PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सशस्त्र र आर्मीले हुम्लामा यसरी फेला पार्‍यो हराएको पिल्लर, स्थलगत अध्ययन प्रतिवेदनमा के छ?



कमलराज भट्ट

सशस्त्र र आर्मीले हुम्लामा यसरी फेला पार्‍यो हराएको पिल्लर, स्थलगत अध्ययन प्रतिवेदनमा के छ?

काठमाडौँ: चिनियाँ पक्षले एकतर्फी रूपमा भवन बनाएको भन्दै हुम्लाको नाम्खा गाउँपालिका ६ लिमी गाउँस्थित लाप्चा क्षेत्रको सीमा विवाद सतहमा आयो। पहिला पनि भवन बनाउने प्रयास गर्दा विवाद भएको थियो।

चीनसँगको सीमामा विवाद देखिएपछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा चिनियाँ भवन र सीमाको निरीक्षण गर्न तथा त्यहाँको वस्तुस्थिति बुझ्न पठायो। टोलीको नेतृत्व सिडिओले गरे पनि सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको नेतृत्व डिएसपी मोहन विष्ट र नेपाली सेनाको नेतृत्व मेजर प्राजु बस्नेतले गरेका थिए। टोलीमा ११ जना सशस्त्र र ११ जना आर्मीका थिए। ५ जना सिडिओका थिए। गाउँपालिका अध्यक्ष विष्णु लामासहित अन्य निकायका कर्मचारी गरी करिब ४० जनाको टोली सदरमुकाम सिमीकोटबाट शनिबार लाप्चा क्षेत्रका लागि हिँड्यो। उडाउने गरी हावाको बेग चल्ने ५ हजार मिटर उचाइको गन्तव्यसँग साथमा बाक्लो टोपी, चस्मा र लौरो पनि थियो।

टोलीको पहिलो काम थियो, चिनियाँ पक्षले बनाएको भवनहरूको अवलोकन। निर्धारित कार्यक्रम अनुसार टाक्सी हुँदै पहिलो दिन तिलिङमा टोली बास बस्यो। बिहान ९ बजे लाप्चा क्षेत्रमा भवन बनाएको लोलाङजुङ पुग्यो। चिनियाँ प्रहरीसँग सामान्य कुराकानी भयो। ताक्लाकोटमा समन्वय गरेर चिनियाँ टोलीलाई हामी आउँदैछौँ भनेर खबर गरिएको थियो। केही बेरमा २५ जनाको समूहमा पीपीई लगाएर ट्रकमा चिनियाँ टोली आयो। नाम्खा गाउँपालिका अध्यक्ष विष्णु लामाका अनुसार उनीहरूले नक्सा देखाएर माइकबाट जमिन आफ्नै भएको दाबी गरे। नेपाली टोली चिनियाँ भवन निरीक्षण गरेर नाजवाफ तिलिङमै बास बस्नेगरी फर्कियो। किनकी ११ नम्बर पिल्लर कहाँ छ भन्ने थाहा नहुँदा भूमि कहाँ पर्छ भन्ने अन्योलता भयो।

टोलीको पहिलो काम एक दिनमै सकियो। तर, दोस्रो र महत्त्वपूर्ण काम भने ११ नम्बर सीमा पिल्लर खोज्ने। जसले उक्त भूमि कहाँ छ भन्ने स्पष्ट पार्छ। तिलिङबाट नेपाली टोली सोमबार बिहानै हिल्सातर्फ लाग्यो। हिल्साबाट एक दिनको दूरीमा छ, माने। मानेको टुप्पो टाकुले (चिनियाँले सिसार भन्छन्) मा बुधबार दुरुस्त पिल्लर भेटियो। नेपाल साइडतिर नेपाली भाषामा ११ नम्बर र विस २०१९ लेखिएको पिल्लरमा चिनियाँ साइडतिर चिनियाँ भाषासहित ११ र १९६२ लेखिएको छ। नेपाली टोलीका एक सदस्यका अनुसार दुई दिनको खोजीमा ५३ सय मिटर हाराहारीमा दुरुस्त पिल्लर भेटिएको हो।

‘बुधबार बिहानै ४ बजे गयौँ। मानेको टुप्पो टाकुलेमा १० बजेतिर फेला पर्‍यो। पिल्लर खुला थियो, राम्रो थियो। हिउँले डाँकिएको थिएन। टाकुलेभन्दा उता कुनै पहाड छैन। चीनतिर ठाडो भीर पर्छ। हामी तल झर्दा ११ बज्यो,’ ती सदस्यले भने। पिल्लरको खोजीमा ११/११ जनामा सशस्त्र र आर्मीको टोली खटिएको थियो। उनका अनुसार अब हिउँ पर्ने सिजन सुरु हुँदैन। कात्तिकदेखि हिउँले डाँकेपछि देखिँदैन। ‘हामी सही समयमा जाँदा फेला पर्‍यो,’ उनी सुनाउँछन्।

उनका अनुसार ११ नम्बर सीमा स्तम्भ फेला परेपछि टोलीले ७, १० र अन्तिमको १२ नम्बर पिल्लर पनि अवलोकन गर्‍यो। अधिकांश सीमा पिल्लर ५३ सय मिटर उचाइमा छन्। ८ महिना हिउँले ढाकिन्छ। हुम्लामा सहायक लगाएर १५ वटा पिल्लर छन्।

हराएको पिल्लर मानेको टुप्पोमा छ भन्ने कसरी थाहा भयो भन्ने प्रश्नमा ती सरकारी अधिकारी भन्छन्, ’तिलिङकी ५१ वर्षकी एक जना स्थानीय बुढी आमाले पिल्लरको रुट बताउनुभयो। १८ वर्षको हुँदा बस्तुभाउ चराउन जाँदा पिल्लर देखेको भन्नुभयो। पिल्लर नजिक खोलाको पानीको आवाज आउने पनि भन्नुभयो,’ ती अधिकारीले भने, ‘त्यहीँ सूचनाका आधारमा हामीमाथि उक्लियौँ। जीपीएस प्रविधि प्रयोग गर्दा रुट देखियो। पिल्लर भएकै ठाउँमा पुग्यौँ।’

स्थलगत प्रतिवेदनमा के छ?

बुधबार दोस्रो महत्त्वपूर्ण काम ११ नम्बर पिल्लर फेला पारेर बिहीबार साँझ साढे ८ बजेतिर सिडिओको टोली सदरमुकाम सिमीकोट फर्कियो, चिनियाँले बनाएका भवन भएको भूमि चीनकै हो भन्ने निष्कर्षसहित। चीनले लाप्चाको लोलाङजुङमा व्यापारिक प्रयोजनका लागि ९ वटा भवन बनाएको छ। भोग चलन भने सयौँ वर्षदेखि नेपालीले गर्दै आएको भूमि हो त्यो। स्थलगत अध्ययनबाट फर्केपछि टोलीले संयुक्त प्रतिवेदन तयार पार्‍यो। शुक्रबार साँझ प्रमुख जिल्ला अधिकारी गिरीले गृहमा प्रतिवेदन बुझाए भने सशस्त्र प्रहरी र नेपाली सेनाले आ-आफ्नो हेडक्वार्टरमा पठाए।

प्रमुख जिल्ला अधिकारी गिरीले स्थलगत अध्ययन प्रतिवेदन गृहमा पठाइएको बताए। प्रतिवेदनमा के छ भन्ने चाहिँ खुलाउन चाहेनन्। ‘पिल्लर र नक्साअनुसार जे छ त्यहीँ बुझेर पठाएका छौँ,’ उनले भने, ’नापी र विशेषज्ञले नक्सा र प्रमाण भिडाएर निर्क्योल गर्लान्।’ प्रजिअ गिरीले सीमाको अवस्था सामान्य रहेको जानकारी दिए।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले प्रतिवेदन आएकोबारे आफूलाई जानकारी नभएको बताए। आएको भए पनि सार्वजनिक गर्न नमिल्ने उनको उनाई छ। ‘हामी कहाँ आए पनि परराष्ट्र हुँदै नापीमा जान्छ। आवश्यकताका आधारमा परराष्ट्रबाट सार्वजनिक होला,’ उनले भने।

स्रोतका अनुसार प्रतिवेदनमा चीनले नक्साअनुसार नेपाली भूमि नमिचेको उल्लेख छ। ‘तीन वटा म्याप र जीपीएसबाट पिल्लरको रेखाङ्कन हेर्दा अन्तर्राष्ट्रिय सीमाभन्दा १/२ किलोमिटर परै भवन बनेको देखिन्छ,’ एक अधिकारीले भने, ‘हामीले यहीँ कुरा लेखेर पठाएका छौँ।’ प्रतिवेदन अनुसार चिनियाँ नक्साका आधारमा भवनभन्दा अझै नेपालीतिर १ किलोमिटर भन्दा बढी भित्र मात्रै सीमा पर्छ। नक्सा अनुसार उक्त भूमिमा कुनै समस्या देखिँदैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell