PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विवेकशील दलले भन्यो : अनसनरत डा. केसीसँग सरकारले माफी माग्नुपर्छ



पहिलोपोस्ट

विवेकशील दलले भन्यो : अनसनरत डा. केसीसँग सरकारले माफी माग्नुपर्छ

काठमाडौं: विवेकशील नेपाली दलले सरकारले अनसनरत डा. गोविन्द केसीसँग माफी माग्नुपर्ने माग गरेको छ। दलले शुक्रवार विज्ञप्ति जारी गर्दै सरकारले केसीलाई गरेको व्यवहार सभ्य समाजमा अस्वीकार्य भएको बताएको छ।

'सभ्य समाजमा अस्वीकार्य ती व्यवहारको लागि सरकारले डा. केसीसमक्ष नि:शर्त माफी मागी अब आइन्दा नदोहोर्याउने प्रतिबद्धता जनाओस्,' विज्ञप्तिमा भनिएको छ।

सरकारले विगतमा केसीसँग गरेका सम्झौता पालना नगरेको भन्दै उक्त दलले सहमति पालनको पनि माग गरेको छ। डाक्टर केसीका मागहरुप्रति संवेदनशील र जिम्मेवारपूर्ण रूपमा प्रस्तुत हुन नसक्नु खेदपूर्ण भएको विवेकशीलको ठहर छ।

उनको जीवन रक्षाका लागि पनि सरकारले तुरुन्त कदम चाल्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। 

केसी १२ दिनदेखि आमरण अनशनमा छन्। १९ औं अनसन जुम्लाबाट सुरु गरेका केसी गत मंगलवार काठमाडौं आएका थिए।

त्रिवि शिक्षण अस्पतालमा केसी आमरण अनसनमा बसिरहेका छन्। उनलाई काठमाडौं आउँदा प्रहरीले जबरजस्ती ट्रमा सेन्टरमा पुर्‍याएको थियो। तर टचिङ नलिएसम्म स्वास्थ्य उपचार नलिने केसीको चेतावनीपछि भने उनलाई शिक्षण अस्पताल लगिएको थियो।

केसीले यसपटक ६ बुँदे मागसहित अनसन सुरु गरेका हुन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्ययन कार्यक्रम सञ्चालन गर्नुपर्ने, २०७५ साउन १० को सहमति कार्यान्वयन गर्नुपर्ने, चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने लगायतका मागलाई उनले १९ औं आमरण अनसनमा प्रथामिकताका साथ अघि सारेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell