PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कालापानी क्षेत्रमा गृहमन्त्रीको २४ घण्टा : स्थानीयको प्रश्न, 'स्कुल छैन, दुनियाँले देख्दैन, हामीले पारीबाट ल्याएर खाइराछौं'



कमलराज भट्ट

कालापानी क्षेत्रमा गृहमन्त्रीको २४ घण्टा : स्थानीयको प्रश्न, 'स्कुल छैन, दुनियाँले देख्दैन, हामीले पारीबाट ल्याएर खाइराछौं'

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा 'बादल' शुक्रवार विहान काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा दार्चुलाको छाङरुका लागि उडे। भारतद्वारा अतिक्रमित कालापानी, लिम्पियाधुरा र लिपुलेक रहेको व्यास गाउँपालिका वडा नम्बर १ भित्रको नेपालको स्वामित्वमा रहेको सीमा गाउँ छाङरुमा स्थापना भएको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मको भवन शिलान्यासका लागि सुर्खेत हुँदै दार्चुला सदरमुकाम खलंगा पुगे।

खलंगामा जिल्ला सुरक्षा समितिले छाङरुमा भएको तयारीबारे ब्रिफिङ गर्‍यो। त्यहाँबाट गृहमन्त्रीको टोली छाङरुका लागि उड्यो। टोलीमा थिए गृहसचिव महेश्वर न्यौपाने, मन्त्रीका सल्लाहकार सूर्य सुवेदी, इन्द्रजित राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, सांसद गणेश ठगुन्नालगायत ११ जना। १२ बजे छाङरु पुग्यो टोली। टोली छाडेर हेलिकोप्टर सदरमुकाम फर्कियो।

कालापानीभन्दा झण्डै १२ किलोमिटर वर छाङरुमा डीएसपीको कमाण्डमा १६० जनाको टोली रहने गरी स्थापना भएको गुल्मको भवन शिलान्यास गृहमन्त्री थापाले गरे। सरकारले छाङरुलाई प्राथमिकता दिएको जनाउने योजना तथा कार्यक्रमहरु सुनाए।

शिलान्यासपछि थापाले स्थानीयका समस्या सुने। सीमा रक्षा गर्दै बसिरहेका छाङरुवासीले एकएक गरी समस्या सुनाए। साथै आँगनमै आएको सरकारका प्रतिनिधिमाथि आक्रोश पनि पोखे। मन्त्री थापाले जवाफ दिँदै राज्यबाट उपेक्षामा परेका छाङरुवासीलाई आश्वस्त पार्ने प्रयास गरे। त्यसपछि मन्त्री थापा जीर्ण अवस्थामा रहेको सीतापुल प्रहरी चौकी निरीक्षण गर्न पुगे। चाँडै आधुनिक भवन बन्ने आश्वासन दिए।

पछिल्लो समय अतिक्रमित भूमिलाई नक्सामा समावेश गरेर यो क्षेत्रमा उपस्थिति बढाउँदै गएको सरकार नागरिकमा पनि राज्यको उपस्थिति छ भन्ने महसुस गराउन थापाले छाङरुमै बास बस्ने निर्णय गरे।

भोलिपल्ट बिहान सेनाको हेलिकोप्टर सशस्त्रका लागि खाद्यान्न लिएर छाङरुतर्फ उड्यो। जहाँ गृहमन्त्री थापाको टोली तयारी अवस्थामा थियो। थापाको टोलीले होलिकोप्टरबाट तिंकरसम्म सीमाको हवाई निरीक्षण गर्‍यो। सदरमुकाम खलंगामा ४४ नम्बर गणमा अवतरण भयो। गृहमन्त्री थापाले सञ्चारकर्मी र स्थानीय राजनीतिक नेताहरुसँग अन्तरक्रिया गर्दै छाङरुको वास्तविकता सुनाए। सरकारले गर्ने र गरिरहेको पहल पनि सुनाए। अनि सुर्खेत हुँदै काठमाडौं फर्किए।

४४ नम्बर गणका गणपति एसपी नरेन्द्र बमले गृहमन्त्रीले आफूहरुको हौसला बढाएको बताए। उनका अनुसार छाङरुमा मन्त्री थापाले कठिन परिस्थितिमा सेवा गरेको भन्दै धन्वाद दिएका थिए। पहिलोपटक केन्द्र सरकारको मन्त्री आउँदा छाङरुबासी खुसी भएको र मन्त्रीले बास बसेर छाङरु राज्यको प्राथमिकता छ है भन्ने सन्देश गएको सांसद गणेश ठगुन्नाले बताए।

