PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

दसैंको लागि खसीबोका र च्याङ्ग्रा  ल्याउने तयारीमा खाद्य



पहिलोपोस्ट

दसैंको लागि खसीबोका र च्याङ्ग्रा  ल्याउने तयारीमा खाद्य
फाइल फोटो

काठमाडौः खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी थालेको छ। यसका लागि कम्पनीले आपूर्तिकर्तालाई काठमाडौंसम्म ढुवानीका लागि दरभाउको सिलबन्दी बोलपत्रका लागि आवेदन खुलाएको छ।

खाद्यले खसीबोका र च्याड्ग्रा गरी कुल तीन हजार चौपाया दसैंका लागि खरिदको योजना बनाएको छ। जसमध्ये १४ सय च्याङ्ग्रा र १६ सय खसीबोका ल्याउन लागिएको हो। यसका लागि खाद्यले ६ करोड रुपैयाँ छुट्याइसकेको छ।

कोभिड-१९ का कारण सामाजिक जनजीवन पनि प्रभावित भएकाले मागको यकिन गर्न गाह्रो हुँदा तत्काललाई यो संख्यामा खसीबोका र च्याड्ग्रा ल्याउने तयारी गरेको खाद्यको भनाइ छ। यद्यपि उपभोक्ता मागलाई हेरेर यो संख्या घटबढ गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

सोहीमध्ये पहिलो चरणमा खसीबोका र च्याङ्ग्रा दुवै एक-एक हजार गरी कुल दुई हजार खरिद तथा ढुवानी गर्नका लागि बोलपत्र आह्वान गरेको खाद्य कम्पनीकी सूचना अधिकृत शर्मिला सुवेदीले बताइन्। पोहोर मुस्ताङको च्याङ्ग्रा ल्याएकोमा यो वर्ष भने म्याग्दीको बेनीबाट च्याङग्रा खरिद गरेर काठमाडौं ल्याउन लागेको पनि उनले जानकारी दिइन्।

यस्तै, खाद्यले यो वर्ष दसैंमा काठमाडौं भित्र्याउन लागेको खसीबोका दाङको तुल्सीपुर र पर्साको वीरगंजबाट आपूर्ति गर्न लागेको छ। यसका लागि तुल्सीपुरबाट ६ सय वटा र वीरगंजबाट ४ सय वटा खसीबोका खरिद गरिसकेको छ। पोहोर मकवानपुरको हेटौंडा, सिरहाको लाहान र बाँकेको नेपालगंजबाट कम्पनीले खसीबोका ल्याएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell