PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

क्यान नेतृत्वको एक वर्ष, अध्यक्ष चन्द भन्छन्: गरेकै कामलाई पनि नकारात्मक रुपले हेरे



मुकुन्द घिमिरे

क्यान नेतृत्वको एक वर्ष, अध्यक्ष चन्द भन्छन्: गरेकै कामलाई पनि नकारात्मक रुपले हेरे
फाइल फोटो

नेपाल क्रिकेट संघ (क्यान) मा नयाँ कार्यसमिति आएको एक वर्ष पुग्यो। चतुरबहादुर चन्दको नेतृत्वमा क्यानले एक वर्ष पुरा गर्दा कति कुरा सकारात्मक देखिएका छन् भने कति कुरामा डेग चलेको छैन। त्यसो त एक वर्षमध्ये ७ महिनाभन्दा बढी त क्रिकेटमात्र होइन खेलकुद क्षेत्र नै ठप्प प्राय छ। मैदानमा खेल नभए पनि मैदान बाहिर क्यानले गर्नुपर्ने काम न निर्वाचित भएर आउँदा कम थिए न अहिले छन्। सबैभन्दा मुख्य कुरा त 'सशर्त' निलम्बन फुकुवा आईसिसीको विश्वास जित्ने र पारदर्शितालगायतका विषयमा सबल हुनु क्यानको चुनौती थियो र छ। त्यस्तै मैदानमा खेलको स्तर उकास्नु तर त्यसका लागि वातावरण बनाउनु त सबैभन्दा ठूलो चुनौती नै हुने भइहाल्यो। यसै सन्दर्भलाई लिएर पहिलोपोस्टका मुकुन्द घिमिरेले क्यानका अध्यक्ष चतुरबहादुर चन्दसँग गरेको कुराकानीको सम्पादित अंश:

क्यानमा निर्वाचित भएर आउनु भएको एक वर्ष पुरा भयो कसरी हेर्नु भयो यो वर्षलाई?

यो वर्षलाई मिश्रित वर्षका रुपमा हेर्नुपर्छ। गर्नुपर्ने सकारात्मक निर्णयहरु हामीले गरेर कार्यान्वयन पनि गरिसकेका छौं। खेलाडीको तलबको सन्दर्भमा होस, ग्राउण्ड स्टाफको सन्दर्भमा होस, जिल्ला, क्षेत्रसँग जोडिएको विषय या प्रशासनको सन्दर्भमा होस या अरु निर्णयहरुमा। यहाँ धेरै कुराहरु भएका छन्। क्यानले केही नगरेको भन्ने होइन। तर यहाँ सकारात्मक पक्षहरुमा पनि नकारात्मक दृष्टिकोणले बढी चर्चा हुन्छ। तर हामीले सही निर्णय गर्दैगर्दा त्यसले गल्ती नहुँदा हामीलाई त्यस्तो आलोचनाले असर भने गर्दैन। राम्रो कुरा छ भने हामी त्यसलाई परीक्षण या अनुसरण गर्छौं।    

नेपाली क्रिकेटमा ठूलो अर्थ राख्ने गरी के काम भए त यो वर्षमा?

यो वर्षभन्दा पनि केही महिना काम गर्न पायौं राम्ररी। भ्याकेन्सीहरु अनाउन्स गरेको छ पहिलोपटक। ढिला भयो भनेर पनि भनिरहेका छन्। तर कोरोनाको बिचमा स्टाफ राखेर के गर्ने? ठीक समयमा नै विज्ञापन गरेको हो। सात महिना पहिला भर्ना गर्नु र सात महिनापछि भर्ना गर्नुमा क्यानलाई आर्थिक भार घटेन र? न ट्रेनिङ हुने। न अफिस सञ्चालन हुने, न मन्दीको बेलामा स्पोन्सर खोज्दा पाइने, स्टाफमात्रै राखेर के हुन्छ र? यसलाई सकारात्मक रुपमा हेरिदिए हुन्थ्यो मिडियाले पनि।

अघिल्लो वर्ष निर्वाचित क्यानका पदाधिकारी।

सबै कुरा मिलाउँदै ल्याउँदा अहिले पनि हाम्रो पुरा निलम्बन नखुलेकाले कुनै योजनामा क्यानले पहल गरेन भनेर आलोचना गरिरहेका छन्। त्यहाँ गएर टाउको ठोक्काउने हो र? हामीले गर्नुपर्ने काम स्टेप बाइ स्टेप टाइमलाइन अनुसार एउटा आईसीसीसँग भएको मिटिङमा एउटा टाइमलाइनले यो महिना यो गर्ने अर्को महिना यो गर्ने भनेर एउटा खाका तयार थियो। त्यो चाहीँ कोरोनाका कारणले हुन सकेन। नेसनल प्रतियोगिता गर्ने मार्चमा भनेको थियो। एनपीएल गर्ने भनेको थियो। यो कुरा गर्न नसकेपछि क्यानले केही कुरा पनि गर्न सकेन भनेर हल्का रुपमा भन्ने हो भने प्रश्न उठाउनेको स्तरमाथि नै प्रश्न उठ्यो। राष्ट्रिय लिग गर्ने भनेर सबै तयारी गर्‍यौं। अप्रिलमा एजिएम गर्ने भनेर आईसीसीले टाइमलाइन दिएको थियो। गर्नुपर्ने कम्प्लाइनहरु एउटा लामै लिस्ट छ।     

आईसिसीको विश्वास जित्न सक्नु भयो त?

सफल छौं नि। आईसीसीले भनेका हरेक कामकारवाहीहरुमा सल्लाह गरेर अघि बढिरहेका छौं। आईसीसीलाई प्रश्न उठाउने ठाउँ दिएका छैनौं। दिएको गाइडलाइन्सअनुसार निलम्बनबाट पूर्ण रुपमा हट्न गर्नुपर्ने सबै कुराहरु भइरहेको छ। एउटा नेसनल लिग गर्न सकिएको छैन। त्यो पनि गरौंला। एजिएमको तयारी भइसक्यो। भ्याकेन्सी एनाउन्स गरिसक्यौ। बाँकी कुरा त भएकै छन् नि। करारका कुराहरु पनि भए। कमिटीहरु परो गर्‍यौं। जिम्मेवारीहरु दियौँ।

पारदर्शिता, क्रिकेटको विकास र सुधारमा नयाँ नेतृत्वलाई अझ धेरै चुनौती हुनेछन् यसमा कतिको खरो उत्रनु भयो त?

पारदर्शिता भनेको दुईवटा कुरा हुन्छ। एउटा चाहीँ निर्णय र प्रक्रियाको पारदर्शिता अर्को आर्थिक पारदर्शिता। आर्थिक पारदर्शिताको कुरामा क्यान चुकेको छैन। किनभने २०२० को पाउनुपर्ने फण्ड विभिन्न एजिएम नभएका कारणले अथवा राष्ट्रिय प्रतियोगिता नभएका कारणले फेसिलिटेट भएको छैन। नेपालमा मात्र होइन अरु देशमा पनि। कोरोनाका कारणले राष्ट्रिय प्रतियोगिता रोकिएको छ। ती प्रक्रियाहरु पुरा हुन्छन्। मितव्ययी भएर खर्च गरिरहेका छौं। निर्णयका कुरामा क्यान कार्यसमितिमा सर्वसम्मत गरेका निर्णयहरु पारदर्शी नै छन्।

एक वर्ष बित्दा प्रशासनिक रुपमा चाहीँ क्यान कतिको सबल भएको छ?

क्यानमा अहिले प्रोफेसनल कर्मचारी नभएको हुँदा केही प्रश्नहरु उठिरहेका छन्। त्यसलाई चिर्न हामी स्टाफ राख्दै छौं। डेभलपमेन्टल पाटोमा फिल्ड मेनेजर, एडमिनिस्ट्रेट पाटोमा जिएम रेभिन्यु सिर्जना गर्ने। आर्थिक क्षेत्रमा आर्थिक पारदर्शिता कायम गर्न र समन्वय गर्नका लागि फाइनाइन्स अफिसर। नेपाली टिमलाई बलियो बनाउने र लोकल टिमलाई बलियो बनाउन पनि हामीले पहल थालेकै छौं। यसले एकहदसम्म क्यान प्रोफेसनल भएर अगाडि बढ्छ भन्ने छ।

कोरोनासँगसगै विश्वभर फेरि क्रिकेटको माहोल बन्दै छ, अब अघि कसरी बढ्ने योजना छ?

सबैलाई अभ्यास गराउने भन्दा पनि कमसे कम राष्ट्रिय टिमका खेलाडीहरुलाई आईसीसीले जुनसुकै बेला पनि निर्णय गरेर बोलाउन सक्ने हुँदा हामी तयार त रहिरहनु पर्ने हुन्छ। मेन्टल्ली र मोरल्ली हामी तयार रहनु पर्छ। त्यसका लागि राष्ट्रिय खेलकुद परिषदसँग पनि समन्वय गर्छौं। कसरी प्रशिक्षण सुरु गराउने भनेर वहाँहरुसँग नै सल्लाह गरेर नेपाली क्रिकेट खेलाडीहरुलाई मैदानमा ल्याउन के गर्दा ठीक हुन्छ भनेर उहाँहरुसँग कुरा गर्ने हो। राखेपले हुन्छ नभनीकन अभ्यास सुरु गराउन सकिँदैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell