काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारीमा जुटेका छन्। प्रधानमन्त्री समेत रहेका ओली र प्रचण्डबीच आज पनि छलफल गर्ने तयारी छ।
केही दिन यता दिनहुँजसो छलफलमा जुटेका अध्यक्षद्वयबीच आइतवार पनि दुई घण्टा लामो छलफल भएको थियो। तर, मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति भएपनि मन्त्री चयनका विषयमा भने ठोस निष्कर्ष निस्कन सकेको छैन। आइतवार फेरि छलफलमा बस्ने गरी भेट सकिएको थियो।
ओलीले आइतवारका लागि नै आकस्मिक मन्त्रिपरिषद् बैठक पनि बोलाएका थिए। तर, बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका सन्दर्भमा कुरा नै नउठेको मन्त्रीहरु बताउँछन्। अध्यक्षद्वय ओली र प्रचण्ड ठोस निष्कर्षमा पुगिनसेको उनीहरुको बुझाई छ। तर, नेताद्वयले छिट्टै नै मन्त्रिपरिषद् पुनर्गठन गर्नेगरी छलफललाई निरन्तरता दिएका छन्।
नेकपा स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङले आजभोलि नै मन्त्रिपरिषद् पुनगर्ठन गर्ने गरी छलफलमा जुटेको जानकारी दिए। अध्यक्षद्वय पुनर्गठनको अन्तिम तयारीमा रहेको उनको भनाइ छ।
'उहाँहरु निरन्तर छलफलमा हुनुहुन्छ। आज पनि छलफल हुँदैछ। मन्त्रिपरिषद् पुनर्गठन आज भोलि नै गर्ने गरी नै लागिरहनु भएको छ,' नेम्वाङले भने। ओली प्रचण्ड रिक्त संवैधानिक पदपूर्ति गर्ने विषयमा पनि छलफल गरेका छन्। असोज ६ गते बसेको नेकपा सचिवालय बैठकले संवैधानिक निकायमा छिट्टै पदपूर्ति गर्न ओलीलाई आग्रह गरेको थियो।
त्यस्तै, सचिवालय बैठकले पार्टी एकतको बाँकी काम १० दिनभित्र सक्ने गरी प्रस्ताव ल्याउने जिम्मेवारी अध्यक्षद्वय र महासचिव विष्णु पौडेललाई दिएको थियो। उक्त विषयमा पनि नेताहरुबीच छलफल भएको बुझिन्छ।
