PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

मेची अस्पतालबाट रेफर गरिएका संक्रमितको कोभिड अस्पताल नपुगी मृत्यु



फूलमाया पुरी

मेची अस्पतालबाट रेफर गरिएका संक्रमितको कोभिड अस्पताल नपुगी मृत्यु

विराटनगर : प्रदेश १ मा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

झापाको कन्काइ नगरपालिका ९ का एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको मोरङका स्वास्थ्य प्रमुख तथा प्रदेशस्तरीय कोभिड उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए।

बस्नेतका अनुसार मेची अस्पतालमा उपचाररत ती व्यक्ति शनिवार कोभिड उपचार केन्द्र विराटनगर रेफर भएका थिए।  कोरोना संक्रमण पुष्टि भएको र स्वास्थ्य अवस्था गम्भीर भएकाले थप उपचारका लागि उनलाई कोभिड अस्पताल रेफर गरिएको थियो।

शनिवार राती करिब १०:०० बजे कोभिड अस्पताल आइपुग्दा मृत्यु भइसकेको अस्पतालका डाक्टरहरुले पुष्टि गरेको उपचार केन्द्रका सूचना अधिकारी आनन्द लामिछानेले बताए।

४५ वर्षीय ती पुरुषको कोभिड अस्पताल भर्ना हुनु अगावै मृत्यु भएको उनले बताए।

 ‘उहाँ यहाँ आइपुग्दा नै रातीको १० बज्न लागेको थियो,’ उनले भने, ‘जब राती १०:०० बजे यहाँका डाक्टरहरुको टोलीले हेर्दा एम्बुलेन्समा नै मृत्यु भइसकेको थियो।'

गत भदौ ८ गते बिहिवार मेची अस्पताल भर्ना भएका ती व्यक्तिमा शनिवार मेची अस्पतालको प्रयोगशालमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.पिताम्बर ठाकुरले जानकारी  दिए।

अस्पताल भर्ना हुँदा ती व्यक्तिमा  जरो रुघा र श्वासप्रश्वासमा समस्या भएको थियो। त्यसैले अस्पतालले तत्काल उनलाई आइसोलेसनमा राखी थ्रोट स्वाब संकलन गरेको थियो। स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकाले आइसीयूमा राखी उपचार गरिएको थियो।

‘उहाँ अस्पताल आउँदा नै पुरै कोभिड १९ को लक्षण देखिएको र परीक्षण गर्दा संक्रमण पुष्टि भयो,’ डा.ठाकुरले भने, ‘तर स्वास्थ्य अवस्था झन्झन् बिग्रिएपछि थप उपचारका लागि कोभिड अस्पताल विराटनगर पठाएको हो।’

भेन्टिलेटरमा राखी उपचार गर्न र एण्टी भाइरल ड्रग कोभिड अस्पतालमा मात्र उपलब्ध भएकाले पनि ति संक्रमितलाई रेफर गरिएको डा.ठाकुरको भनाई छ।

हाल मेची अस्पताल कोभिडको आइसियू छैन र भेन्टिलेटरमा राखेर तत्काल उपचार गर्न पनि जनशक्ति तयार नभइसकेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell