PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

लेबर चोकमा भौतारिएका मनोजसँग देशमा टिक्न रहेन आधार, फेरि भारत नै फर्किने निचोडमा पुगे

लेबर चोकमा भौतारिएका मनोजसँग देशमा टिक्न रहेन आधार, फेरि भारत नै फर्किने निचोडमा पुगे

पहिलोपोस्ट /पहिलोपोस्ट


  • राकेश प्रसाद चौधरी -

महोत्तरी जलेश्वरको दुर्गा चोकमा एका विहानै झिसमिसेमा दैनिकजसो सयको हाराहारीमा युवादेखि अधवैशेको लस्कर देखिन्छ। त्यो लस्करमा एउटा हँसिलो मुहारको ठिटो पनि देखिए।

नाम : मनोज पासवान

उमेर : २० वर्ष

घर : जलेश्वर २।

मनोज भर्खरै कोभिड १९ को संक्रमणबाट मुक्त भएका हुन्। विश्वव्यापी रुपमा फैलिएको पेन्डामिकका कारण अंधिकाश मानिसहरु लकडाउन र निषेधाज्ञाको पालना गर्दै घरभित्रै बसिरहेका छन्। तर, मनोज भने लेवर चोकमा भौतारिँदै थिए - कामको खोजीमा। उनी अचेल घर बनाउने ठाउँमा ज्यालादारी काम गर्छन्। उनीजस्तै काम खोजिरहेका मानिसलाई लिन ठेकेदार यही चोकमा आउँछन्। त्यसैबाट चोकले नाम पाएको हो - लेबर चोक।

'लकडाउनमा कमाउन नसकेकोमा मेरो परिवार मसँग रुष्ट छ,' मनोजले प्रश्नसहित गुनासो गरे, 'तर म कसरी पैसा कमाउँ?'

बिहानबिहान हरेक दिन उनी लेबर चोक चाहर्छन्, कहीँ केही काम भेटिएला भन्ने आशामा।

भारतमा कोभिड-१९ संक्रमण फैलिने क्रम सुरु भएसँगै त्यहाँ पनि लकडाउन भयो। लकडाउनले भारतमा काम गरेर जिविकोपार्जन गरिरहेका नेपालीलाई त्यहाँ टिक्न कठिन भयो। त्यसैले ४ महिना अघि चेन्नईबाट महोत्तरी र धनुषा जिल्लाका झन्डै सय जना श्रमिकहरु हुल बाँधेर नेपाल फर्किएका थिए। त्यो हुलमा मनोज पनि थिए।

अनेक दु:ख कष्ट भोग्दै कैयन दिनको पैदल यात्रा पार गरेर नेपालको सीमाना भिठ्ठामोड नाका हुँदै उनी नेपाल फर्केका थिए। देश फर्कनासाथ उनी जलेश्वरको क्वारेन्टाइनमा पुगे।

मध्य वैसाखको उखरमाउलो गर्मीमा नेपाल आइपुगेका मनोजको क्वारेन्टाइनमा बसेको बाह्रौं दिनमा बल्ल कोभिड -१९ को परीक्षण भएको थियो। र, उनको थ्रोट स्वाब संकलन भएको १३ दिनपछि मात्रै रिपोर्ट पाए - कोरोना भाइरस पोजेटिभ।

घर पुगेर लत्ता कपडा सहितको झोला भिरेर उनी जलेश्वर कोभिड अस्पतालको आइसोलन पुगे। त्यहाँ २० दिन बसेपछि निको पनि भए। त्यसपछि उनी आफ्नै घर फर्किए। आइसोलेसनबाट फर्किएपछि केही दिन उनलाई आफ्नै गाउँठाउँमा घुलमिल हुन पनि कठिन भयो। कोरोना संक्रमितलाई हेर्ने दृष्टिकोण राम्रो थिएन।

'भारतबाट कोरोना बोकेर ल्याएको भनेर छिमेक र समाजमा मलाई सबैले हेला गर्न थाले। यस्तो थाहा पाएको भए त बरु भोकभोकै भए पनि चेन्नई नै बस्थेँ। दु:ख पर्दा गाउँठाउँ सम्झेर पो देश फर्केको। थप दु:ख भोग्न फर्केको थिइन।'

घरमा वृद्ध आमाबुबा र दुई दाजुका पाँचजना छोराछोरी सगोलमा नै बस्छन्। दाजुभाइको पक्की घरको संयुक्त परिवारमा नै बस्छन् मनोज पनि। रोग निको भएपछि सधैं झै दाजुकै घरमा उनी बस्न थाले। तर सगोल परिवारमा बस्दा पनि काममा नगइ सुख थिएन। काम गर्ने र कमाउने शर्तमा नै उनी घरमा बस्न थालेका थिए। त्यसपछि उनी हरेक दिन लेबर चोकमा कामको खोजीमा भौतारिन थाले। तर, भनेजस्तो काम सजिलै कसरी पाउनु?

