PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

खुलेको स्कुललाई प्रशासनले लगायो रोक



मुकुन्द घिमिरे

खुलेको स्कुललाई प्रशासनले लगायो रोक

काठमाडौं : केही दिन अघिबाट इलाम नगरपालिका क्षेत्रका विद्यालयहरु सञ्चालनमा आउन थाले। सामाजिक दुरी, साबुन पानी, जोरविजोर लगायतका विभिन्न स्वास्थ सुरक्षाका लागि मापदण्ड बनाउँदै विद्यालय सञ्चालनमा आएका थिए। र, केही विद्यालय भौतिक कक्षा सञ्चालनको तयारीमा थिए। तर यो धेरै टिकेन। जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति निकाल्दै अर्को निर्णय नआउञ्जेलका लागि विद्यालयलगायतका विभिन्न क्षेत्रहरु नखोल्न निर्देशन दिएको छ। जसका कारण सञ्चालनमा आएको केही दिनमै विद्याल फेरि बन्दहुने अवस्था भएको छ।

कसरी सुरु भएको थियो विद्यालहरु?

मन्त्रिपरिषद्को भदौ १९ गतेको बैठकले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका पारित गरेको थियो। सोही कार्यविधिको बुँदा ३३(२) मा कुनै क्षेत्र विशेषमा विद्यालय सञ्चालन गर्न सम्भव भए सञ्चालन गर्न सकिने उल्लेख छ। र, सोही बुँदालाई टेकेर केही स्थानीय तह विद्यालय सञ्चालन गर्न अग्रसर भएका थिए।

‘यस निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै क्षेत्र विशेषमा नियमित विद्यालय सञ्चालन हुनसक्ने अवस्था भएमा प्रत्यक्ष शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न बाधा पर्ने छैन,’ निर्देशिकाको ३३ बुँदामा भनिएको छ।

निर्देशिका आएसँगै विभिन्न स्थानीय तहहरुले मापदण्ड बनाउँदै विद्यालय सञ्चालन गर्न थालेका छन्। त्यसमा पनि विभिन्न पहाडी तथा हिमाली क्षेत्रका जिल्लाहरुमा विद्यालय सञ्चालन भइसकेको छ भने कतिपय सञ्चालनको तयारीमा छन्।

यसैमा टेकेर इलाम नगरपालिकाले पनि मापदण्ड बनाएर विद्यालय सञ्चालनमा ल्याउने बाटो खोलेको थियो।

के छ प्रशासनको विज्ञप्तिमा?

जिल्ला प्रशासन कार्यालय इलामले आज जारी गरेको विज्ञप्तिमा गृहमन्त्रालयबाट आएको निर्देशनको जिकिर गर्दै शैक्षिक संस्था, सभा गोष्ठी, सेमिनार, प्रदर्शन भेला, सिनेमा हल, पार्टी प्यालेस, सैलुन ब्युटिपार्लर स्पा, समूहमा हुने खेलकुदलगायतका क्षेत्र अर्को सूचनाबाट तोकिएको मितिबाट मात्र सञ्चालन गर्न भनिएको छ। यो सूचना शिक्षा क्षेत्रमा लक्षित हो भनेर ठम्याउन कुनै कठिनाइ हुदैन।

दोखलामा पनि भएको थियो यस्तै

दोलखामा भने असोजको ७ गतेबाट विद्यालय सञ्चालन गर्ने तयारी अघि बढाइएको थियो। तर सो निर्णय प्रधानमन्त्री कार्यालयबाटै अर्को निर्णय नआउन्जेलका लागि विद्यालय सञ्चालन नगर्नू भनेर निर्देशन आएपछि उल्टियो।

‘शिक्षा मन्त्रालयको निर्देशिका अनुसार स्थानीय निकायले आफैँ अनुकूलतामा त्यहाँको स्थिति ध्यानमा राखेर विद्यालय खोल्न सक्ने, व्यवस्थापन गर्न सक्ने भन्ने थियो। त्यसका आधारमा तयारी गरेका थियौँ,’ केही दिनअघि जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले भनेका थिए, ‘तर पछिल्लो समय चाहिँ हामीलाई एउटा निर्देशन आयो। प्रधानमन्त्रीको कार्यालयबाट विद्यालय अर्को सूचना नभएसम्म खोल्न नमिल्ने भनेपछि आज नै हामीले संयुक्त रूपमा जिल्ला संकट व्यवस्थापन समिति, यहाँका राजनीतिक दल, लगायत सरोकारवाला बसेर अर्को सूचना नआएसम्म सञ्चालन नगर्ने सबैतिर पत्राचार गरिसकेका छौँ।’

कार्यविधि र सरकारको निर्णयमा विरोधाभाष

शिक्षा मन्त्रालयले जारी गरेको निर्देशिकामा इन्टरनेट तथा सूचना सञ्चारको पहुँचमा भएका विद्यार्थी, कम्प्युटर भएका तर इन्टरनेट नभएका विद्यार्थी, टेलिभिजनको पहुँचमा भएका विद्यार्थी, रेडियो एफएमको पहुँचमा भएका विद्यार्थी र सबै खालको प्रविधिमा पहुँच नभएका विद्यार्थी गरी वर्गीकरण गर्ने र सोही अनुसार सिकाइ सामाग्री उपलब्ध गराउँदै सिकाइ अघि बढाउने उल्लेख छ। तर लगत्तैको मन्त्रिपरिषद् निर्णय सुनाउँदै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले अहिलेको अवस्थामा कक्षा कोठामा विद्यार्थीहरूलाई प्रत्यक्ष सिकाइ गराउन सकिने अवस्था नरहेको बताएका थिए। अर्को निर्णय नभएसम्मका लागि विद्यालय सञ्चालन नहुने उनले स्पष्ट पारेका थिए।

माथिबाटै अस्पस्टता देखिएपछि विद्यालय सञ्चालनका लागि देशैभर अन्योलको वातावरण देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell