PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

काठमाडौंमा सातौं महिनामा खुल्यो स्कुल, सम्भव छ यो कहरमा सञ्चालन गरिरहन?

काठमाडौंमा सातौं महिनामा खुल्यो स्कुल, सम्भव छ यो कहरमा सञ्चालन गरिरहन?

प्रवीण रानाभाट/पहिलोपोस्ट


मास्क छ नानी?

छ…छ ममी।

सुदीक्षा नेपाल ठूलो स्वरले कराउँदै घरबाट निस्किन्। निकै फुरुङ थिइन् उनी। उनको खुशीको कारण अरु केही थिएन। ६ महिनापछि पहिलै झैँ ब्याग बोकेर स्कुल जान पाउनु नै रमाइलोको कारण बन्यो।

कोभिड १९ सङ्क्रमणको जोखिमबाट बच्नका लागि सरकारले चैत ११ गतेबाट लकडाउन घोषणा गरेयता स्कुलको पढाई ठप्प। १२० दिनसम्म त लकडाउन नै जारी रह्‍यो। केही व्यापार व्यवसाय लगायतलाई केही लचिलो बनाइयो। तर, विद्यालय भने खुल्न पाएन।

सुदीक्षा जस्ता धेरै विद्यार्थी घरभित्र नै बन्द भए। केहीले अनलाइन क्लासबाट पढ्ने मौका पाए। तर केहीका लागि यो पनि सम्भव थिएन। काठमाडौँ उपत्यकामा लकडाउनपछि निषेधाज्ञा जारी गरियो। तीन सातापछि केही शर्तसहित व्यवसाय खुले। तर, विद्यालय भने खुल्ने सूचीमा परेन।

तर, अहिले भने नगरपालिकाको समन्वयमा केही विद्यालय खुल्न थालेको छ। कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गीताञ्जली बोर्डिङ स्कुल आइतवारबाट सञ्चालनमा आयो। अरू निजी तथा सामुदायिक विद्यालय पनि सञ्चालनमा आएका छन्।

आइतवार करिब १ सय ५० जना विद्यार्थी विद्यालय पुगेका थिए। आफैँ हिँडेर आउन सक्ने आफैँ आएका थिए। नसक्नेलाई अभिभावकले पुर्‍याउन ल्याएका थिए। किनकि विद्यालयले बस भने सञ्चालन गरेको छैन।

'हामीले व्यवस्थित तरिकाले विद्यालय सञ्चालन गरेका छौँ। सबै सुरक्षाको बन्दोबस्ती छ,' विद्यालयका प्रिन्सिपल महेन्द्रराज घिमिरेले भने।

विद्यालय बिहान साढे ६ बजेदेखि साढे १० बजेसम्म सञ्चालन गरिएको छ। साना कक्षामा अध्यायरत विद्यार्थीलाई भने बोलाइएको छैन। उनीहरूलाई गेटबाट छिर्ने बित्तिकै स्यानिटाइजर युज गर्ने र मास्क अनिवार्य गरिएको छ।

त्यस्तै, कक्षा कोठामा समेत सामाजिक दुरी कायम गर्ने गरी विद्यार्थीहरुलाई बस्ने बेन्चको व्यवस्था गरिएको प्रिन्सिपल घिमिरेले जानकारी दिए।

विद्यालय व्यवस्थापन, नगरपालिकाका प्रमुख र अभिभावकको छलफलपछि विद्यालय सञ्चालनमा ल्याउन अनुमति दिइएको कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाले बताए।

आजबाट पहिलो असोज २५ गतेसम्म विद्यार्थीलाई भौतिक रूपमा उपस्थिति गराए पढाउन भनिएको छ। 'आजबाट असोज २५ गतेसम्म विद्यार्थीलाई विद्यालयमा नै बोलाएर पठाइने गरिन्छ। त्यसपछि परिस्थिति र अभिभावकसँग सल्लाह गरेर के गर्ने भन्ने हुन्छ,' नगरपालिका प्रमुख थापाले भने।

यसरी विद्यालयमा कक्षा सञ्चालन गर्दा निजीले अतिरिक्त शुल्क लिनसमेत लिन पाउने छन्। सामुदायिक विद्यालयलाई भने नगरपालिकाले बजेट उपलब्ध गराउने मेयर थापाले जानकारी दिए।

आइतवार बिहानबाटै मुलपानीस्थित त्रिकोन विद्यालय पनि सञ्चालनमा आयो। दुई सिफ्टमा सञ्चालनमा आयो विद्यालयमा विद्यार्थीहरु पनि समयमा नै कक्षा कोठामा पुगेका थिए। बिहान ६ बजेबाट १० बजेसम्म कक्षा ७ देखि १० कक्षासम्म पढाइको व्यवस्था मिलाइएको छ। त्यस्तै १ देखि ५ कक्षासम्म दिउँसो कक्षा सञ्चालन गरिएको छ। एउटा बेन्चमा दुई जना बसेर पढे। सामाजिक दुरी कायम गर्ने कक्षाकोठा मात्र होइन विद्यालयका ठूलो हल समेत प्रयोग गरेको पाइयो।

'कक्षामा पनि सामाजिक दुरी कायम गरिएको छ। भरसक एउटा कक्षामा २१ जनामात्र राख्ने व्यवस्था मिलाएका हौं। विद्यालय आइनपुग्ने विद्यार्थीलाई अनलाइनको व्यवस्थासमेत गरेका छौं,' त्रिकोण विद्यालय प्रिन्सिपल जीतबहादुर बस्नेतले भने।

कक्षाकोठो पहिलो सिटमा एक जना, त्यसपछि एउटा सिटमा दुई जनासमेत राखेर पढाइ गरेको थियो। 'विद्यार्थिको उपस्थिति राम्रो छ। अनलाइन कक्षा र उपस्थित विद्यार्थीलाई सँगै पठाएका छौं। बच्चाको सङ्ख्या हेर्दा उनीहरुमा पढाईको भोक जानेको नै पाइयो,' शिक्षिका दिपा ढुङगानाले भनिन्, 'लामो समयपछि विद्यालय जान र साथीभाईहरुसँग भेट्न पाएपछि विद्यार्थीहरु पनि खुसी देखिन्थे।' पहिले जस्तो हात मिलाउने गर्न त पाइने। तर एकदमै खुसी लागेको छ। अनलाइन बुझ्न ग्राहो हुने गर्थ्यो,' विद्यार्थी सोनिया घ्लानले सुनाइन्।

विद्यार्थीमा मात्र होइन अभिभावकमा पनि विद्यालय सञ्चालनमा आएपछि खुसी देखिन्थे। विद्यालय जान पाएपछि आफ्ना छोराछोरी खुसी भएकाले आफू पनि खुसी भएको अनुभव हामीलाई अभिभावकहरुले साटे। 'मेरा तीन जना बच्चा छन्। सबैलाई अनलाइन पढाउन नमिल्ने भयो। त्यसैले विद्यालय नै संचालनमा आउँदा राम्रो हो,' एलिना खुलालले भनिन्।

तर उनको सानो छोरालाई भने विद्यालय कसरी पठाउने भन्ने चिन्ताले सताएको छ। धेरै मेहेनत गरेर विद्यालय जाने बानी परेका उनका छोरा अहिले भने लामो ग्यापले गर्दा विद्यालय जान आनाकानी गरिरहेका छन्।

काठमाडौँ उपत्यका बाहिर काभ्रे, मोरङ, इलाम, बाग्लुङ लगायतका जिल्लाहरूमा सुरक्षाको मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न थालिसकिएको छ।

तर, कोभिड १९ संक्रमितको संख्या लगातार बढिरहेकाले विद्यालय संचालन नियमित हुनसक्नेमा भने शंका नै छ। किनकि केही स्कुल खुले पनि धेरै विद्यालय भने खुलेको छैन।



ट्रेन्डिङ पोस्ट

Ncell