PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कोभिड-१९ महामारी : खराब सूचीको ४९ औं स्थानमा उक्लियो नेपाल, परीक्षणको १३ प्रतिशतमा संक्रमण देखिँदै



विधुर ढकाल

कोभिड-१९ महामारी : खराब सूचीको ४९ औं स्थानमा उक्लियो नेपाल, परीक्षणको १३ प्रतिशतमा संक्रमण देखिँदै

काठमाडौं : कोभिड-१९ महामारीबाट सबैभन्दा बढी प्रभावित देशहरुको सूचीमा नेपाल पचासभित्र अटाएको छ। ७३ हजार ३९४ कोभिड-१९ का केस दर्ता भएको नेपाल सबैभन्दा बढी प्रभावित देशहरुको सूचीमा ४९ औं स्थानमा आइपुगेको छ। पचासौं स्थानमा इथियोपियामा ७३ हजार ३३२ केस पुष्टि भएका छन्।

तीन दिन अगाडिसम्म ५१ औं स्थानमा रहेको नेपाल भेनेजुएला र इथियोपियालाई पछाडि पार्दै बढी प्रभावित देशहरुको सूचीको ४९ औं स्थानमा उक्लेको हो।

कोभिड-१९ को आउटब्रेक इपिसेन्टरको रुपमा लिइएको चीन प्रभावितहरुको सूचीमा ४२ औं स्थानमा छ। चीनमा ९० हजार ९२ जना कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। पछिल्लो पाँच महिना यता चीनमा कोभिड-१९ का नगन्य केसमात्र देखिएका छन्। यही नेपालमा भने यही पाँच महिनामा संक्रमितको संख्या हजारौंले बढेको छ।

पछिल्लो २४ दिनमा मात्र नेपालमा कोभिड-१९ संक्रमणको ग्राफ १९ हजार २३५ ले माथि चढेको छ। यो दुई सातामा नेपालमा प्रतिदिन औसतमा एक हजार ३७३.९२९ जना नयाँ संक्रमित पहिचान भइरहेका छन्।

पछिल्लो २ साताको तथ्यांक हेर्दा नेपालमा कोभिड-१९ को कुल आरटी-पीसीआर परीक्षणको औसतले १३ प्रतिशतमा संक्रमण पुष्टि भइरहेको छ। पछिल्लो दुई सातामा नेपालमा एक लाख ४७ हजार ८०० नमुना परीक्षण गरिएकोमा १९ हजार २३५ जनामा संक्रमण पुष्टि भएको छ। जुन १३.०१ प्रतिशत हो।

परीक्षण दर उस्तै

स्वास्थ्य तथा जनसंख्या मन्त्राल नेपालमा दैनिक परीक्षण क्षमता २५ हजारसम्म पुगेको दाबी गर्दै आएको छ। तर परीक्षणको दायरा भने बढाएको छैन।

एक महिना अगाडिको तथ्यांकमा दैनिक परीक्षणको ८ प्रतिशतको हाराहारीमा संक्रमण पुष्टि हुँदै आएकोमा थियो। परीक्षण दर दैनिक औसतले १० हजारको हाराहारीमा थियो। दुई महिना अगाडि दैनिक परीक्षणको औसतले ५ प्रतिशतमा संक्रमण पुष्टि हुँदै आएको थियो। त्यतिबेला दैनिक पाँच हजारको दरमा परीक्षण हुँदै आएको थियो।

संक्रमण दर बढ्दै गए पनि सरकारले परीक्षणको दायरालाई साँघुरो बनाउँदै लगेको छ। सुरुवातमा नि:शूल्क हुँदै आएको परीक्षण केही प्रयोगशालामा बाहेक शुल्क निर्धारण गरिएको छ।

मन्त्रालयको आइतवारसम्मको तथ्यांकमा देशभर ५५ वटा आरटी-पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनमा छन्। जसमध्ये ४० सार्वजनिक प्रयोगशाला हुन भने १५ निजी।

असारदेखि निजी प्रयोगशालालाई पनि परीक्षण गर्न अनुमति दिएको सरकारले सुरुमा निजीबाट पनि नि:शूल्क परीक्षण गराउने भनेको थियो। अहिले भने सार्वजनिक प्रयोगशालामा पनि परीक्षण शुल्क तिर्नुपर्ने बाध्यता कायम गरेको छ।

हाल उपत्यकामा २२ वटा प्रयोगशालामा परीक्षण हुँदै आएकोमा तीन वटामा मात्र नि:शूल्क परीक्षणको व्यवस्था गरिएको छ। बाँकीमा शुल्क तिर्नुपर्ने बाध्यता छ। यी तीन वटा प्रयोगशालामा पनि परीक्षण निर्देशिका देखाउँदै परीक्षण गर्न गएका व्यक्तिलाई पैसा असुलिन्छ। टेकु अस्पतालमा नि:शूल्क परीक्षणका लागि दिनरात रुझेर पालो पर्खिरहेका नागरिकहरुको लाइन देखिन्थ्यो। तर सरकारले क्षमताको ४० प्रतिशतमात्र परीक्षणको दर छ। संक्रमण पुष्टि हुने दर बढ्दै जाँदा परीक्षणलाई साँघुरो बनाउँदै लगेको छ।

हालसम्म ५५ प्रयोगशालामा ९ लाख ८८ हजार ३२७ नमुना परीक्षण गरिएको छ। जसमध्ये एक हजार ५१ हजार १६० नमुना निजी प्रयोगशालामा गरिएका छन्। सरकारी प्रयोगशालामा परीक्षणको दायरा साँघुरो हुँदा परीक्षण दर पनि कम देखिन्छ।

यो तथ्यांकले कुल परीक्षणको ७.४२ प्रतिशतमा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। जुन तीन महिना अगाडि ३ प्रतिशतको हाराहारीमा थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell