PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

सुदूरपश्चिम कोरोना अपडेट : पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु, तीन प्रहरीसहित ३९ जनामा संक्रमण



एम बम

सुदूरपश्चिम कोरोना अपडेट : पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु, तीन प्रहरीसहित ३९ जनामा संक्रमण

कैलाली : सुदूरपश्चिम प्रदेशमा बिहीवार थप ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ। प्रदेशका तीन वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ३९ जनामा संक्रमण पुष्टि भएको हो।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशाला, डडेल्धुरा अस्पतालको प्रयोगशाला र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ सय २० जनाको नमुना परीक्षण गरिएको हो।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा तीन सय ४९ नमुना परीक्षण गर्दा २४ जनामा कोरोना पोजिटिभ देखिएको अस्पतालले जनाएको छ। अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले धनगढीका १७ सहित कैलालीका २४ जनामा कोरोना पुष्टि भएको जानकारी दिए।

उनले धनगढी उपमहानगरपालिका वडा नम्बर २ का चार जना पुरुष, वडा नम्बर ११ का चार महिला र पाँच पुरुष सहित १० जना, वडा नम्बर १२ का एक महिला र दुई पुरुष गरी तीन जनामा संक्रमण पुष्टि भएको बताए। जसमध्ये तीन जना प्रहरी रहेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार थप तीन जनामा संक्रमण पुष्टि भएको हो। कार्यालयका निमित्त प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले सशस्त्र प्रहरी गुल्म धनगढीमा कार्यरत तीन जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

योसँगै सुदूरपश्चिम प्रदेशमा संक्रमित प्रहरीको संख्या एक सय ४० पुगेको छ। यस्तै, कैलालीको लम्कीचुहा नगरपालिकाका दुई महिला र दुई पुरुष, जानकी गाउँपालिकाका दुई जना र गोदावरी नगरपालिका वडा नम्बर १ का एक जना पुरुषमा संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

यस्तै, डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परीक्षण गरिएका ४३ नमुनाहरूमध्ये ११ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि भएकामध्ये एक जनाको मृत्यु भएको प्रयोगशालाले जनाएको छ। प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भुसालले पछिल्लो २४ घण्टामा ११ जनामा संक्रमण पुष्टि भएको र एक जनाको मृत्यु भएको जानकारी दिए।

उनले बैतडीको पुर्चौडी नगरपालिकाका नौ जना, पाटन नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको र डडेल्धुराको नवदुर्गा गाउँपालिकाका एक जनाको कोरोनाका कारण मृत्यु भएको बताए।

उता जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परीक्षण गरिएका १ सय २८ नमुनाहरुमध्ये चार जनामा संक्रमण पुष्टि भएको छ।

प्रयोगशालाका ल्याब इन्चार्ज सौरभ श्रेष्ठले पछिल्लो २४ घण्टामा गरिएका परीक्षणमा डोटीकै चार जनामा कोरोना पोजिटिभ देखिएको जानकारी दिए। उनले जिल्लाको शिखर नगरपालिकाका दुई जना पुरुष र दिपायल सिलगढी नगरपालिकाका दुई जना पुरुष गरी चार जनामा कोरोना संक्रमण देखिएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell