काठमाडौं : १२ दिनदेखि आमरण अनशन थालेका प्राध्यापक डाक्टर गोविन्द केसीको अनशनलाई सरकारले बेवास्ता गरेको छ।
केसीको स्वास्थ्य अवस्था बिग्रँदो भए पनि सरकारले माग सुनुवाइ गर्न पहल नगरेको उनका सहयोगी डाक्टर प्रितम सुवेदीले बताए। उनले सरकारका कुनै पनि निकायले केसीबारे सोधखोज नगरेको जानकारी दिए।
'अहिलेसम्म कुनै पनि सरकारी नियकाले मागबारे चासो देखाएका छैनन्,' उनले भने। यसअघिका अनशनमा पनि सरकारले उनको स्वास्थ्य अवस्था नाजुक भएपछि मात्रै सहमति गर्दै आएको थियो। सहमति भए पनि त्यसको पलना चाहिँ कुनै पनि सरकारले गरेन।
सुवेदीका अनुसार केसी बोल्न नसक्ने अवस्थामा छन्। उनले सलाइन पानी बाहेकका उपचार गर्न नमानेको सुवेदीले जानकारी दिए।
'सरको अबस्था बिग्रदो छ। उहाँ गल्दै जानुभएको छ। बोल्नसक्ने अवस्था छैन,' उनले भने।
जुम्लाबाट १९ औं अनशन थालेका केसी नेपालगञ्ज हुँदै मंगलवार काठमाडौं आएका हुन्। काठमाडौं आएपछि केसीले आफू त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा जाने अडान राखेका थिए। तर, प्रहरीले उनलाई जबरजस्ती राष्ट्रिय ट्रमा सेन्टरमा पुर्याएको थियो। केसीले टिचिङमा नलगेसम्म कुनै पनि उपचार गर्न नदिने चेतावनी दिएपछि भने उनलाई त्यहाँ पुर्याइएको थियो।
जुम्लामा १८ औं अनशन थाल्दा प्रहरीले बल प्रयोग गरेको थियो। फेरि तिनै सरकारी अधिकारी पदमा रहेकाले बल प्रयोग हुनसक्ने भन्दै केसीले काठमाडौं आउने निर्णय गरेका बताएका थिए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि उनलाई राम्रो स्वास्थ्य सेवा भएको ठाउँमा लैजान सुझाएको थियो।
कोरोनाको रिपोर्ट आउँदै
जुम्लामा दुई हप्ता अघि अनशन थालेका केसीले अनशनमै पनि बिरामीलाई जाँच गरेका थिए। सोमवार हवाइजहाज मार्फत नेपालगञ्ज आएका उनी भेरी अस्पतालमा बसेका थिए। मंगलवार बुद्ध एअर हुँदै काठमाडौं आएका केसीको टिचिङ अस्पतालले बुधवार स्वाब संकलन गरेको छ। संक्रमणग्रस्त क्षेत्रबाट आएका मानिसमा संक्रमणको जोखिम हुने भएकाले उनको कोभिड-१९ परीक्षण गरिएको हो। हालसम्म कोभिड-१९ को रिपोर्ट भने आइसकेको छैन।
यस्ता छन् केसीका माग
केसीले यसपटकको अनशन ६ बुँदे मागसहित सुरु गरेका छन्। यसअघि १८ औं पटकसम्म आमरण अनशन बसेका उनले सरकारसँग विभिन्न सहमति गर्दै अनशन तोड्दै आएका थिए। यसपटक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययन कार्यक्रम सञ्चालन गर्नुपर्ने, २०७५ साउन १० को सहमति कार्यान्वयन गर्नुपर्ने, चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने, त्रिवि चिकित्साशास्त्रमा बरिष्ठता मिचेर भएको नियुक्ति सच्याउनुपर्ने, अछामको बयलपाटा अस्पतालको आर्थिक पाटो सबल बनाउनुपर्ने लगायतका माग राखेका छन्।
२०६९ असार २१ मा पहिलो अनशन थालेका केसीले गत वर्ष साउन १० मा सरकारी वार्ता टोलीसँग ९ बुँदे सहमति गर्दै अनशन तोडेका थिए।