मनोजकी श्रीमती पनि उनीसँगै छैनन् अहिले। वैदेशिक रोजगारका लागि भारत गएका कारण उनी रिसाएर माइती नै बसिरहेकी छिन्। नेपाल फर्केपछि पनि श्रीमतीसँग उनको भेट भएको छैन।

'नेपालमा कमाई नभएकै कारण पैसा कमाउन भारत गएँ। मैले श्रीमतीलाई माया र समय दिन नसकेकै कारण उनी रिसाएर माइतीमै बसेकी छिन्,' मनोजले भने।

कोरोना संक्रमित हुँदा परिवार र आफन्तको मायाको खाँचो चर्कै हुन्थ्यो। तर ती दुवैबाट उनी बन्चित नै रहे।

सामान्य लेखपढमात्र जानेका मनोज चेन्नईमा सर्ट प्याकिङ्ग गर्ने काम गर्थे। त्यहाँ उनको महिनाको कमाई २५ हजार नेपाली रुपैयाँ थियो। उनी झण्डै महिनाको २० हजार त बचत नै गर्थे।

अहिले हप्तामा एकदुई दिन घर बनाउने मजदुरीको काम गरिरहेका छन्। उनको आम्दानी हप्तामा १२ सय रुपैयाँमा खुम्चिएको छ। त्यति पैसाले उनलाई खाना खर्च जुटाउन समेत हम्मेहम्मे परेको छ।

‘कहीँ कतैबाट रोजगारीको अवसर भेटिएको छैन। कति दिन त भोकै पेट निदाएँ, दिन गनेर साध्य छैन,' उनले भने, 'मुस्किलले घर बनाउने ईटा बोक्ने काम पाएको छु। खोई सरकारले गरिबलाई राहत दिने भन्छ। न त राहत न कुनै रोजगारी नै छ नेपालमा।'

मनोजसँगै चेन्नईबाट गाँउ फर्केकामध्ये अधिकांश साथीहरु १५ दिन अगाडि नै दुखजिलो यात्रा गरेर फेरि चेन्नई नै फर्किसकेका छन्। मनोज पनि उनीहरुजस्तै गरी फर्किने मुडमा पुगिसके। तर, भारततिर जानुअघि दुई महिनाजति मजदूरी गरेर केही रकम परिवारलाई थमाउन पाए हुन्थ्यो भन्ने उनको चाहना।

तीन वर्ष अघि मनोज जलेश्वरको मटिहानी चोकमा सानो पसल चलाउँथे।

त्यो पसल चलाउन साथीभाइले नै आर्थिक सहयोग गरेका थिए। तर, उधारो खानेहरुले पैसा नतिरेपछि मनोजले सोचेजति पैसा कमाउन सकेनन्। त्यसपछि उनले दुबई वा कतारमा वैदेशिक रोजगारीमा जाने निर्णय लिए। तर, म्यानपावरलाई ती देश जानका लागि दिनुपर्ने आवश्यक रकम उनले जुटाउन सकेनन्। त्यतिखेर उनलाई पचास हजार रुपैयाँ चाहिएको थियो जुन उनको बुताभन्दा धेरै परको विषय बनिसकेको थियो। त्यसैको झोकमा उनी गाँउकै एकजना दाइको सहयोगमा चेन्नई हानिएका थिए। कहिलेकाहीँ काम मिले पनि नेपालमा नियमित रोजगार हुन कठिन छ। यस्तो परिस्थितिमा उनीसँग चेन्नई फर्किनेबाहेक अरु विकल्प नरहेको निचोड उनले निकालेका छन्।
'श्रीमती, परिवार, आफन्त, छिमेकी र देशलाई नै बोझ भएर बस्नुभन्दा परदेशको बाटो नै ठीक हो। त्यसैले म छिट्टै भारत नै जान्छु,' मनोजले भने।

(यो स्टोरी फोटो सर्कलको सहयोगमा तयार पारिएको हो।)



ट्रेन्डिङ पोस्ट

Ncell