PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

१३ नेपाली सेनासहित सुदूरपश्चिममा आइतवार ७३ जनामा कोरोना संक्रमण पुष्टि



एम बम

१३ नेपाली सेनासहित सुदूरपश्चिममा आइतवार ७३ जनामा कोरोना संक्रमण पुष्टि

कैलाली : सुदूरपश्चिम प्रदेशमा कैलालीका ४७ सहित थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेशका तीन वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा छ सय २८ जनाको कोरोना परीक्षण गरिएकोमा थप ७३ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा चार सय चार जनाको कोरोना परीक्षण गरिएकोमा ४८ जनामा संक्रमण पुष्टि भएको हो।

कैलालीका ४७ र कञ्चनपुरका एकजनामा संक्रमण पुष्टि भएको छ। कैलालीको टीकापुर नगरपालिकाका १४ पुरुष र ७ महिला गरी २१ जना, गोदावरी नगरपालिकाका १३ जना पुरुषमा संक्रमण देखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए। गोदावरीका १३ जना नेपाली सेना हुन्। गोदावरीमा रहेको नेपाली सेनाको तेघरी ब्यारेकमा कार्यरत १३ सैनिकमा कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरू भवानी दल गण तेघरी ब्यारेकमा कार्यरत पुरुष सैनिक हुन्।

यस्तै, धनगढी उपमहानगरपालिकाका थप १३ जनामा पनि संक्रमण पुष्टि भएको छ। सेतीमै भएको परीक्षणमा कञ्चनपुरको भीमदत्त नगरपालिका १० का एक पुरुषमा पनि संक्रमण देखिएको अस्पतालले जनाएको छ।

उता बझाङमा गरिएको परीक्षणमा आइतवार थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बझाङका २४ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका प्रयोगशाला इन्चार्ज नरेश खड्काले मष्टा पाँच महिला र १५ पुरुष गरी २० जना, खप्तडछान्ना गाउँपालिकाका दुई पुरुष, तलकोट गाउँपालिकाका एक पुरुष र जिल्ला प्रहरी कार्यालयका एक प्रहरीमा संक्रमण पुष्टि भएको जानकारी दिए। प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ५९ जनाको कोरोना परीक्षण गरिएको छ।

डोटीमा गरिएको परीक्षणमा थप एक जनामा कोरोना पुष्टि भएको छ। जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६५ जनाको परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार डोटीको बोगटान फुड्सिल गाउँपालिकाका एक पुरुषमा कोरोना पुष्टि भएको हो।

योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या सात हजार तीन सय नाघेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell