PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

वाइफाइदेखि किताव पढ्ने सुविधासहित आइसोलेसनलाई 'रिडिफाइन' गर्दै भक्तपुर



सहयोग रञ्जित

वाइफाइदेखि किताव पढ्ने सुविधासहित आइसोलेसनलाई 'रिडिफाइन' गर्दै भक्तपुर

काठमाडौं : हरेकका लागि अलग अलग पानी तताउने इलेक्ट्रिक जग, निःशुल्क वाइफाइ, मोबाइल चार्जको लागि छुटाछुटै एक्सटेन्सन वायर, म्युजिक सिस्टम र प्रत्येक तल्लामा पढ्नको लागि किताब अनि पत्रपत्रिका सहितको र्‍याक।

सुविधाको यो सूचीले आइसोलेसन वार्ड भन्ने पक्कै संकेत गर्दैन। क्वारेन्टाइन र आइसोलेसन वार्डका नाममा कोभिड १९ संक्रमितलाई राखिएका छरपस्ट तस्बिर देखेका जो कसैका लागि पनि यो अविश्वसनीय ‘चिज’ हो। तर, होइन। भक्तपुर नगरपालिकाले आजबाट संचालनमा ल्याउने आइसोलेसन वार्डमा यी सबै सुविधा छ। त्यसबाहेक अरुखाले पनि सुविधा उपलब्ध गराइएको छ जसले आइसोलेसन वार्डको परिभाषा बदल्न सक्छ।

+++

पछिल्लो केही समयदेखि काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ। शनिवारसम्म उपत्यकामा करिब २० हजारमा कोभिड १९ संक्रमण पुष्टि भइसकेको छ। काठमाडौं उपत्यकामा १९ हजार ९७४ जनामा संक्रमण पुष्टि हुँदा काठमाडौंमा मात्रै १६ हजार २६७ जना संक्रमित पहिचान भएका छन्। त्यसपछि ललितपुरमा १ हजार ९१७ जना र भक्तपुरमा १ हजार ७९० जनामा संक्रमण देखिएको छ। भदौयता उपत्यकामा दिनहुँ सयौं संख्यामा कोरोना संक्रमित थपिँदै गएका छन्।

एकातिर कोरोना संक्रमित थपिँदै छन्। अर्कातिर संक्रमितहरुलाई राख्ने आइसोलेसन केन्द्रको अभाव छ। ढिलै गरी केन्द्र सरकारले आइसोलेसन सेन्टर बनाउने भने पनि त्यसले गति लिन सकेको छैन। हजारौं संक्रमित हाल ‘होम आइसोलेसन’ मा बस्न बाध्य छन्। काठमाडौं महानगरले पनि ५ हजार अट्ने आइसोलेसन बनाउने भनेको छ तर कामले गति लिन सकेको छैन। केन्द्र सरकारले हात झिकेपछि हाल स्थानीय तह आफ्नै स्रोतमा आइसोलेसन बनाउन लागिपरेको छ। उपत्यकामा संक्रमितको संख्या बढे पनि अधिकांश स्थानीय तहहरुले अझै ‘पख र हेर’ को रणनीतिमा नै छन्।

यता भक्तपुर नगरपालिकाले भने कोरोना भाइरस संक्रमितको उपचारको लागि आइसोलेसन केन्द्र आजबाट संचालनमा ल्याउँदैछ। भक्तपुरको ब्रम्हायणीस्थित बहुउद्देश्यीय भवनमा बनाइएको ७५ शैय्याको आइसोलेसन केन्द्र आजबाट संचालनमा आउँदैछ।

संचालनमा ल्याउनुअघि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे लगायत अन्य अधिकारीहरुले शुक्रवार आइसोलेसन केन्द्रको निरीक्षण गरेका थिए।

भक्तपुर नगरपालिकामा कोरोना संक्रमितहरुको संख्या बढेसँगै आइसोलेसन केन्द्र संचालनमा ल्याउने तयारी गरिएको हो। यसअघि भक्तपुरका संक्रमितहरुलाई खरिपाटीस्थित विद्युत तालिम केन्द्र र भक्तपुर अस्पतालमा राखिँदै आएको थियो। तर त्यहाँ स्थान र सुविधाको अभाव हुँदा आवश्यक संक्रमितलाई राख्न सकिएको थिएन। त्यसैले नगरपालिकाले नगरमा आफ्नै छुट्टै आइसोलेसन केन्द्रको आवश्यकता महसुस गरी बहुउद्देश्यीय भवनलाई आइसोलेसन केन्द्रमा रुपान्तरण गरेको हो।

भक्तपुर नगरमा कोरोना संक्रमण समुदायस्तरमा फैलिएको र नगर क्षेत्रभित्र सबैलाई होम आइसोलेसनमा बस्ने अवस्था नरहेपछि जनतालाई सहज सेवा उपलब्ध गराउन छुटै आइसोलेसन केन्द्रको निर्माण गरेको नगरपालिकाले जनाएको छ।

+++

भक्तपुर नगरपालिका क्षेत्रभित्र अधिकांश घर पुराना छन्। कोरोना संक्रमण समुदायस्तरमा नै देखिसकेपछि पुराना र खुल्ला स्थानको अभावमा संक्रमितहरु घर बस्दा संक्रमण थप फैलिने सम्भावना हुन्छ। त्यसलाई मध्यनजर गर्दै नगरभित्र होम आइसोलेसनमा बस्न नसक्ने संक्रमितहरुलाई लक्षित गरी आइसोलेसन केन्द्रको निर्माण गरिएको हो।

भक्तपुरमा अहिले घरमा आइसोलेसनमा बसेकाहरुको परिवारमै संक्रमण देखिएको हुँदा ‘होम आइसोलेसन’ व्यवहारिक नभएको ठहर गर्दै नगरपालिकाले छुटै आइसोलेसनको व्यवस्था गरेको जनाइएको छ।

नेपाल सरकारको मापदण्डअनुरुप निर्माण गरिएको आइसोलेनले नगरवासीलाई सहयोग हुने अपेक्षा नगरपालिकाले राखेको छ।

आइसोलेसन केन्द्रको चार तल्लालाई चार भागमा विभाजित गरिएको छ।

माथिल्लो तल्लामा महिलामात्रै बस्ने व्यवस्था गरिएको छ। दोस्रो तल्लामा पुरुष र पहिलो तल्लामा जोखिम वर्गमा परेकाहरु (ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती) बस्ने व्यवस्था गरिएको छ।

भुइँ तल्लामा भने प्रशासनिक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बस्ने कक्ष रहेको नगरपालिकाले जनाएको छ। उक्त आइसोलेसन केन्द्रमा नगरपालिकाले आवश्यक जनशक्ति परिचालन तथा व्यवस्थापन पनि गरेको छ।

आइसोलेसनमा बस्ने संक्रमितहरुले प्रयोग गर्ने लुगाबाहेक अन्य सबै सुविधा नगरपालिकाले व्यवस्था गर्ने जनाइएको छ। नगरपालिका अनुसार प्रत्येक संक्रमितहरुको लागि अलगअलग पानी तताउने इलेक्ट्रिक जग, निःशुल्क वाइफाइ, मोबाइल चार्जको लागि छुटाछुटै एक्सटेन्सन वायर, म्युजिक सिस्टम र प्रत्येक तल्लामा पढ्नको लागि किताब, पत्रपत्रिकासहितको र्‍याकको व्यवस्था गरिएको छ। आइसोलेसन केन्द्रमा बस्दा हुने एक्लोपन, मनोवैज्ञानिक असर, तनाव कम गर्न यसले सहयोग गर्ने अपेक्षा गरिएको छ।

आइसोलेसन केन्द्रमा प्रत्येक दिन ३ जना नर्स नियमित ड्युटीमा हुनेछन्। प्रत्येक दिन बिहान र बेलुकी गरी दुई सिफ्टमा एक-एकजना डाक्टर नियमित ड्युटीमा हुनेछन्। यसका साथै आइसोलेसन केन्द्रमा प्रशासनिक, सरसफाइ र स्वास्थ्यकर्मी गरी १० जना कर्मचारीहरु व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।

संक्रमितहरुलाई सूचना प्रवाह गर्नका लागि माइकिङ र अलग अलग फोनको व्यवस्था आइसोलेसन केन्द्रमा गरिएको छ। साथै संक्रमितहरुको लागि छुटै थर्मोमिटर, पल्स अक्सिमिटर र पीपीई सेटको व्यवस्था गरिएको छ। नगरपालिकाले आइसोलसनमा बस्ने संक्रमितहरुलाई दैनिक चारपटक गरी खाना र खाजा खुवाउने प्रवन्ध मिलाएको समेत जनाएको छ। साथै संक्रमितहरुलाई आवश्यक भएमा अक्सिजनको समेत व्यवस्थापन हुने गरी तयारी गरिएको छ।

हाललाई कोरोना संक्रमण पुष्टि भएका तर लक्षण नदेखिएका वा सामान्य लक्षण देखिएकाहरु जो होम आइसोलेसनमा बस्न सक्दैनन् उनीहरुलाई यस आइसोलेसन केन्द्रमा राख्ने व्यवस्था गरिएको छ। नगरपालिकाले आवश्यक परे आउने दिनमा थप आइसोलेसन केन्द्र बनाउने योजना समेत बनाएको छ।

आइसोलेनमा बस्दाबस्दै संक्रमितको स्वास्थ्य अवस्था बिग्रिएमा वा केही अप्ठेरो भएको खण्डमा चिकित्सकको सल्लाह बमोजिम नगरपालिकाको डेडिकेटेड एम्बुलेन्समार्फत भक्तपुर अस्पतालमा उपचारको निम्ति पठाउने व्यवस्था गरेको छ। त्यसका लागि आइसोलेसन केन्द्रमा अलग्गै एम्बुलेन्सको पनि व्यवस्था गरिएको छ।

नगरपालिकाले अग्रपंक्तिमा बसेर संक्रमितको उपचार र रेखदेखमा संलग्न हुनेहरुको सुरक्षाको व्यवस्थाका लागि समेत प्रवन्ध गरेको जनाएको छ। आइसोलेसन केन्द्रमा कार्यरत कर्मचारी र स्वास्थ्यकर्मीहरुको ड्युटी एकहप्ताको हुनेछ। हप्तादिनको ड्युटीपछि उनीहरुलाई एक हप्ताको लागि छुट्टै क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको छ। त्यहाँ उनीहरुको कोरोना परीक्षण गरिनेछ। रिपोर्ट नेगेटिभ आएकाहरुलाई फेरि ड्युटीमा जाने व्यवस्था मिलाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell