PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

६ महिनापछि खुलेको आन्तरिक उडानमा खचाखच यात्रु, ‘सबै गन्तब्यमा यात्रु अकुपेन्सी ८० प्रतिशत भन्दामाथि’



वसन्तराज उप्रेती

६ महिनापछि खुलेको आन्तरिक उडानमा खचाखच यात्रु, ‘सबै गन्तब्यमा यात्रु अकुपेन्सी ८० प्रतिशत भन्दामाथि’

काठमाडौं : सोमवारदेखि खुलेको आन्तरिक हवाई उडानमा यात्रुको अकुपेन्सी ९० प्रतिशतसम्म रहेको पाइएको छ। चार दिनको अवधिमा हवाई उडानमा यात्रु खचाखच नै छन्।

सोमवारदेखि दैनिक १८ वटा नियमित उडान शुरु गरेको बुद्ध एयरले ९० प्रतिशत यात्रु अकुपेन्सी रहेको जनाएको छ। बुद्धले दैनिक १३ वटा गन्तब्यमा नियमित उडान गर्दै आएको छ। कम्पनीका प्रवक्ता रुपेश जोशीले यात्रुको चाप दैनिक बढ्दो क्रममा रहेको बताए। उनका अनुसार सोमवार १६ सय ८४, मंगलवार १४ सय २०, बुधवार १७ सय ३१ र बिहीवार मध्यान्न सम्म १७ सय यात्रुलाई सेवा दिइसकेको छ।

‘हामीले दैनिक १८ सय सिट खोलेका थियौँ। तीन दिन देखिको यात्रु चापलाई हेर्ने हो भने ८० देखि ९६ प्रतिशत यात्रु अकुपेन्सी कायम भएको छ। सबै गन्तब्यमा यात्रु अकुपेन्सी ८० प्रतिशत भन्दामाथि रहेको छ,’ जोशीले भने।

उनका अनुसार चाडवाडका लागि तुम्लिङटार तर्फको टिकट बुक भइसकेको छ। यती एयरलाइन्सले नियमित उडान सञ्चालन गरेको तीन दिन अवधिमा यात्रुको माग र सीट अकुपेन्सी उल्लेख्य रहेको जनाएको छ। दैनिक १० वटा उडान रहेको कम्पनीले सोमवार नौ सय, मंगलवार ७ सय ३१ र बुधवार आठ सय ६७ यात्रुलाई सेवा दिएको कम्पनीका प्रवक्ता सुदर्शन वर्तौलाले बताए।

दशैँका लागि पनि अग्रिम बुकिङको माग भइरहेको उनले बताए। श्री एयरलाइन्सले गत मंगलवारदेखि दैनिक नेपालगञ्ज र धनगढीमा दुईवटा उडान शुरु गरेको छ। कम्पनीका प्रवक्ता अनिल मानन्धरले दुई गन्तब्यमा ९० प्रतिशत अकुपेन्सीमा उडान भइरहेको बताए।

स्टल ‘विकट’ रुटमा नियमित उडान गर्दै आएको सीता एयरले काठमाडौं र नेपालगञ्ज बेस रहेर गर्दै आएको उडानमा सतप्रतिशत अकुपेन्सी कायम हुँदै आएको जनाएको छ। चारवटा मध्ये तीनवटा १८ सिटे डोर्नियर जहाज सञ्चालनमा रहेको यो कम्पनीले गत पाँच गतेदेखि १० देखि १५ वटा उडान गर्दै आएको कम्पनीका विजनेश चिफ रिजेश थापाले बताए।

उनका अनुसार कम्पनीले हाल काठमाडौंदेखि ताप्लेजुङ, लुक्ला, सिमिकोट, डोल्पा लगायत प्रत्येक गन्तब्यमा साताको दुईवटा उडान गर्दै आएको छ भने नेपालगञ्जदेखि सिमिकोट, जुम्ला, बाजुरा, डोल्पा, रारा लगायत गन्तब्यमा दैनिक उडान गर्दै आएको छ।

‘मौसम ‍प्रतिकुलका कारण यतिखेर दैनिक दुईवटा जहाजमार्फत करिब १० वटा उडान गर्दै आएका छौँ। मौसम अनुकुल रहेको अवस्थामा तीन वटा जहाजमार्फत १५ वटा सम्म उडान गर्न सकिन्छ,’ थापाले भने।

पीसीआर परीक्षण अनिवार्य लागू गरेपछि कम्पनीले हवाई भाडादरमा पाँच सय रुपैयाँ छुट दिँदै आएको उनले बताए। सिम्रिक एयरलाइन्सले आउँदो असोज १५ गतेदेखि दैनिक पोखरा उडान गर्ने योजना बनाएको छ। ग्राहकको माग अनुसार कम्पनीले काठमाडौं-पोखरा दैनिक तीनवटा उडान गर्ने प्रवक्ता प्रज्वल थापाले बताए।

नियमित उडान पुनः सञ्चालनका लागि सौर्य एयरलाइन्सले आफ्ना सात जना क्याप्टेनलाई तालिमको लागि बिहीवार जर्मनी पठाएको जनाएको छ। १५ दिनको तालिमबाट फर्किएलगत्तै नियमित उडान सञ्चालन गर्ने योजना रहेको कम्पनीका प्रवक्ता मुकेश खनालले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell