PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

आमा र छोरालाई एकै चिता, आठ चितामा राखेर ९ शव जलाइयो



रासस

आमा र छोरालाई एकै चिता, आठ चितामा राखेर ९ शव जलाइयो
फोटो : गोरखापत्र

वालिङ : पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ। स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो।

नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाइएको थियो। ६ महिनाका बालकलाई १९ वर्षीया आमा बिनिता नेपालीसँगै एउटै चितामा राखेर दाहसंस्कार गरिएको नेपाल दलित सङ्घ स्याङ्जाका अध्यक्ष लिलबहादुर रनपालले बताए। सबैजना एकैघरका भएकाले दागबत्ती दिने परिवारभित्रैको कोही पनि नभएपछि आफन्तमध्येका जीबलाल परियारले सबै जनालाई दागबत्ती दिए।

'पहिरोमा पुरिएर ज्यान गुमाएका सबैको शवलाई गहौं प्राथमिक अस्पताल वालिङमा पोष्टमार्टम गरेर रामनदीधामस्थित कालीगण्डकी नदीमा अन्तिम दाहसंस्कार गरेका छौँ,' अध्यक्ष रनपालले भने। एकै परिवारका नौ जनाको एकैपटक दाहसंस्कार गरिएको यो हृदयविदारक घटना नौलो भएको अध्यक्ष रनपालले बताए। दाहसंस्कारका लागि घाटमा पुगेका मलामी तथा आफन्तजन निक्कै भावविह्वल भएका थिए। घटनाले एकै परिवारका नौ जनाको ज्यान गएपछि अहिले गाउँ नै शोकमा डुबेको छ।

पहिरोमा पुरिएर जीवितै उद्दार गरिएकी १६ वर्षीया मनिषा नेपालीको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। मनिषाको सम्पूर्ण उपचार खर्च वालिङ नगरपालिकाले जिम्मा लिने वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताए। वालिङ नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि तथा घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell