PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

चीन विरुद्ध लुकाइएको भारतीय अस्त्र : चिनियाँ सीमामा तिब्बती समुदायको फौज



विधुर ढकाल

चीन विरुद्ध लुकाइएको भारतीय अस्त्र : चिनियाँ सीमामा तिब्बती समुदायको फौज

काठमाडौं : पछिल्लो समय चर्किँदै गएको भारत-चीन सीमा विवादका क्रममा भारतले तिब्बती समूदायलाई सीमामा परिचालन गर्न थालेको छ।

तिब्बती समुदायलाई लिएर बनाइएको स्पेसल फ्रन्टेयर फोर्स (एसएफएफ) सीमामा तैनाथ गरिएको छ। कोभर्ट रुपमा परिचालित हुँदै आएको यो समूह यसपटक खुला रुपमा आएको छ।

विगत पाँच महिनादेखि भारत चीनबीच सीमा क्षेत्रमा बढ्दै गएको तनाबपछि गत अगस्टमा भारतीय सेनाले चिनियाँ पक्षलाई असफल पारेको घोषणा गर्‍यो। योसँगै दक्षिण पाङगोङ सोमा स्पेसल फन्टियर फोर्स (एसएसएफ)को संलग्नता बाहिर आएको थियो

विकास रेजिमेन्टको रुपमा चिनिने र प्रत्यक्षमा रुपमा भारतीय गुप्तर संस्था 'र'को डाइरेक्टर जनरल मातहत रहने एसएफएफको संलग्नतासँगै यसको भूमिका पनि बाहिरिँदै गएको छ।

त्यतिमात्र होइन, सँगै कोभर्टमा रहँदै आएको यो फोर्स यसपटक पूर्ण रुपमा बाहिरिएको छ। सेप्टेम्बरको दोस्रो साता एसएफएफका जवान नीमा तेन्जिनको अन्तिम संस्कारमा भारतीय जनता पार्टीका नेता राम माधव नै पुगे।

चीन-भारतबीचको सीमा 'एक्चुअल लाइन अफ कन्ट्रोल' (एएलसी)मा गोली नचलाउने दुई देशबीचको सहमति अनुसार त्यहाँ झडप हुँदा ढुंगामुडा प्रयोग हुन्थ्यो। यसपटक अगस्ट २९-३१ मा गोली पनि पड्कियो। एसएफएफका नीमाको एम्बुसमा परेर मृत्यु भयो। यसअघि भारतको उपस्तथिति नभएको पूर्वी लद्दाखको चुसुल क्षेत्रको उचाईमा भारतीय पक्षले उपस्थिति जनायो। यो अप्रेसनमा एसएफएफको प्रयोग भएको भनिँदै आएको थियो।

मृत्यु भएका जवानको विषयमा भारतीय सेनाले आधिकारिक रुपमा केही नभने पनि भारतीय जनता पार्टका नेताको उपस्थितिले भारत-चीन विवादमा एसएफएफको उपस्थितिलाई खुला गरिदिएको छ। यस विषयमा भारतीय सेना मौन रहँदै आएको थियो। नीमा सन् १९६२ तिरै बिच्छाइएको बारुदी सुरुङमा परेका थिए। त्यसका कारणले उनको मृत्यु भयो। एक अर्का जवान घाइते भए।

यो नै पहिलो पटक एसएसएफ सार्वजनिक रुपमा सर्वसाधरणको नजरमा परेको घटना भएको इन्डियन एक्सप्रेसले लेखेको छ।

उनको मृत्युपछि लद्दाकको लेहमा उनको विदाइमा ठूलो र्‍याली निस्कियो। र्‍यालीमा भारत माता की जय, तिब्बत जिन्दावाद, विकास रेजिमेन्ट जिन्दावादका नारा घन्किए। तिब्बती समुदायलाई प्रभावित पार्दै चीन विरोधी सेन्टिमेन्ट जगाउन यो र्‍यालीले भूमिका खेल्यो। त्यसैको प्रयोगका लागि राममाधव लेह पुगेका थिए। यसअघि एसएफएफका कुनै पनि जवानको मृत्युमा यस्तो विदाई भएको थिएन्। न त एसएफएफको उपस्थितिबारे सर्वसाधरणहरु जानकार नै राख्थे। यसपटक किन बाहिर ल्याइयो त?

एसएफएफका जवानहरुलाई भारतका लागि भन्दा पनि तिब्बतका लागि लड्न भनिएको छ।

'अहिलेसम्म हामी गुमनाम सिपाही थियौं। तर, अहिले मानिसहरुले हामीलाई चिन्न थालेका छन्। यसले हाम्रो रणनीतिमा असर परेको छ,' एम्बुस पड्किँदा उनीसँगै रहेका एक सैनिकलाई उदृत गर्दै भारतीय मिडियाले लेखेका छन्-  'हामी गर्वान्वित छौँ कि उसले आफ्नो मातृभूमि तिब्बतका लागि प्राण आहुती दियो।'

नयाँ दिल्लीले यसको उपस्थितिलाई लिएर सधैँ मौनता साँध्दै आएको छ। यसपटक पनि भारतको रक्षा मन्त्रालयको वक्तव्यमा नीमाको मृत्युको विषयमा केही उल्लेख छैन। खाली चिनियाँ सेनालाई धपाएको लेखिएको छ। तर, भारतीय प्रधानमन्त्रीका  निकट पात्र तथा भारतीय जनता पार्टीका महासचिव राममाधवको उपस्थित हुनु र पूर्व सैनिकलाई सम्मानका साथ विदाई गर्नुले तिब्बती समूदायको आवश्यकता बढ्दै गएको महसुस भारतले गरेको देखिन्छ।

यो घटनाले दिल्लीले बेइजिङलाई स्पष्ट सन्देश दिएको छ कि भारत 'तिब्बत कार्ड' खेल्न पछि पर्दैन। अहिले भारतीय झण्डा र तिब्बती शरणार्थी समुदायले प्रयोग गर्दै आएको झन्डा बेरिएको नीमाको कफिनको तस्विर तिब्बती समुदायहरुबीच सामाजिक सञ्जालबाट भाइरल भइरहेको छ।

भारतमा शरणार्थीका रुपमा रहेका तिब्बतीहरुलाई भारतीय सरकारी जागिर उपलब्ध छैन। उनीहरुलाई भारतीय परिचयपत्रबिना जग्गा जमिनको अधिकार पनि छैन। तर, पनि यो समुदायलाई भारतले 'र' अन्तर्गतको विशेष सैन्य संरचनासहितको फोर्समा सहभागी गराउँदै आएको छ।

तिब्बती समूदायलाई चीन विरुद्ध प्रयोग गर्दै भारतले आफ्नो 'वास्तविक दुश्मन' (चीन)सँग लड्न आह्वान गरेको छ। हालसम्म एसएफएफलाई चीन विरुद्धको मोर्चामा खुला रुपमा भारतले उतारेको थिएन।

के हो एसएफएफ?

तिब्बती समुदायलाई लिएर बनाइएको स्पेसल फ्रन्टेयर फोर्स (एसएफएफ) सीमामा तैनाथ छ। भारत-चीन युद्धपछि १९६२ नोभेम्बर १४ मा बनाइएको भारतीय विशेष फोर्सले सुरुवातमा भारत चीन सीमामा 'कोभर्ट अप्रेसन' गर्दै आएको थियो।

त्यसयता यो फोर्स भारत-पाक युद्ध तथा बंगलादेश स्वतन्त्रता युद्धमा पनि सहभागी रह्यो। कारगिल युद्धदेखि अप्रेसन ब्लु स्टारको हिस्सासमेत भएको एसएफएफले इन्दिरा गान्धीले संकटकाल लगाएसँगै गान्धीको निजी फोर्सका रुपमा काम गरेको थियो।

उत्तराखण्डमा मुख्यालय रहेको यो फोर्स भारतीय सेना मातहत भने छैन। सुरुमा यसलाई भारतको इन्टेलिजेन्स ब्यूरो (आइबी) मातहत राखिएको थियो। पछि भारतको बाह्य जासुसी संयन्त्र रिसर्च एन्ड एनालिसिस विङ (र) मातहत राखिएको छ। सेनाको अंग नभए पनि यसको सञ्चालन सेनाले गर्छ। यद्यपि, यसको आफ्नै दर्जा तथा संगठन संरचना र तालिम संरचना छ। यो प्रत्यक्ष रुपमा क्याविनेटको सुरक्षा मामिला सम्बन्धि डाइरेक्टोरेट जनलर मातहत हुन्छ। जसलाई इन्स्पेक्टर जनरल (आइजी)ले नेतृत्व गरेका हुन्छन्। र, भारतीय आर्मीको मेजर जनरल तहबाट छनोट गरिएका हुन्छन् जसले प्रत्यक्ष रुपमा प्रधानमन्त्री कार्यालयलाई रिपोर्ट गर्छ।

सुरुमा तिब्बती शरणार्थीहरुलाई लिएर बनाइएको विकास बटालियन पछि स्पेसल फ्रन्टियर फोर्सको रुपमा परिणत भएको हो।

तिब्बतबाट दलाई लामासँगै भारतमा निर्वासनमा आएका खाम्पा समुदायबाट पाँच हजार युवालाई लिएर यो संगठन बनाइएको थियो। त्यसका लागि भारतीयले चिनियाँ जनमुक्ति सेनासँग लडिरहेको गुरिल्ला समूह चुशि ग्यांद्रुकसँग सम्पर्क गरेर युवा भर्ती गराएका थिए।

यो समूह तयार गर्न अमेरिकाको सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए)ले पनि सहयोग पुर्‍याएको थियो सतहमा  आएको थियो।

चीनमा तङ स्यायोपिङको खुला अर्थ नीतिसँगै एसएफएफले चीनमा गर्दै आएको आफ्ना अधिकांश कार्य बन्द गरेको थियो।

त्यसयता एसएफएफले भारतीय सेनासँग मिलेर इन्डो पाकिस्तान युद्ध लडेको थियो। जसमध्ये तीन हजार एसएफएफ टास्क फोर्स परिचालन भएको थियो। बंगलादेश स्वन्तत्रा अभियानमा बंगलादेशको पक्षमा एसएफएफले पाकिस्तान विरुद्ध युद्ध लडेको थियो।

तिब्बतीसँगै नेपाली पनि रोजाईमा

एसएसफमा तिब्बती समूदायको अभावलाई पूर्ति गर्न गोर्खा राइफल्सबाट पनि जवानहरु भर्ती गरिँदै आएको छ। समान शारिक बनावटसँगै आँटिला तथा उच्च पर्वतीय क्षेत्रमा काम गर्न सक्ने तिब्बती र नेपाली समुदाय बाहुल्य रहेको छ एसएफएफ। पाकिस्तान विरुद्ध सीमा लडिरहेको एसएफएफ अहिले चिनियाँ सीमामा उतारिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell