फ्रेन्च लिग वान अन्तर्गत गएराति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले रेइमस् माथि सहज जित निकालेको छ। रेइमसको घरेलु मैदानमा भएको खेलमा पीएसजीका माउरो इकार्डी चम्किँदा पीएसजीले २-० को जित निकालेको हो।
खेलको नवौ मिनेटमा पीएसजीले खेलमा अग्रता बनाएको थियो। किलियन एम्बाप्पेको पासमा इकार्डीले पीएसजीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको पीएसजीका लागि दोस्रो हाफमा पनि एम्बाप्पेकै पासमा इकार्डीले गोल गरेका थिए। उनले खेलको ६५ औं मिनेटमा गोल गर्दा पीएसजीले २-० को जित निकाल्यो।
जारी सिजन पाँच खेल खेलेको पीएसजीको तेस्रो जित हो। सुरुका दुई खेलमा पीएसजी पराजित भएको थियो। अर्कोतर्फ पाँच खेल खेलेको रेइमस्ले जित निकाल्न सकेको छैन।
