PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

८७७ जनाको परीक्षण गर्दा सुदूरपश्चिममा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि



एम बम

८७७ जनाको परीक्षण गर्दा सुदूरपश्चिममा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि

कैलाली : सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ८ सय ७७ जनाको कोरोना परीक्षण गर्दा ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेशका पाँच वटा प्रयोगशालामा गरिएको परीक्षणमा ५८ जनामा संक्रमण पुष्टि भएको हो।

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सात जनामा संक्रमण पुष्टि भएको छ। तीन सय २७ जनाको कोरोना परीक्षण गर्दा कैलालीको धनगढी उपमहानगरपालिकाका तीन जना, गोदावरी र टीकापुरका एक/एक जना गरी कैलालीका ५ जनामा कोरोना पुष्टि भएको हो।

यस्तै, सेती प्रादेशिक अस्पतालको प्रयोगशालामै गरिएको परीक्षणमा कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ९ का एक जना र दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ का एक जनामा कोरोना पोजिटिभ देखिएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए।

उता जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ४८ जनाको परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको छ। प्रयोगशाला इन्चार्ज सौरभ श्रेष्ठका अनुसार डोटीको आदर्श गाउँपालिकाका दुई जना, अछामको बान्नीगढीका २० र चौरपाटीका ४ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९१ जनाको कोरोना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको छ। बझाङमा गरिएको परीक्षणमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बझाङका १९ जनामा संक्रमण पुष्टि भएको हो। प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ६२ जनाको कोरोना परीक्षण गरिएको अस्पतालले जनाएको छ।

यता डडेल्धुरा अस्पतालको प्रयोगशालामा १८ जनाको कोरोना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या सात हजार ८८ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell