PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

लुकीछिपी भारत गएर फर्कनेलाई मोरङ प्रशासनले १४ दिन क्वारेन्टाइनमा राख्ने, इस्लामपुरमा मच्चियो भागदौड



अनन्तराज न्यौपाने

लुकीछिपी भारत गएर फर्कनेलाई मोरङ प्रशासनले १४ दिन क्वारेन्टाइनमा राख्ने, इस्लामपुरमा मच्चियो भागदौड

विराटनगर : कोरोना महामारीको संक्रमणलाई नियन्त्रण गर्न सरकारले नेपाल-भारत सीमा सिल गरे पनि चोरबाटोबाट किनमेल गर्न पारि जानेको संख्या घटेको छैन। चाडबाड नजिकिएसँगै पूर्वी तराईका भारतसँग सीमा जोडिएका गाउँ-बस्तीका बासिन्दा पारिको बजार जान थालेका छन्।

सरकारले प्रदेश १ मा मोरङको जोगबनी, सुनसरीको भन्टावरी, झापाको काँकडभिट्टा र इलामको पशुपतिनगर नाकाबाट मात्र भारत आउजाउ गर्न अनुमति दिएको छ। यी चारबाहेक अन्य नाकाबाट आवागमनमा पूर्णतः रोक लगाइएको छ। यी नाकाबाट आउजाउ गर्न पनि स्थानीय तहको सिफारिस र स्थानीय प्रशासनको अनुमति चाहिन्छ।

यसैबीच, चोर बाटो प्रयोग गरेर भारतीय बजारमा गई किनमेल गरेर नेपाल फर्कनेलाई मोरङ प्रशासनले १४ दिन क्वारेन्टाइनमा राख्ने भएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले लुकीछिपी भारत गएर फर्कनेलाई प्रशासनले पक्राउ गरेर १४ दिनको क्वारेन्टाइनमा राख्ने जानकारी दिए।

विराटनगर रानीको सीमा जोडिएको इस्लामपुर बस्तीसित जोडिएको ढाटबाट लुकीछिपी भारत गएर किनमेल गरेर फर्किएकालाई पक्राउ गर्न बिहीवार सशस्त्र प्रहरीले सीमा स्थलमा गाडी खडा गरेपछि भागाभाग मच्चिएको थियो। प्रत्यक्षदर्शीका अनुसार प्रहरीको गाडी देखेर कतिपय भारततर्फ नै भागे भने कतिपय मालसामान बाटामै फालेर दौडिए। यसरी भाग्नेहरू एक घण्टा हिँडेर अर्को चोर बाटो पक्रिएर घर आइपुगे।

इस्लामपुरको बाटो भएर मात्र नेपालका महिला र पुरुष दैनिक ५ सयभन्दा बढीको संख्यामा जोगबनी बजार जाने गरेको स्थानीय अहमद खानले बताए। भारतसँग सीमा जोडिएको मोरङको ६३ किलोमिटर क्षेत्रमा साना-ठूला ३६ वटा नाका छन्। चाडपर्वको आगमनसँगै दैनिक उपभोग्य सामान खरिद गर्न भारतको सीमावर्ती बजार जाने नेपाली उपभोक्ताको परम्परा रहँदै आएको छ।

प्रजिअ निरौलाले सीमा नाका पूर्णतः बन्द गरिएका अवस्थामा कोही पनि नेपाली नागरिक अनाधिकृत रूपमा भारततर्फ जान्छ भने उसलाई प्रहरीले पक्रने चेतावनी दिए। यस्ता नागरिकलाई २ साता क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षण नेगेटिभ आएपछि मात्र छाडिने उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell