PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

हेलिकोप्टरबाट छाङरु पुगे गृहमन्त्री थापा, गुल्मको भवन शिलान्याश, तीन महिनाभित्र बनिसक्ने



पहिलोपोस्ट

हेलिकोप्टरबाट छाङरु पुगे गृहमन्त्री थापा, गुल्मको भवन शिलान्याश, तीन महिनाभित्र बनिसक्ने

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ दार्चुलाको छाङरु पुगेका छन्।

छाङरुमा स्थापना भएको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मको भवन शिलान्याशका लागि थापा आज बिहान दार्चुला गएका थिए। सदरमुकाम खलंगाबाट मन्त्री थापा हेलिकोप्टर चढेर दिउँसो छाङरु पुगेको उनका प्रेस सहयोगी किरण भट्टराईले जानकारी दिए।

टोलीमा दार्चुलाका सांसद गणेशसिंह ठगुन्ना, सशस्त्र प्रहरी प्रमुख आईजीपी शैलेन्द्र खनाल, गृह सचिव महेश्वर न्यौपाने, सुरक्षा सल्लाहकार इन्द्रजीत राईलगायत छन्।

छाङरुमा भवन शिलान्याश गर्ने कार्यक्रम छ। मन्त्रिपरिषदको असार २९ को निर्णयले सदरमुकाम खलंगामा रहेको गुल्मलाई छाङरुमा सार्ने निर्णय गरेको थियो। सरकारले पहिलोपटक छाङरुमा वैशाख अन्तिम साता बीओपी स्थापना गरेको थियो। इन्स्पेक्टरको कमाण्डमा २५ जना रहँदै आएकोमा अहिले छाङरुमा गुल्म स्थापना भएपछि डीएसपी धीरेन्द्र शाहको नेतृत्वमा टोली खटिएको छ। डीएसपीले कमाण्ड गर्ने गुल्ममा १६० जना प्रहरी रहनेछन्।

दुई साताअघि भवन निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ। १० करोड लागतमा छाङरुमा अत्याधुनिक भवन बन्न लागेको हो।

पहिलो चरणमा तीन महिनाभित्र निवास भवन बनिसक्ने र त्यसपछि विस्तारै संरचना थप्दै जाने प्रेस सहयोगी भट्टराईले जानकारी दिए। ‘चिसो मौसम अनुकुल भवन बन्नेछ। अब हिउँदमा प्रहरी तल झर्नुपर्ने अवस्था रहनेछैन,’ उनले भने।

सरकारले दार्चुला सदरमुकाममा भने गण स्थापना गरिसकेको छ। गणको नेतृत्व एसपी नरेन्द्र बमले गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell