काठमाडौं : बर्दियामा कोभिड-१९ संक्रमणपछि होम आइसोलेसनमा रहेका एक पुरुषको मृत्यु भएको छ।
गुलरिया नगरपालिका वडा ७ का ५० वर्षीय पुरुषको उपचारको लागि भेरी अस्पतालमा लैजाने क्रममा शनिवार मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ। योसँगै बर्दियामा मृत्यु हुने कोभिड-१९ संक्रमितको संख्या ४ पुगेको छ।
निज मृतक फोक्सोको क्यान्सरको विरामी रहेको कार्यालयले जनाएको छ। क्यान्सरको उपचार गराएर भारतको दिल्लीबाट असोज १ गतेमात्र नेपाल फर्किएका उनी ४ दिन क्वारेन्टाइनमा बसेका थिए। असोज ५ गते आरटी-पीसीआर परीक्षणका लागि नमुना संकलन गरी भेरी अस्पताल पठाइएकोमा ७ गते उनमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
कोभिड-१९ पुष्टि भएसँगै उनी होम आइसोलेसनमा बस्दै आएका थिए। शनिवार एक्कासी स्वासप्रश्वासमा समस्या आएपछि उनलाई भेरी अस्पताल लगिएको थियो। अस्पतालको आइसोलेसनमा पुर्याइएका उनलाई अस्पतालले मृत घोषित गरेको हो।
उनको मृत्यु कार्डियो पल्मुनरी अरेष्टका कारण भएको अस्पतालले पुष्टि गरेको छ। प्रदेश ५ को स्वास्थ्य निर्देशनालयले पनि उनको मृत्यु होम आइसोलेसनमा भएको जनाएको छ।
