इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटोनमाथि संघर्षपूर्ण जित निकालेको छ। फाल्मेर स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई ३-२ ले हराउँदै युनाइटेडले प्रिमियर लिगको जारी सिजनमा पहिलो निकालेको हो।
खेलको ४० औं मिनेटमा ब्राइटोनले खेलमा अग्रता बनाएको थियो। पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै नेएल मउपेले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। तर ब्राइटनको अग्रता धेरै बेर भने टिकेन। खेलको ४३ औं मिनेटमा ब्राइटनकै लेविस डंकले आत्मघाती गोल गरेपछि युनाइटेड बराबरीमा आयो। र, पहिलो खेल १-१ गोलको बराबरीमा रोकियो।
दोस्रो हाफमा मार्कस रासफोर्डले युनाइटेडलाई अग्रता दिलाए। उनले ब्रुनो फर्नान्डेजको पासमा खेलको ५५ औं मिनेटमा गोल गरेका थिए। तर खेलको अतिरिक्त समयमा पुग्दा ब्राइटनका सोली मार्चले गोल गर्दा खेल फेरि बराबरी बन्यो। रोमाञ्चक बनेको खेलमा अतिरिक्त समयमै ब्राइटनका मउपेको हेण्डबल भएको भीएआरबाट निश्चित भएसँगै युनाइटेडले पेनाल्टीको अवसर पायो। जसलाई सदुपयोग गर्दै ब्रुनो फर्नान्डेजले गोल गरे। जुन युनाइटेडको सिजनको पहिलो जितका लागि निर्णायक सावित भयो।
यसअघि युनाइटेड क्रिस्टल प्यालेससँग पराजित भएको थियो। उता तीन खेल खेलेको ब्राइटनले एक यसअघि एक खेलमा जित निकालेको थियो।
