PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु



फूलमाया पुरी

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु

विराटनगर : सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत थप दुई जनाको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए।

डा सापकोटाका अनुसार २ नम्बर प्रदेशको सप्तरी राजविराजका ७० वर्षीय पुरुषको बिहीवार राति ११ बजे मृत्यु भएको हो। गत भदौ २५ गते गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणबाट ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो।

सोही अस्पतालबाट रेफर भएका ती व्यक्तिमा ज्वरो खोकी श्वासप्रश्वासमा समस्या र निमोनियाको लक्षण देखिएको थियो। गत भदौ २८ गते राति ११:४९ मा विपी प्रतिष्ठानको कोभिड अस्पतालामा भर्ना भएका ती व्यक्तिमा कुनै पनि दीर्घ रोग थिएन।

त्यस्तै, प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत मोरङका संक्रमितको पनि मृत्यु भएको छ। मोरङको कानेपोखरी गाउँपालिका १ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको प्रवक्ता डा सापकोटाले जानकारी दिए। आन्द्राको क्यान्सर भएका र विगतमा जटिल शल्यक्रिया गराएका ती व्यक्तिमा शरीरको अन्य भागमा पनि क्यान्सर फैलिइसकेको थियो।

गत ५ गतेदेखि विपी प्रतिष्ठानमै उपचार गराइरहेका ती व्यक्तिमा बिहीवार कोरोना संक्रमण पुष्टि भएको थियो। सोही दिन साँझ उनलाई कोभिड अस्पतालमा सारिएको थियो। बिहिवार नै साँझ ८:३० बजे ती व्यक्तिको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

कोरोना संक्रमणबाट मृत्यु भएका दुवैको नियम अनुसार शव व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell