PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कोरोना संक्रमणपछि २६ वर्षीया गर्भवतीले पाइनन् अस्पताल, ८ महिने गर्भ बोकेर घरमै छट्पटाउँदै



राधेश्याम पटेल

कोरोना संक्रमणपछि २६ वर्षीया गर्भवतीले पाइनन् अस्पताल, ८ महिने गर्भ बोकेर घरमै छट्पटाउँदै

वीरगंज : वीरगंजमा एक २६ वर्षीया गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पताल प्रयोगशालामा शनिवार भएको पीसीआर परीक्षणमा ८ महिना पुरा गरी ९ महिना चलिरहेको गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको हो। साबिक पोखरीया नगरपालिका वडा ७ रानीगंज(हाल वीरगंज २४ रामगढवा रानीघाट पुल नजिक) बस्ने २६ वर्षीया गर्भवतीमा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमित महिलाको भारत, रक्सौल सहदेवा गाउँमा विवाह भएको थियो। लकडाउन यता संक्रमित महिला र निजकी श्रीमान दुबै महिलाको दाइकै रामगढवाकै घरमा बस्दै आएका थिए। शनिवार बिहान श्वास लिन समस्या भएपछि सीता हस्पिटलकी स्त्री तथा प्रसुती रोग विशेषज्ञा डा. निलम चौरसियाको क्लिनिकमा लगिएको संक्रमित महिलाका दाईले जानकारी दिए। उनलाई फिजिसियनसँग चेकअप गराउन डा. चौरसियाले सल्लाह दिइन्। डा. निलमसँगै शुरुदेखि उपचार आएकोले शुरुमा उनीसँग उपचार गराउने योजनासहित पुगेपनि परिवारजनको त्यो योजना सफल हुन पाएन।

डा निलमले फिजिसियनसँग उपचार गराउन सुझाव दिएपछि सीता अस्पतालकै पुर्वमा रहेको एडभान्स अस्पतलामा साढे ८ बजे परीक्षण गराउँदा चिकित्सकले उनको रगत जाँच लिन र एक्सरे गर्न निर्देशन दिए। बिहान साढे ११ बजेसम्म सबै रिपोर्ट देखाउँदा चिकित्सकले छातीमा निमोनिया भएकोले तत्कालै नारायणी अस्पतलामा पीसीआर परीक्षण गर्न पठाए।

स्वाब दिदाँसम्म मध्यान्हको १२ बजेको थियो। त्यसपछि अपरान्ह साढे ३ बजेतिर पीसीआर रिपोर्ट पोजेटिभ आयो। नारायणी अस्पतलाका चिकित्सकहरुले हाल नारायणी अस्पतलमा गर्भवतीलाई भर्ना गर्न नमिल्ने भएको र वीरगंज हेल्थकेयर तथा गण्डक कोभिड अस्पतलाहरु पनि बन्द भइसकेकोले घरमै लैजान उचित देखेर घर लान निर्देशन दिए।

तर संक्रमित महिलाको दाइले निजी इरिक्सामा राखेर जिल्ला प्रहरी कार्यालय पर्साको गेटमा पुगे साँझ ५ बजे। प्रहरीकहाँ पुग्दा पनि कसैले सहयोग नगरेको उनले बताए। 'एसपी/डिएसपीलाई बोलाइदिनु,बहिनीलाई कोभिड अस्पतलामा भर्ना गराइदिनु भने, गेटको सेन्ट्री पुलिसले पोजेटिभ केसलाई यहाँ किन ल्याएको अस्पताल लैजानु भने,' गर्भवती महिलाका दाजुले भने।

बाबा होटलको नेसनल मेडिकल कलेजको कोभिड अस्पतालमा पनि लैजान तयारी गरे पनि त्यहाँ भर्ना नर्ग नमिल्ने भएपछि उनी घरमै फिर्ता हुन बाध्य भइन्। घरमा राति अक्सिजन लगाएर राखेका छन्। माटोका भाडो बनाएर घर गुजारा चलाउने उनका दाजु पर्साको प्रहरी प्रशासन तथा डाक्टरहरुसँग आक्रोश पोख्छन्, ‘गर्भवती महिला संक्रमितको उपचारको लागि कही पनि अस्पताल खाली छैन, बेड पाएन।'

उनले थपे,‘कही घरमा उपचार नपाएर केही गलत भयो भने त्यसको जिम्मेवारी कसले लिने? ’वीरगंजमा ७० वेडको क्षमतको नेसनल मेडिकल कलेजका फोकल पर्सन डा. असरफ हसैनले कोभिड अस्पताल सञ्चालन गर्ने बेलामा स्थानीय प्रशासनसँग गर्भवती,डायालासिस र शल्यक्रिया गर्ने खाले संक्रमितलाई भर्ना गर्न र उपचार गर्न असमर्थ रहेको जानकारी गराइसकिएकोले भर्ना नलिएको बताए। 

नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले नारायणी अस्पताल कोभिड अस्पताल नरहेको र शंकास्पद केसलाई कोरोना संक्रमण पुष्टि भएपछि कोभिड अस्पतालमा रेफर गर्दै आएको बताए ।उनले गर्भवतीलाई बाबा होटलमै भर्ना गरी उपचार गर्न उपयुक्त हुन सुझाव दिए। 'गर्भवतीलाई भर्ना गरी निमोनिया ठीक गर्नु छ, शल्यक्रिया गरी डेलिभरी गर्नु छैन, कोभिड अस्पतालले भर्ना गर्नु ठीक होला,' उनले भने ।

पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले घटनाबारे आफुलाई जानकारी भइसकेको र संक्रमित गर्भवतीको सहज उपचारको लागि नारायणी अस्पतालमा राखेर उपचार शुरु गर्न अस्पताल प्रशासनलाई निर्देशन दिइसकेको जानकारी गराए। ‘मैले पनि सुनेको छु,नारायणीका डाक्टरहरुलाई भनेको छु,तत्कालै अस्प्ताल ल्याएर भर्ना गरी उपचार गर्नू होस भनेर,’ उनले भने, ‘उपचार बिना कसैको ज्यान जानु हुदैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell