PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

बिरालोको ज्यानमारा पकड, कोही पनि बाँकी राखेन!



पहिलोपोस्ट

बिरालोको ज्यानमारा पकड, कोही पनि बाँकी राखेन!

  • राजु आचार्य-

एक वर्षअघि मेरो घर नजिकै बगैँचामा रहेको धूपीको सानो बोटमा जुरेली चराको चिचिर बिचिर धेरै सुनिन थाल्यो। मैले प्रायः देखिने जुरेली चरालाई खासै वास्ता गरिनँ। धूपीको रुख नजिकै पुग्दा त्यो जुरेली अली जोडले कराउँथ्यो। छिटो छिटो यता र उता उड्थ्यो पनि। यही कारणले मलाई अलि चासो लाग्यो। सानो धूपीको रुखका हाँगा र मसिना पात पन्छाएर भित्रपट्टि हेरेँ। सुकेका मसिना पात, सानो हाँगाको कापमा राखिएको थियो। कचौरा जस्तो आकारको त्यो गुँडमा साना तीन वटा फुल थिए। धूपीको रुख नजिक पुग्दा किन जुरेली करायो भन्ने मैले बुझेँ।

२ हप्तापछि जुरेली नजिक नभएको मौका पारी फेरि त्यो गुँड हेरेँ। तीन वटा राता रङका बचेरा चुच्चोमाथि फर्काएर कराउन थाले। माउले आहारा ल्यायो भन्ठाने होलान्। आफ्नै घरका आँगनमा हुर्कँदै गरेका ती बचेराबारे हाम्रो परिवारका सबै सदस्यलाई चासो बढ्न थाल्यो। आफैँले रोपेको धूपीको बोटमा ७ वर्षपछि चराको घरजम देख्दा हामी सबै खुसी थियौँ।

तर यो खुसी लामो समय रहेन। एक दिन बिहान रुख नजिकै भुँइमा जुरेलीका प्वाँख देखेँ। अत्तालिएँ। डर लाग्यो। मैले हाँगा र पात पन्छाएर गुँड हेरेँ। बचेरा थिएनन्। घरपालुवा बिरालो धूपी नजिकैबाट भागेको थियो। मलाई त्यो बिरालोले गुँड थाहा पाउँदैन जस्तो लागेको थियो। तर त्यसले मारी छाड्यो। नेपालमा यो जस्तै थुप्रै घट्नाहरु दिनहुँ हुने गर्छन्।

सन् २०१९ मा अमेरिकी फोटोग्राफर ज्याक वोन्डरलीले खिचेको एउटा तस्बिरले हालै ‘मानव र प्रकृति’ समूहमा पहिलो पुरस्कार जित्यो। उनी ‘वाइल्ड केयर’ नामको वन्यजन्तुको उपचार केन्द्रमा काम गर्थे। विगत १ वर्षको अवधिमा घरपालुवा बिरालोको आक्रमणमा परेका ३२१ वटा चरा उपचारको लागि ल्याइएको थियो। त्यसमध्ये ८९ वटा बाँचे र अरू सबै मरेका थिए। उनले ती मरेका सबै ३२१ वटा चराहरूलाई मिलाएर राखेर एउटा तस्बिर खिचे, जुन चर्चित बन्यो।

सो फोटोको अवधारणा सोही संस्थाकी निर्देशक मेलानी पिएजाले निकालेकी थिइन्। निजले नेसनल जिओग्राफीमा प्रकाशित लेखमा भनेकी छन् ‘हाम्रो उद्देश्य मानिसलाई फोटो देखाएर डराउन दिनु होइन, मात्र तिनको ध्यान तान्नु हो’।

यी माथिका दुइटा उदाहरणले घरमा पालिने वा घर वरिपरि रहने बिरालोले प्रकृतिमा कति नोक्सानी पुर्‍याउँछ भन्ने देखाउन पर्याप्त छन्। एउटा अनुसन्धानले अमेरिका र क्यानडामा मात्र चराहरूको अप्राकृतिक मृत्युको कारणमा दुई तिहाइ बिरालोको आक्रमणको कारणले हुने निष्कर्ष निकालेको छ।

सन् २०१३ मा अमेरिकामा गरिएको अध्ययनले १० वटा चरामध्ये एक चरा बिरालोले मारेको अभिलेख छ। मर्ने सङ्ख्या वार्षिक करिब ३ करोड ७० लाखसम्म हुन आउँछ।

सन् २०१६ मा टिम डोहर्टीसहित ५ जनाद्वारा प्रकाशित वैज्ञानिक लेखमा ७३८ प्रजातिका ढाड भएका जीवहरूलाई लोप गराउन वा लोपोन्मुख बनाउन बिरालो, मुसा, मलसाँप्रो, कुकुर, फ्याउरो जिम्मेवार रहेको उल्लेख गरेका छन्।

विश्वभर बिरालोले मात्र करिब ६३ प्रजातिका वन्यजन्तु लोप वा लोपोन्मुख हुनेगरि नोक्सान गरेका छन्। जसमध्ये ४० प्रजातिका चरा मात्र छन्। चराबाहेक २१ प्रजातिका स्तनधारी र २ प्रजातिका सरिसृप पनि छन्।

नेपालमा बिरालोको कारणले चरालाई परेको नोक्सानीको बारेमा अहिलेसम्म अध्ययन भएको छैन। वरिष्ठ चराविद् डा. हेमसागर बराल भन्छन् ‘नेपालमा बिरालोले पनि निक्कै नोक्सानी गरेको छ तर अहिलेसम्म कति गरेको छ भनेर कुनै पनि अनुसन्धान भएको छैन। यिनले विशेषगरि शहर र गाउँ वरपर धेरै नोक्सानी गर्छन्।’

बिरालोबाट वरिपरिको चराहरूलाई बचाउने हो भने बिरालोलाई घरभित्र बस्ने वातावरण बनाउनुपर्छ। घर वरिपरि आउने चराहरूलाई बिरालोले नभेट्ने ठाउँमा खाना र पानीको व्यवस्था गर्न सक्छौँ। बिरालो ६ फिटसम्म उफ्रन सक्ने भएकोले गुँडको सुरक्षा गर्दा ध्यान दिनुपर्छ। बिरालोलाई दिनमा ८ घण्टासम्म थुनेर राख्न सक्छौँ।

करिब ७ हजार वर्षदेखि बिराला मानिसको नजिक बस्दै आएका छन्। घरभित्र मुसाको सङ्ख्या नियन्त्रण गर्न पालिने बिरालोको फाइदा र बेफाइदा दुवै छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell