काठमाडौँ : ठिक ८ महिनाअघि अर्थात् माघ ९ गते नेपालमा पहिलो कोभिड-१९ संक्रमितको पहिचान भयो। चीनबाट नेपाल फर्किएका एक युवामा कोरोना भाइरसको संक्रमण देखिएको थियो। त्यसबेला चीनमा भाइरसले महामारीको रुप लिन सुरु गरिसकेको थियो।
चीनबाट फैलिएर भाइरसले विश्वका केही देशहरुमा समेत प्रभाव देखाउन थालिसकेको थियो। नेपालमा भने त्यसबेला भाइरसको प्रभावलाई खासै महत्व दिइएन। पहिलो केस देख्ने बित्तिकै सरकारमाथि हवाई र सीमाबाट आउने यात्रुहरुमा कडाई र प्रतिबन्ध लगाउनुपर्ने माग उठिरहेको थियो। तर, सरकारले कुनै चासो दिएन।
दक्षिण एसियाली राष्ट्रहरुमा नेपालमा पहिलोपटक संक्रमित देखिएको थियो। तर ती संक्रमित बिना कुनै जटिलताबीच अस्पतालबाट केही सातामा नै डिस्चार्ज भए।
पहिलो केस देखिएको दुई महिनापछि नेपालमा कोरोना भाइरसको दोस्रो केस देखियो। फ्रान्सबाट फर्किएकी युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। त्यसलगतै सरकारले देशभर लकडाउन गर्ने निर्णय गर्यो।
करिब चार महिना गरिएको लकडाउनमा संक्रमण दर रोकिएन। संक्रमितको संख्यामा वृद्धि हुँदै गयो। कोभिड १९ बाट मृत्यु हुने पनि बढे। यसबीच सरकारले लकडाउन अन्त्य गर्यो। कुनै तयारी र स्वास्थ्य सावधानीबिना लकडाउन अन्त्य गर्नुको परिणाम केही दिनमा नै देखियो। देशभर संक्रमितको संख्यासँगै मृतकको संख्या समेत बढ्यो। मृतकको संख्याले पनि गति लियो।
लकडाउनबीच संक्रमितहरुमा कोरोनाको लक्षण नदेखिए पनि लकडाउन अन्त्यपछि पहिचान भएका अधिकांश संक्रमितहरुमा कोरोनाका लक्षण देखियो। मृतकहरुमा समेत कोरोनाको लक्षण देखियो। जसले अवस्थालाई थप भयावह बनायो।
लकडाउन अन्त्य हुने बित्तिकै काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्यामा ह्वात्तै वृद्धि भयो। अन्य जिल्लाहरुमा समेत संक्रमण बढ्दै गयो। त्यसपछि अवस्थालाई मूल्यांकन गर्दै उपत्यकासहित विभिन्न जिल्लाहरुमा निषेधाज्ञा लगाइयो। केही हप्ताको निषेधाज्ञापछि लकडाउनमा झै बिना कुनै तयारी र मापदण्ड निषेधाज्ञा ‘खुकुलो’ बनाइयो। बजारमा भीड बढ्दो छ। न कुनै सावधानी न प्रशासनको खबरदारी। संक्रमित र मृतकको संख्या भने बढ्दै गएको छ।
आज असोज ९ गते पहिलो कोरोना संक्रमित फेला परेको ८ महिना पूरा भएको छ। आजसम्म देशभर ७० हजार ६१४ जनामा संक्रमण पुष्टि भइसकेको छ। यस्तै, ४५९ जनाको मृत्यु भइसकेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार कूल संक्रमितमध्ये ५१ हजार ८६६ जना संक्रमित संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्। कोरोनाको पछिल्लो तथ्याकं हेर्ने हो भने काठमाडौं उपत्यका कोरोनाको ‘हटस्पट’ कै रुपमा रहेको छ। दिनहुँ सयौँ संक्रमित पहिचान भएका छन्। समुदायमा नै संक्रमणको जालो देखिएको अवस्थामा सयौँ संक्रमित सरोकारवाला निकायको सम्पर्कमा छैनन्।
संक्रमित सम्पर्कमा नआउँदा उनीहरु खुला रुपमा हिँडिरहेका छन् र संक्रमणको जोखिम बढ्दो छ। त्यसमाथि संक्रमित राख्न न आइसोलेसनको व्यवस्था छ न त अन्य स्वास्थ्य पूर्वाधारको विकास नै गर्न सकिएको छ। संक्रमितको संख्या यही गतिमा बढ्दै गए अस्पतालले थाम्न नसक्ने अवस्थामा पुग्ने सरोकारवाला निकायहरुले बताएका छन्।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस संक्रमित व्यक्तिको पहिचान गर्न र त्यसलाई नियन्त्रण गर्न पहिलादेखि नै पीसीआर परीक्षणलाई बढाउन भन्दै आएको छ। ‘टेस्ट, टेस्ट र टेस्ट’ भन्दै आएको डब्लुएचओको गाइलाइन्स अझै हामीले पालना गर्न सकेका छैनौँ। बीचमा करिब १३ हजार पुगेको परीक्षण संख्या हाल घट्दै गएको छ। परीक्षण बढ्नुपर्नेमा कुनै प्रगति हुन सकेको छैन।
स्थानीय तहले अहिले संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङमा बढी ध्यान दिइरहेको छ। तर परीक्षण र जनशक्तिको अभावमा उक्त कार्य सोचे अनुरुप हुन सकेको छैन।
सरकार भने अझै ‘र्यापिड ट्रेसिङ र टेस्टिङ’ गर्न चुक्दै छ। सरकारले सबैलाई आइसोलेसनमा राख्न सकिन्न भन्दै संक्रमितहरुलाई होम आइसोलेसनमा नै बस्न आग्रह गरेको छ। यसबीच कयौँ संक्रमित आनन्दले खुला रुपमा हिँडिरहेका छन्। यसको निरीक्षण गर्न सरकार चुकेको छ।
काठमाडौँमा प्रशासनले निषेध गरेका व्यवसाय समेत खुलेका छन्। कुनै अनुगमन छैन। उपत्यका बाहिरको जिल्लाको अवस्था पनि त्यस्तै छ।
चाडबाड आउँदैछ। आउने दिनमा बजारमा भीड बढ्ने निश्चित छ। अहिले नै बजार अनियन्त्रित हुँदा दशैँ तिहारको समयमा संक्रमणको ग्राफ बढ्न सक्ने भन्दै जनस्वास्थ्यविद्हरुले बताउँदै आएका छन्।
उक्त समयमा काठमाडौँमा मात्र होइन देशभर संक्रमणको अवस्था बढ्न सक्ने सम्भावना प्रबल रहन्छ। त्यसैले अहिलेदेखि नै जनस्वास्थ्यको ख्याल गरी स्वास्थ्य मापदण्ड पालना गराउन प्रशासन अघि बढ्नुपर्छ। प्रशासनले बन्दलाई मात्र विकल्पका रुपमा लिँदा अवस्था थप जटिल बनेको हो। फेरि बन्द त हुने होइन भन्ने पीर त छँदैछ रोजगार गुमाएकाप्रति सरकारले कुनै चासो देखाएको छैन। जनता पनि विवश छन्। महिनौँको घाटा उठाउन तल्लीन छन्। अटेर गर्नै बजारको भीडमा मिसिँदैछन्।
देशलाई ‘कोरोना फ्रि’ र ‘कोभिड जिरो डेथ’ राष्ट्र बनाउन त सकिएन। तर आउने दिनमा थप संक्रमण भने रोक्न सकिन्छ। त्यसका लागि सबैले आ-आफ्नो क्षेत्रबाट सतर्कता अपनाउनुपर्छ।