
'राजेन्द्रले मेरो कानको मुन्द्रा मागिरहेको छ।'
केही समयदेखि १२ वर्षीया सम्झनाले आफ्ना हजुरबालाई बताइरहेकी थिइन्। तर, सम्झनाका हजुरबाले त्यतिखेर खासै चासो दिएनन्। ‘म कुरा गरौंला न’ भन्दै पन्छाइरहे। राजेन्द्र अर्थात् सम्झानाको घर नजिकैका १८ वर्षीय छिमेकी राजेन्द बोहोरा। नाताले छिमेकी दाजु।
सम्झनाका बुबा र आमा दुवै भारतको कर्नाटकमा बस्दै आएका छन्, रोजगारीका खातिर। सम्झना भने बझाङको मष्टा गाउँपालिका २ स्थित घरमा हजुरबा हजुरआमासँगै थिइन्। घरमा उनकी फुपु र दुई बहिनी पनि छन्।
उमेरले १२ वर्षीया भए पनि व्यवहारिक बनेकी थिइन् सम्झना। घरको धन्दादेखि गाइगोठ र मेलापातसम्म भ्याउन थालेकी थिइन्।
बुधवार पनि उनी सधैं झैं घरकै धन्दामा लागिन्। बिहान गोठबाट निकालेका गाईबस्तुलाई गोठमा पठाउन भन्दै हजुरबालाई जानकारी दिएर निस्किइन्। घरबाट झन्डै ३० मिनेटको दुरीमा कामी परिवारको गोठ थियो। सम्झना गोठमा गाईबस्तुको व्यवस्थापन गरेर घर फर्किन्थिन। तर, बुधवार नियतिम त्यो क्रम भंग भयो।
सधैं झै समयमा उनी घर फर्किनन्। घाम डुबेर अध्याँरो भइसक्दा पनि नफर्किएपछि हजुरबा र गाउँका मानिस उनको खोजीमा जुट्यो। जंगलको बाटो पार गरेपछि गोठ पुगिन्छ। सुनसान ठाउँ। गोठमा पुगेर हेर्दा बस्तु आफ्ना आफ्ना नाम्लोमा नै थिए। तर, सम्झना न त गोठमा नै भेटिइन् न त बीच बाटोमै।
केही युवाहरु मन्दिरमा पो छिन् कि भन्दै लागे। बाटोमा पर्ने सिममाणुमा मन्दिर छ। नभन्दै सम्झना त्यहीँ भेटिइन्। त्यहाँ उनको सास गइसकेर बाँकी रहेको लास मात्र थियो। त्यसमा पनि अर्धनग्न हालत। शरीरमा चोट थियो।
'साढे ८ बजेतिर हामीलाई खबर आयो। गएर हेर्दा मृत्यु भइसकेको थियो। शरीरमा केही चोट थियो,' जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी रुपक खड्काले भने।
टाउकोमा चोट लागेको थियो। शरीरमा तिखो बस्तुले घोचेको जस्तो डोब देखिएको प्रहरीले जानकारी दिएको छ। तर, कानमा लगाएको सुनको मुन्द्रा चाहिँ थिएन। त्यसपछि हजुरबाले केही दिनअघि नातिनीले भनेको कुरा सम्झिए - 'राजेन्द्रले मेरो कानको मुन्द्रा मागिरहेको छ।'
यहीँबाट प्रहरीले घटनाको अनुसन्धान थाल्यो। प्रहरीको पहिलो क्लु नै सम्झनाका हजुरबाले दिएको जानकारी भयो। प्रहरीले राजेन्द्रलाई नियन्त्रणमा लियो। अहिले अदालतबाट म्याद थप गरेर उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। नियन्त्रणमा लिएका किशोरले घटना स्वीकार गरिसकेका छैनन्। प्रहरीले सोधेको प्रश्नमा किशोरले कुनै जवाफ फर्काएका छैनन्।
राजेन्द्र गतिविधि यसअघि पनि राम्रो नभएको गाउँलेले प्रहरीलाई जानकारी दिएका छन्। उनले सम्झनालाई पिछा गर्ने गरेको र धम्काउने गरेको समेत खुलेको छ। नियन्त्रणमा लिएका राजेन्द्रको शरीरमा पनि केही चोट देखिएको छ।
'बालिकाले प्रतिकार गर्दा चोट लागेको हुनसक्ने देखिन्छ। यसबारे थप अनुसन्धान गरिरहका छौं,' घटनामा संलग्न एक प्रहरी अधिकृतले भने।
बलात्कारपछिको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। जसमा करिब ५ आना बराबरको मुन्द्रा समेत जोडिएको छ।
'शरीरभरी चोट छ। मारेकै हो। उनको कानको मुन्द्रा छैन। हजुरबासँग कुरा गर्दा पाँच दिनअघि मात्र राजेन्द्रले मुन्द्रा मागेको माग्यै छ। लग्छ होला खोलेर राख्दिनुसम्म भनेको पाइयो,' मष्टा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष शेरबहादुर खड्काले सुनाए।
तर, अहिले नै घटना बलत्कारपछि हत्या हो भन्ने पक्षमा प्रहरी छैन। किनकि बालिकाको पोष्टमार्टम रिपोर्ट आइसकेको छैन।
'बलत्कारपछि हत्या हो होइन रिपोर्टले भन्छ। घटनाको बाहिरी प्रकृतिले बलत्कारपछि हत्या हो कि भन्ने हाम्रो आशंका मात्र हो,' डीएसपी खड्काले भने।