PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

गृहमन्त्री थापाद्वारा कालापानी क्षेत्रको निरीक्षण, आज छाङरुमै बास बस्ने



कमलराज भट्ट

गृहमन्त्री थापाद्वारा कालापानी क्षेत्रको निरीक्षण, आज छाङरुमै बास बस्ने

काठमाडौं: गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्रको अवलोकन गरेका छन्। छाङरुको गागामा स्थापना भएको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मको भवन शिलान्यासका लागि शुक्रवार दिउँसो त्यहाँ पुगेका मन्त्री थापाले सो क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन्।

छाङरुमा गुल्म स्थापनासँगै एक साताअघि डीएसपी धिरेन्द्र शाहको कमाण्डमा टोली खटिइसकेको छ। गुल्ममा १६० जना रहनेछन्। यसअघि बीओपीमा इन्सपेक्टरको कमाण्डमा २५ जना थिए। बीओपीलाई कालापानीको फेदमा रहेको माथिल्लो कौवामा सार्ने निर्णय भइसकेको छ। बीओपी स्थापनाका लागि जग्गा पनि निश्चित भइसकेको छ। 

मन्त्री थापाले कालापानी क्षेत्रमा नेपालको स्वामित्वमा रहेको छाङरुको गागा र सीतापुलको निरीक्षण गरेका हुन्। त्यसैगरी चीनसँग जोडिएको तिंकरको वस्तुस्थितिबारे पनि उनले जानकारी लिएका छन्। साथै भारतीय सुरक्षाकर्मी बसेको कालापानी र गर्ब्याङ गाउँबारे पनि स्थानीय सुरक्षा अधिकारीबाट जानकारी लिएका छन्। थापाले भोलि विहान तिंकर र कालापानी क्षेत्रमा हवाई निरीक्षण गर्ने कार्यक्रम रहेको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन्।

नेपाली सेनाको हेलिकोप्टरमार्फत छाङरु पुगेका गृहमन्त्री थापाको टोली आज छाङरुमै बास बस्ने दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए। गृहमन्त्रीको टोली शनिवार निरीक्षण गरेर व्यासबाट फर्किने कार्यतालिका छ। गृहमन्त्रीको टोलीमा दार्चुलाका सांसद गणेशसिंह ठगुन्ना, सशस्त्र प्रहरी प्रमुख आईजीपी शैलेन्द्र खनाल, गृह सचिव महेश्वर न्यौपाने, सुरक्षा सल्लाहकार इन्द्रजीत राईलगायत छन्।

दुई महिनामा केही कोठा तयार गरिने

गृहमन्त्री थापाले  शुक्रवार शिलान्यास गरेको भवन निर्माणमध्ये केही कोठा दुई महिनाभित्रै तयार गरिसक्ने योजना छ। हिउँदको सिजनमा सशस्त्र प्रहरीको टोली बस्ने निवास तत्कालै तयार हुने सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ। सशस्त्र प्रहरीको प्राविधिक टोलीमा रहेका डीएसपी मिलनराज मास्के र सई चन्द्रवहादुर रोकाया फिल्डमा खटिनेछन्।

गुल्म भवन ११ करोडको लागतमा निर्माण गरिन लागेको हो। ललितपुर उपमहानगरपालिका वडा नम्बर ४ इमाडोलको सिएबी ग्वाल्लेक नाती जेभी निर्माण कम्पनीले भवन निर्माणको ठेक्का पाएको छ। भ्याटबाहेक ८ करोड ८६ लाख २४ हजार ३ सय ४ रुपैयाँ १४ पैसाको लागत भवन निर्माणको ठेक्का सम्झौता गरिएको छ।

एक वर्षभित्र भवन निर्माण गरिसक्ने गरी ठेक्का सम्झौता भएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी राजु अर्यालले बताए। जेठ ८ गते भवन निर्माणको टेण्डर निकालिएकोमा भदौ अन्तिम साता मात्रै ठेक्का सम्झौता गरिएको हो।

के के संरचना बनाइँदैछ?

ठेक्का प्रक्रियाबाट निर्माण गरिने भवन हिमपातका समयमा समेत बस्नलायक बनाइने छ। ढुंगा, माटो र काठबाट भवनको छतमा कर्कटपाता राखिनेछ।

ब्यारेक भवन सहितको ५ रोपनी क्षेत्रफलको जमिनमा तीन दर्जन कोठा निर्माण गरिने गरिने सशस्त्र प्रहरीका प्रवक्ता अर्यालले बताए। हाल तीन तलाको ब्यारेक भवन निर्माणको योजना छ। गुल्म परिसरमा शौचालय, ब्यारेक भवन, कार्यालय भवन र प्रवेशवद्धार पनि बनाइने छ। भवन निर्माणको डिजाइनअनुसार ढुंगाको काम ११ सय ८ क्युविक मिटर, सिजिआइ छत ७ सय ७० वर्ग मिटर र १९ सय ८ वर्गमिटर काठको काम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell