इण्डियन प्रिमियर लिग आईपीएलमा आज रोयल च्यालेन्जर बेङ्ग्लोर्स र मुम्बइ भिड्दै छन्। दुबै टिमले जारी सिजन एक जित र एक हार ब्यहोर्दै २ अंक जोडेका छन्। उद्घाटन खेलमा चेन्नइसँग पराजित भएको मुम्बइले दोस्रो खेलमा कोलकता नाइटराइडर्सलाई हराएको थियो। त्यस्तै पहिलो खेलमा सनराइजर्स हैदराबादलाई हराएको बेङ्ग्लोरले दोस्रो खेलमा किंग्स ११ पञ्जाबसँग पराजित भएको थियो। मुम्बइ र बेङ्ग्लोर आज साँझ पौने ८ बजे दुबइ इन्टरनेसनल स्टेडियममा आमनेसामने हुनेछन्।
आरसीबी
आरसीबीको अहिले देखिएको एउटा मुख्य समस्या भनेको कप्तान बिराट कोहलीको फर्मको चिन्ता नै हो। जारी सिजन उनले ठूलो पारी खेल्न सकेका छैनन्। अर्धशतक प्रहार गर्दै आईपीएलमा सानदार डेब्यु गरेका देबदत्त पार्डिकल पनि दोस्रो खेलमा चल्न सकेनन्। यद्यपि आरोन फिन्स र एबि डिभिलियर्स फर्ममा छन्। चोटका कारण क्रिस मोरिसले खेल्ने या नखेल्ने टुंगो छैन। बलिङमा स्पिनर युजवेन्द्र चहल प्रभावकारी देखिएका छन् भने फास्ट बलर फास्ट बलर नवदीप शैनी जम्न सकेका छैनन्। डेल स्टेन र उमेश यादव पनि महँगा सावित भएका छन्। आजको खेलमा यादवको स्थानमा मोहम्मद सिराजलाई उतार्ने पनि सम्भावना रहन्छ। त्यस्तै मध्यक्रममा मोइन अली पनि राम्रो विकल्प हुन सक्छन्।
मुम्बइ इण्डियन्स
उद्घाटन खेलमा पराजय भोगेपनि दोस्रो खेलमा मुम्बइले सानदार पुनरागमन गरेको थियो। कोलकतासँगको यसअघिको खेलमा मुम्बइको प्रदर्शन राम्रो थियो। कप्तान रोहित शर्मा फर्ममै देखिन्छन भने सूर्यकुमार यादवको प्रदर्शन पनि टिमका लागि सकारात्मक छ।
यसअर्थमा मुम्बइको टिममा खासै परिवर्तनको सम्भावना छैन। यद्यपि सौरभ तिवारीको स्थानमा इशान किसन आउन सक्ने विश्लेषण भारतीय सञ्चारमाध्यमहरुले गरेका छन्। चेन्नइ विरुद्ध औषत प्रदर्शन गरेका जसप्रित बुमराहले पनि कोलकताविरुद्ध उत्कष्ट प्रदर्शन गरेका थिए। त्यस्तै जेम्स पिटरसन र ट्रेन्ट बोल्टको प्रदर्शन पनि राम्रो छ।
हेड टु हेडमा हेर्ने हो भने आईपीएलमा यी दुई टोली २७ पटक आमनेसामने भएका छन् जसमा मुम्बइले १८ पटक र बेङ्ग्लोरले ९ पटक खेल जितेको थियो। मुम्बइले चार पटक आईपीएल जितेको छ भने बेङ्ग्लोर ३ पटक आईपीएलको फाइनल खेलेको छ।