स्थानीयसँग यस्तो सवालजवाफ

छाङरुमा बास बसेका गृहमन्त्री थापाले स्थानीयका दु:ख समस्याहरु सुने। सवाल जवाफकै शैलीमा आश्वस्त पनि पारे।

स्थानीय महिला : बाटो साँघुरो छ। गाइबाच्छा कसरी लाने? भारतले बाटो बन्द गरिदिएको छ। त्यो पनि व्यवस्था गरिदिनुपर्‍यो।

तितो फापर दुई रोटी हुन्छ। त्यो खाएर के पुग्छ हामीलाई? एकैखेती हुन्छ आलु र मुलामात्रै अरु केही खेती हुन्न। त्यसमाथि राशन छैन। सरकारले देख्दैन, दुनियाँले पनि देख्दैन हाम्रो घर कसरी खाइराख्छ, पिइराख्छ, गरिराछ? पारिबाट ल्याएर खाइराछौं। अब हामी बुढो भइसक्यौ। अहिले त उता पनि जान दिएको छैन। यता पनि भएन भने कसरी दिन काट्ने?

अर्की महिला : अहिले हामी छाङरु तिंकरवासीले खाद्यान्न र बाटोको लागि जति भोग्यौं भोग्यौं। हामी बिहे भएर आएको ३२/३३ वर्ष भयो। पहिलोपटक सरकारको ठूलो मान्छे आएको देखें। अब हामीलाई विश्वास छ कि हाम्रो जति पनि समस्या बाटो घाटोको, खाद्यान्नको। यो पालि लकडाउन र महामारीले एकदम मर्कामा छौं। राशन पानी त्यस्तै छ। नेपाली नागरिकता भएर हाम्रो सरकारले यति गर्‍या छ भनेर भारतमा माइतीलाई देर होगा अन्देर नहीँ भनेर भन्दै आएका छौं। त्यसैले हामीलाई पक्का विश्वास छ कि अबदेखि बाटोघाट सहित समस्याहरु नआउलान्। खाद्यान्नको समस्या, स्वास्थयको समस्या, स्वास्थ्य चौकी छैन। बुढापाखालाई कसरी तल लाने?

मन्त्री थापा : कुरा एकदम जायज छ। बाटो नहुनाले धेरै समस्या भएको हो। छिट्टै बाटो आउँछ। काम सुरु भइसक्या छ। बाटो आइसकेपछि तपाईहरुको गुनासो सबै हल हुन्छ। स्वास्थ्यचौकीको काम भएको छैन। यहीँ नै उपचार हुने व्यवस्था मिलाउँछौं। यहाँ नहुँदा बाहिर बिरामी लाने व्यवस्था पनि मिलाउँछौं। सुत्केरीका लागि हेलि पठाइदिन्छौं। बुढापाखाको उद्धारका लागि पनि हेलि पठाउँन सक्छौं। यहाँको वडा अध्यक्षमार्फत जिल्लामा पठाउनुभयो भने त्यहाँबाट हामी कहाँ पुगेपछि ति बुढापाखाको उद्धार गर्छौं।

खाद्यान्न अलिकति अस्ति आयो। अब नियमित रुपमा पठाउँछौं। अलि दुर्गम भयो। यतायातको पनि सुविधा भएन। हामी पारिकै मात्र सधैभरी भर पर्न सक्दैनौं। अब नियमित रुपमा पठाउने व्यवस्था गर्छौं।

अब नागरिकताका लागि सीमा प्रशासन कार्यालय बाह्रैमास चल्नेगरी कर्मचारी राख्छौं। प्रहरी त आइसक्यो। बाह्रै महिना बस्ने बनाउँछौं। भोलि बाटोघाटो विकास भइसकेपछि तपाईहरु पनि छ महिना तल बस्नु पर्दैन। भोलि व्यवसायहरु पनि खुल्छ। होटल एउटामात्र रहेछ। थुप्रै होटलहरु खुल्छन्। पर्यटकहरु आउँछन्। तपाईहरु तल झर्नु पर्दैन। पारिको भन्दा हाम्रोतिर राम्रो बाटो छ। सम्भावना छ।

स्थानीय एक पुरुष : हाम्रो गाउँमा बालबालिका छन्। स्कुल छैन। उहाँहरुको लागि छात्रवृतिको केही व्यवस्था हुनसक्छ?

मन्त्री थापा : यहाँ बालबालिकालाई आवासीय व्यवस्था गरेर उपत्यकामा हुन्छ वा सहरी बेल्टमा छात्रवृति व्यवस्था अवश्य मिलाउँछौं।'

स्थानीय पुरुष : द्यान्न बाटोघाटो, स्वास्थ्य शिक्षाको कुरा त भयो। हामीलाई मुख्य रोजगारी चाहियो। आरक्षण सिट चाहियो। गुञ्जी नाबी कुटीको लेभलमा ल्याउनलाई यहाँको जनतालाई खुसी पार्नुपर्छ। त्यसको लागि आरक्षण सिट, युवाहरु जति छन् तिनीहरुलाई रोजगारको सुविधा चाहियो। खाद्यान्न सरकारबाबट अनुदान भनेर आइरहेको छ, तर हामीले ५१ रुपैयाँ केजी किनेर खाइरहेका छौं। किनेर खान पैसा कहाँबाट ल्याउने? विकासको कुरा गर्नुभयो, रोजगारबारे पनि भनिदिनुपर्‍यो। सबै पढेलेखेका छन्। सोर्सफोर्स छैन।

गृहमन्त्री थापा :  तपाईले राम्रो कुरा उठाउनुभयो। बाटोघाटो बनिसकेपछि सहज हुन्छ। रोजगारीमा एउटा हामीले यहाँका युवाहरुलाई आरक्षण गर्दै प्रहरीमा, सेनामा भर्ती गर्न सकिन्छ। युवाहरुलाई छात्रवृति दिने, पढेलेखेकालाई रोजगारी दिन्छौं। पढेलेखेका युवाहरुको सूची हामी दिनुस्। शिक्षामा र अरु सरकारी जागिरको कुरामा सरकारले गर्छ। यहाँका दिदीबहिनीहरुलाई पनि सीप तालिम दिन्छौं। पढेलेखेका छन् भने कुनै जागिरहरुमा लगाइदिने, प्रहरीमा हुनसक्छन्, शिक्षिका हुनसक्छन्। व्यवसाय गर्नेलाई कृषिमा अनुदान दिन्छौं। कुनै व्यवसाय गर्ने हो भने सहुलियत ऋणको व्यवस्था गर्छौं। यहाँका जनप्रतिनिधिमार्फत यी कुराहरु माथि पुर्‍याउनुभयो भने पक्कै पनि तपाईहरुको रोजगारीको कुरा सरकारले गर्छ। गर्ने नीति छ। पारिपट्टी भारतले त्यहीँ गरेको छ भन्ने हामीले सुनेका छौं। हामी पनि गर्छौं।

दुई महिनामा केही कोठा तयार गरिने

गृहमन्त्री थापाले शुक्रवार शिलान्यास गरेको भवन निर्माणमध्ये केही कोठा दुई महिनाभित्रै तयार गरिसक्ने योजना छ। हिउँदको सिजनमा सशस्त्र प्रहरीको टोली बस्ने निवास तत्कालै तयार हुने सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ। सशस्त्र प्रहरीको प्राविधिक टोलीमा रहेका डीएसपी मिलनराज मास्के र सई चन्द्रवहादुर रोकाया फिल्डमा खटिनेछन्।

गुल्म भवन ११ करोडको लागतमा निर्माण गरिन लागेको हो। ललितपुर उपमहानगरपालिका वडा नम्बर ४ इमाडोलको सिएबी ग्वाल्लेक नाती जेभी निर्माण कम्पनीले भवन निर्माणको ठेक्का पाएको छ। भ्याटबाहेक ८ करोड ८६ लाख २४ हजार ३ सय ४ रुपैयाँ १४ पैसाको लागत भवन निर्माणको ठेक्का सम्झौता गरिएको छ।

एक वर्षभित्र भवन निर्माण गरिसक्ने गरी ठेक्का सम्झौता भएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी राजु अर्यालले बताए। जेठ ८ गते भवन निर्माणको टेण्डर निकालिएकोमा भदौ अन्तिम साता मात्रै ठेक्का सम्झौता गरिएको हो।

के के संरचना बनाइँदैछ?

ठेक्का प्रक्रियाबाट निर्माण गरिने भवन हिमपातका समयमा समेत बस्नलायक बनाइने छ। ढुंगा, माटो र काठबाट भवनको छतमा कर्कटपाता राखिनेछ।

ब्यारेक भवनसहितको ५ रोपनी क्षेत्रफलको जमिनमा तीन दर्जन कोठा निर्माण गरिने गरिने सशस्त्र प्रहरीका प्रवक्ता अर्यालले बताए। हाल तीन तलाको ब्यारेक भवन निर्माणको योजना छ। गुल्म परिसरमा शौचालय, ब्यारेक भवन, कार्यालय भवन र प्रवेशवद्वार पनि बनाइने छ। भवन निर्माणको डिजाइनअनुसार ढुंगाको काम ११ सय ८ क्युबिक मिटर, सिजिआइ छत ७ सय ७० वर्ग मिटर र १९ सय ८ वर्गमिटर काठको काम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell