PahiloPost

Jun 14, 2025 | ३२ जेठ २०८२

मनसुन शुरु भएयता प्राकृतिक विपत्तिका कारण गण्डकीमा १२६ जनाको मृत्यु, २३ जना बेपत्ता



रासस

मनसुन शुरु भएयता प्राकृतिक विपत्तिका कारण गण्डकीमा १२६ जनाको मृत्यु, २३ जना बेपत्ता
फाइल फोटो।

कास्की : यो वर्ष मनसुन शुरु भएयता बाढी, पहिरो र चट्याङले गण्डकी प्रदेशलाई नराम्ररी प्रभावित बनाएको छ।

नेपालमा गत जेठ २७ गतेदेखि मनसुन शुरु भएको थियो। त्यसयता असोज ९ गतेसम्म बाढी, पहिरो र चट्याङलगायत प्राकृतिक विपदमा परेर यस प्रदेशमा १२६ जनाले ज्यान गुमाएका छन् भने २३ बेपत्ता छन्। विपदमा परेर ८९ जना घाइते भएका छन्।

गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार प्राकृतिक विपदमा परेर मृत्यु हुनेमध्ये पुरुष ४४, महिला ४०, बालिका २३ र बालक १९ रहेका छन्। त्यस्तै, बेपत्तामध्ये नौ जना बालबालिका छन् भने घाइतेमध्ये पुरुष ४३, महिला २९, बालिका सात र बालक १० रहेका छन्। मनसुन शुरु भएयता प्रदेशको मनाङ बाहेकका सबै जिल्लामा बाढी, पहिरोलगायत प्राकृतिक विपद्जन्य घटनामा परी ठूलो जनधनको क्षति भएको छ। सबैभन्दा बढी बाग्लुङमा ३६ जनाको मृत्यु भएको छ। तीमध्ये १५ महिला, १२ पुरुष, तीन बालिका तथा छ बालक रहेका छन्।

त्यस्तै, प्राकृतिक विपदमा परेर म्याग्दीमा सात महिला, नौ पुरुष, नौ बालिका र छ बालक गरी कुल ३१ जनाले ज्यान गुमाएका छन्। स्याङ्जामा पाँच महिला, नौ पुरुष र एक बालक गरी कुल १५ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबावु रेग्मीले जानकारी दिए।

त्यसैगरी, सो अवधिमा प्राकृतिक विपदमा परेर तनहुँमा पाँच महिला, पाँच पुरुष र तीन बालिका गरी कुल १३ जना, कास्कीमा तीन महिला, दुई पुरुष, तीन बालिका तथा तीन बालक गरी कूल ११, पर्वतमा दुई महिला, एक पुरुष, पाँच बालिका र एक बालक गरी कूल १० जनाको मृत्यु भएको छ।

लमजुङमा एक महिला, दुई पुरुष र एक बालक गरी कूल चार, गोर्खामा एक महिला तथा दुई पुरुष गरी कूल चार, नवलपरासीमा एक महिला तथा एक पुरुष गरी कूल दुई जना र मुस्ताङमा एक पुरुषको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

बाढी, पहिरोलगायत विपदमा परी हालसम्म २३ जना बेपत्ता रहेकोमध्ये बाग्लुङका १६, म्याग्दीका पाँच, स्याङ्जा र गोरखाका एक÷एक जना छन्। नौ महिला र पाँच पुरुष बेपत्ता छन्। प्राकृतिक विपदमा परेर प्रदेशका १० वटै जिल्लामा गरी हालसम्म एक हजार ६१५ परिवारका छ हजार ७७३ जना विस्थापित भएका छन् भने ९७० घर जोखिममा रहेको बताइएको छ। म्याग्दीमा सबैभन्दा बढी ७१७ घरका तीन हजार १२५ जना विस्थापित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell