काठमाडौं : संवादहीनताकाको अवस्थामा रहेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका परराष्ट्र मन्त्रीहरुबीच अनौपचारिक छलफल भएको छ। अध्यक्ष राष्ट्रको हैसियत नेपालका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा भएको बैठकमा ८ देशका विदेश तथा परराष्ट्र मन्त्रीहरुको सहभागिता रहेको थियो।
२०१६ मा पाकिस्तानको इस्लामावादमा तय भएको १९ औं शिखर सम्मेलन स्थगित भएसँगै सार्क संवादहीनताको अवस्थामा छ। भारत पाकिस्तानबीचको तनावका कारण गतिहीन बनेको सार्कलाई गति दिन अध्यक्ष राष्ट्रको हैसियतले नेपालको पहल पुग्न सकिरहेको छैन।
यस्तोमा आयोजना गरिएको बैठकमा परराष्ट्र मन्त्री ज्ञवालीले सार्कलाई पुन:जीवित गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। बिहीवार आयोजित भर्चुअल बैठकमा मन्त्री ज्ञवालीले उदयमान चुनौतीहरुको समाजना गर्नका लागि क्षेत्रीय सहकार्यको महत्त्व रहेको भन्दै कोभिड-१९ पान्डेमिकको चुनौती विरुद्ध सामुहिक सहकार्य र प्रयास आवश्यक रहेको बताएका थिए।
'अहिलेको यो अवस्थामा सार्कलाई पुन:जिवित गर्दै नतिजामुखी ढंगले सार्कलाई दक्षिण एसियाका जनताको आशा र आकांक्षाको केन्द्र बनाउनुपर्ने आवश्यक छ,' मन्त्री ज्ञवालीले भने।
उनले सार्कको स्थगित १९ औं शिखर सम्मेलनलाई जतिसक्दो चाँडो सम्पन्न गरी सार्कलाई नयाँ गति दिँदै गतिशील बनाउनुपर्ने बताए। अनौपचारिक बैठकमा भारतीय विदेशमन्त्री एस जयसंकरले समृद्ध, सुरक्षित र अन्तरसम्बन्ध दक्षिण एसिया बनाउने सार्कको प्रतिवद्धता प्रति भारत दृढ रहेको बताएका थिए।
उनले सार्कका सदस्य राष्ट्रका समकक्षीहरुलाई आतंकवाद विरुद्ध लड्न आह्वान गरे। उनले आतंकवादलाई परास्त गर्न सबै प्रकारका सहयोग, तथा वातवरणहरुलाई परास्त गर्न आह्वान गरे। तर उनले सिखर सम्मेलनका विषयमा मौन नै रहे।
बैठकमा पाकिस्तानका विदेशमन्त्री मकधुम शाह महमुद कुरेसीले पाकिस्तान स्थगित सार्क शिखर सम्मेलन आयोजनाको लागि तयार रहेको बताएका थिए। 'क्षेत्रीयताको मर्मका आधारमा पाकिस्तान सर्कका सदस्य राष्ट्रका विदेमन्त्रीहरु माझ पाकिस्ताको १९ औं शिखर सम्मेलन इस्लामावादमा गर्ने चाहना ब्यक्त गर्दछु,' उनले भने।
विदेशमन्त्री कुरेसीले सार्कलाई गति दिनेका लागि अप्राकृतिक ढंगले खडा गरिएका बाधाहरुलाई हटाइने आशासमेत व्यक्त गरे। कोभिड-१९ महामारीका विरुद्ध लड्न सार्क सदस्य राष्ट्रहरु एक हुनुपर्ने भन्दै उनले पाकिस्तानले सफल रुपमा कोभिड-१९ लाई नियन्त्रणमा लिएको बताए। पाकिस्तानको अभ्यास अन्य सदस्य राष्ट्रहरुलाई साझेदार गर्न चाहेकोसमेत उनको भनाइ थियो।
सन् १९९७ देखि हरेक वर्ष संयुक्त राष्ट्र संघको महासभा साइडलाइनमा सार्क मन्त्रीस्तरीय अनौपचारिक बैठक बस्दै आएको छ। गत वर्ष न्यूयोर्कमा २०१९ को सेप्टेम्बर २६ मा अनौपचारिक बैठक भएको थियो। त्यसपछि सार्कका विदेशमन्त्रीहरु बीचको यो अर्को अनौपचारिक बैठक हो।
