PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कश्मीरमा चर्चित वकिलको हत्या, असुरक्षित छु भन्दै लेखेका थिए ट्विटरमा



पहिलोपोस्ट

कश्मीरमा चर्चित वकिलको हत्या, असुरक्षित छु भन्दै लेखेका थिए ट्विटरमा

श्रीनगर : मोटरसाइकलमा आएका दुई जनाले अन्धधुन्ध गोली प्रहार गरी जम्मु कश्मीरका चर्चित वकिल तथा अधिकारकर्मी बाबर कादरीको हत्या गरेका छन्। जम्मु कास्मी उच्च अदालतमा वकालत गर्दै आएका उनी टेलिभिजन बहसहरुमा सहभागी हुन्थे र आफ्नो कुरा प्रस्टसँग राख्न सक्थे। श्रीनगरमा रहेको उनको घरमा हिजो राति बन्दुकधारीले उनीमाथि हमला गरेका हुन्।

३९ वर्षका वकिलले आफूविरुद्ध गलत प्रचार भइरहेको सोसल मिडियामार्फत् जानकारीसमेत गराएका थिए। उनलाई 'एजेन्सीहरु'सँग काम गरेको आरोप लगाउँदै सोसल मिडियामा प्रचारबाजी भएपछि उनले प्रहरीलाई ध्यानाकर्षण समेत गराएका थिए।

उनको अन्तिम ट्विटमा एउटा फेसबुक स्क्रिनसट पोस्ट गरिएको छ जसमा उनीमाथि लगाइएको लान्छनाबारे लेखिएको छ। जम्मु प्रहरीको मिडिया सेन्टरलाई समेत ट्याग गरेर उनले आफ्नो ज्यान असुरक्षित रहेको समेत उल्लेख गरेका थिए।

केही वर्ष अघि उनका ससुरा गुलाम कादिर वानीलाई पनि आतंकवादीले मारेका थिए।

कादरीलाई पनि सन् २०१८ देखि धम्की मिलिरहेको थियो। पाकिस्तानी वेबसाइटमा उनले दोहोरो खेल खेलेको भन्दै सामग्री प्रकाशन भएसँगै उनीमाथि धम्कीको क्रम बढेको थियो। पत्रकार सुजात बुखरीलाई श्रीनगरमा आतंकवादीले मारेसँगै यस्तो सामग्री सार्वजनिक भएको थियो।

टाउको र शरीरका विभिन्न भागमा गोली लागेका कादरीलाई सेर ए कास्मिर इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा लगिएको थियो। त्यही उनको मृत्यु भयो।

रातिसम्म घटनाको जिम्मेवारी कसैले लिएको छैन। प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell