PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

हिमालय एयरलाइन्सलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णयविरुद्ध नेवानिका कर्मचारी आन्दोलित



पहिलोपोस्ट

हिमालय एयरलाइन्सलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णयविरुद्ध नेवानिका कर्मचारी आन्दोलित

काठमाडौं: विदेशी लगानीमा रहेको निजी कम्पनी हिमालय एयरलाइन्सलाई त्रिभुवन विमानस्थलमा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ सुविधा दिने निर्णयविरुद्ध कर्मचारी आन्दोलित भएका छन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकट नेपाल वायुसेवा निगम कर्मचारी संघको नेतृत्वमा कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन्।

संघका अध्यक्ष मान बहादुर कुँवरले विज्ञप्ति जारी गरेर निर्णय सच्याउन माग गरेका छन्। ‘मन्त्रीको ठाडो निर्देशनमा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ सेवाको नाममा एकलौटी रुपमा विदेशी लगानीमा सञ्चालित हिमालय एयरलाइन्सलाई दिने निर्णय गलत छ। राष्ट्र र राष्ट्रिय हित विपरीत छ। परिस्थितिको आँकलन गरी सो निर्णय तत्काल सच्याउन माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘निर्णयको विरुद्धमा नेवानि कर्मचारी संघ पहिलो चरणमा निम्नलिखित विरोध तथा आन्दोलनका कार्यक्रम घोषणा गर्दछ।’

संघले आज दिउँसो ३ बजे केन्द्रीय कार्यालय कान्तिपथमा पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रमको औपचारिक घोषणा गर्दैछ।

पहिलो चरणका कार्यक्रममा भोलि सम्पूर्ण कर्मचारीले कालोपट्टी बाँधेर कार्यालयको काम गर्ने, बुधवार सञ्चालक समिति, कार्यकारी अध्यक्ष र नायव महाप्रबन्धकको कार्यकक्ष घेराउ तथा तालाबन्दी, बिहीवार विभागीय प्रमुखहरुको कार्यकक्ष घेराउ, शुक्रवार आन्दोलनको समीक्षा र शनिवारदेखि दोस्रो चरणको कार्यक्रममार्फत सेवा ठप्प पार्ने उल्लेख छ।

सरकारले मापदण्ड पुरा नगरेरै हिमालय एयरलाइन्सलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ सुविधा दिएको भन्दै आलोचना भइरहेको छ। हिमालयलाई यो सुविधान दिँदा नेपाल एयरलाइन्सको आम्दानीमा प्रभाव पर्नेछ। वार्षिक ४ अर्बभन्दा बढी नेवानिले गुमाउने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell