काठमाडौं : नेपाली सेनाका अर्का एक जवानको कोभिड-१९ संक्रमणबाट मृत्यु भएको छ। बझाङ घर भई काठमाडौं उपत्यकामा कार्यरत ती जवानको वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा शुक्रवार मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
उनलाई यही असोज ६ गते लक्षण देखिएपछि आकस्मिक रुपमा सघन कक्षमा भर्ना गरी उपचार गरिएकोमा त्यहीँ मृत्यु भएको जानकारी दिइएको छ। उनको पछिल्लो स्वाब परीक्षणमा कोभिड-१९ पोजिटिभ देखिएको थियो।
योसँगै कोरोनाका कारणबाट मृत्यु हुने सैनिकको संख्या दुई पुगेको छ। सेनामा कोरोना संक्रमितको संख्या दुई हजार १९७ छ भने कोरोनामुक्त हुनेको संख्या ५३९ छ। सेनामा हाल सक्रिय संक्रमित एक हजार ६५६ रहेको प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।