PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

हिमालयलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ अनुमतिले नेवानिको आम्दानीमा प्रभाव, इयुले प्रश्न उठाउने जोखिम



वसन्तराज उप्रेती

हिमालयलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ अनुमतिले नेवानिको आम्दानीमा प्रभाव, इयुले प्रश्न उठाउने जोखिम

काठमाडौं: निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ सञ्चालन अनुमतिले नेपाल वायुसेवा निगमको आमदानीमा प्रभाव पर्ने भएको छ।

सानो क्षेत्रफलमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङसँग सम्बन्धित पूर्वाधार उपकरण नै धेरै भएपछि झन् साँघुरो हुँदै जाने अवस्था सिर्जना भएको विमानस्थलका एक कर्मचारीले बताए। ‘विमानस्थल सानो छ। आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीको टो भेहिकल, कार्गो ट्रली, र्याम्पबस लगायत उपकरणले विमानस्थल परिसर साँघुरो देखिएको छ। यसैगरी क्षमता हेर्दे धमाधम सेल्फ ग्राउण्ड ह्याण्डलिङको अनुमति दिइँदै जाने हो भने भरे युरोपियन युनियन, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन लगायत निरीक्षणमा आउँदा प्रश्न नउठ्ला भन्न सकिन्न,’ उनले भने।

ग्राउण्ड ह्याण्डलिङ सेवा वापत वार्षिक साढे चार अर्ब रुपैयाँसम्म आमदानी गरेको नेपाल वायुसेवा निगमले आउँदा दिनमा आफूसँगै नागरिक उड्डयन प्राधिकरणको आम्दानी पनि घट्ने जनाएको छ। ‘हामीले ग्राउण्ड ह्याण्डलिङबाट भएको वार्षिक आम्दानीको १५ प्रतिशत (साढे ६७ करोड रुपैयाँ) नागरिक उड्डयन प्राधिकरणलाई बुझाउँदै आएका थियौँ। अब हाम्रो आम्दानीसँगै प्राधिकरणको आम्दानीमा पनि गिरावट आउने देखिएको छ,’ निगम संचालक समितिका एक सदस्यले भने।

पारदर्शी रुपमा राष्ट्रिय ध्वजा बाहकले दिँदै आएको ग्राउण्ड ह्याण्डलिङ सेवा निजी वायुसेवा कम्पनीबाट उही रुपमा हुने सम्भावना कम रहेको बताउँदै उनले भने,’हिमालयलाई यसरी अनुमति दिइएको कुरामा प्राधिकरणकै केही कर्मचारी असन्तुष्ट छन्। होला हामी सेवामा शतप्रतिशत कायम गर्न चुक्यौँ होला, तर सुरक्षाको दृष्टिकोणले हामी पारदर्शी थियौँ र छौँ पनि,’ उनले भने।

विश्वबजारमा केही मुलुकमा निजी वायुसेवा कम्पनीलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङको अनुमति दिइँदै आए पनि प्राय मुलुकमा ग्राउण्ड ह्याण्डलिङ सेवा प्रवाहका लागि राष्ट्रिय ध्वजा बाहककै अधिकार हुने उनले बताए।

हिमालयले आवेदन दिएको तीन वर्षपछि ग्राउण्ड ह्याण्डलिङ संचालन अनुमति पाएको जनाएको छ। तीन वर्षदेखि सेल्फ ग्राउउण्ड ह्याण्डलिङको प्रयास गरेको कम्पनीले पछिल्लो समय गत वर्ष चैत ७ गते नागरिक उड्डयन प्राधिकरणलाई आवेदन दिएको थियो।

कम्पनीको क्षमतालाई मध्यनजर गर्दै प्राधिकरणको ग्राउण्ड ह्याण्डलिङ निर्देशिका २०७२ को परिच्छेद २ को दफा ४ अनुसार अनुमति दिइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललमा सातामा ३५ वटा भन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्न गर्न अनुमति पाएका कम्पनीलाई यस्तो सुविधा दिने व्यवस्था रहेको छ,’ प्राधिकरणका एक उच्च पदाधिकारीले भने।

नेपालमै दर्ता गरिएको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी भएका कारण हिमालयलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङको अनुमति दिइएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए। ‘अहिले थाइ एयरवेज र एयर इण्डियाले सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा सुचारु गर्दै आएका छन्। अब हिमालय पनि थपिएको छ। नेपालमा दर्ता भएका वायुसेवा कम्पनी बाहेक विदेशी दर्ता भएका वायुसेवा कम्पनीलाई आगामी दिनमा यो सेवा अनुमति दिइने छैन,’ प्रवक्ता क्षेत्रीले भने।

व्यवसायीक ग्राउण्ड ह्याण्डलिङ गर्दै आएको नेपाल वायुसेवा निगम बाहेक हाल विमानस्थलमा एयर इण्डिया र थाइ एयरवेजले सेल्फ ग्राउण्ड ह्याण्डलिङ गर्दै आएका छन्। हिमालय थपिएपछि अब सेल्फ ग्राउण्ड ह्याण्डलिङ गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको संख्या तीन पुगेको छ।

यस अघि यात्रु बोर्डिङ, चेकइन, ब्यागेज, कार्गो लगायत ग्राउण्ड ह्याण्डलिङ सेवा नेपाल वायुसेवा निगमबाट लिँदै आएको कम्पनीले अब आफै यी सेवा प्रवाह गर्नेछ।

यात्रु सेवा विस्तार गर्ने उद्धेश्यले ग्राउण्ड ह्याण्डलिङ सेवा सुचारु गरिएको हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए। ‘होम ग्राउण्डमा रहेका वायुसेवा कम्पनी आफ्नै ग्राउण्ड ह्याण्डलिङ सेवा सुचारु गर्नु अन्तर्राष्ट्रिय चलन हो। यसअघि पनि सन् २००८ मा फ्लाइ यतिले आफैँ ग्राउण्ड ह्यण्डलिङ सेवा दिँदै आएको थियो,’ उनले भने।

कम्पनीको एयरबस ३२०-२१४, एयरबस ३१९-११५ सिरीजका चारवटा न्यारोबडी जहाजमार्फत साताको ५० वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने क्षमता रहेको उनले बताए। ‘हाम्रो मुख्य उद्देश्य भनेको यात्रु सेवा हो। आउजाउ गर्ने यात्रुलाई कम्पनी आफैंले बोर्डिङ, ब्यागेज, कार्गो, चेक इन लगायतको सेवा दिन लागेका छौँ। प्राधिकरणबाट अनुमति पाइसकेका छौँ। यथासक्य छिट्टै सेवा संचालनमा ल्याउनेछौँ,’ उनले भने।

पाँच वर्षअघि स्थापना भएको कम्पनीमा हाल चीनको तिब्बत सिभिल एभिएसन डेभलपमेन्ट एण्ड इन्भेस्टमेन्ट र नेपालका तर्फबाट यति वर्ल्डको स्वामित्व रहेको छ।

कम्पनीले हाल तीनवटा एयरबस ३२०-२१४ र एउटा एयरबस ३१९-११५ जहाजजमार्फत अबुधावी, ढाका, दोहा, बेइजिङ, क्वालालम्पुर, चोङकिङ लगायत विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित र चार्टर उडान गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell