलेको परिस्थिति भनेको विद्यालय खोल्नैपर्छ भन्ने होइन विद्यार्थीलाई सिकाउने मुख्य पाटो रहेको उनको भनाइ छ।

‘हामीले भनेको विद्यालय खोल्ने त होइन’, पोखरेलले भने, ‘सिकाउने मात्र हो, जसमा विद्यालय खोलेर वा समुदायमा गएर अथवा विद्यार्थीको घरमै गएर कसरी हुन्छ अवस्था र परिस्थिति अनुसारको निर्णय हुन सक्छ।’

त्यसैका आधारमा प्रदेशले आवश्यकता अनुसार सहयोग गर्न लागेको उनले बताए।

कोभिड-१९ को जोखिमका कारण प्रदेशका २२४ वटा विद्यालयमा क्वारेन्टाइन बनाइएको थियो। उक्त विद्यालयहरुमा बनाइएका क्वारेन्टाइन हटाउन यसअघि नै सामाजिक विकास मन्त्रालयले सुझाएको थियो। तर, भदौ अन्तिम सातासम्म पनि १३५ वटा विद्यालयमा क्वारेन्टाइन नै रहेको तथ्याकं मन्त्रालयमा भएको पोखरेलले जानकारी दिए।

‘कोभिड संक्रमणको उच्च जोखिम क्षेत्र नभएका ठाउँमा हटाइसकेको अवस्था छ, बाँकीलाई पनि हटाउन भनेका छौं’, पोखरेलले भने, ‘तरपनि हाम्रो भनाइ भनेको विद्यालयमा विद्यार्थी आउँदा विद्यार्थी सुरक्षित हुन पाउनुपर्छ।’

प्रदेशलाई नै डिजिटल प्रदेश बनाउने योजनाभित्र परेको कुरा र अहिलेको अवस्थामा पनि प्रविधिले नै शिक्षण सिकाइलाई अगाडि बढाउन सहज देखिएको पनि उनले बताए। त्यसैले अब पहिलो चरणमा ६ वटा नगरपालिकाबाट यस अभियानको सुरुवात गरिएको उनको भनाइ छ। बिहीवार उदयपुरमा गरिएको सम्झौतासँगै छ वटै स्थानीय तहसँग सम्झौता गरिसकेको उनले बताए।

पहिलो चरणको तालिम र त्यसका विषयमा आउने  प्रतिक्रियाका आधारमा मन्त्रालयले थप निर्णय लिने उनले बताए।

‘यो हाम्रो दुई महिनाको प्याकेज तालिम हो’, उनले भने, ‘यसलाई तत्काल सम्झौता भएका पालिकाका शिक्षक तथा सरोकारवालाले के कसरी लिन्छन् र तालिमको नतिजा कस्तो आउँछ, सोही अनुसार मन्त्रालयले थप निर्णय लिनेछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell